कारागारमा प्रेम दिवस, गुलाबको वर्षा!

धनगढी – सामाजिक कार्यमा सक्रिय युवाहरुले स्थापना गरेको संस्था हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमले कैलाली कारागारमा रहेका कैदीबन्दीहरुसँग प्रेम दिवस मनाएको छ । आज परेको प्रेम दिवसको अवसरमा ह्याप्पीनेसले कैलाली कारागारमा रहेका चार सय ७८ कैदीबन्दीहरुलाई गुलाबको फूल र चकलेट उपहार दिदै प्रेम दिवस मनाएको हो ।

उक्त संस्थाका सदस्यहरुले कागारका विभिन्न ब्लकमा रहेका कैदीबन्दीलाई गुलाव र चकलेट उपचार दिँदै प्रेम बाँडेका छन् । संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले प्रेम रुपलाई नभई मानवतालाई गर्नुपर्छ भन्ने हेल्फ फर ह्याप्पीनेसको उद्देश्य अनुसार कैदीबन्दीसँग भ्यालेन्टाईन डे मनाएको बताए ।

उनले कारागारमा आश्रीत सबैलाई एक्लो छु भन्ने महसुस हुन नदिनका लागि प्रेम स्वरुप रातो गुलाब उपहार दिएको बताए । जान/अनजानमा भएका गल्तीको सजायको भागेदार भएको भन्दैमा विचलीत नहुन पनि कैदी बन्दीलाई उनले आग्रह गरे । कारगारको जीवनलाई सिकाईको रुपमा लिएर परिवार, समाज र देशका लागि काम गर्नेमा हेल्फ फर ह्याप्पीनेस विश्वस्त रहेको भण्डारीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका कैलाली कारागारका जेलर बिरेन्द्रबहादुर बोहोराले कैदीबन्दीको पीडा बुझेर प्रेम दिवसमा उनीहरुलाई केही क्षणका लागि सामिप्यता दिएकोमा हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमलाई धन्यवाद दिए । उनले कतिपय व्यक्तिहरु प्रेमकै कारण कैद भुक्तान गर्न बाध्य भएको उदाहरण पनि कारागार भित्र रहेको बताए ।

कार्यक्रमका अतिथि कारागारका सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक रामचन्द्र पन्तले प्रेम सबैलाई आवश्यक पर्ने बताए । उनले प्रेमीप्रेमिका बिच मात्र नभएर प्रेमले परिवार, समाज र राष्ट्रलाई एकढिक्का बनाएको बताए ।

कैदीबन्दीहरुले पनि हेल्फ फर ह्याप्पीनेससँग प्रेम दिवस मनाउन पाउँदा खुसी लागेको प्रतिकृया दिए । ह्याप्पीनेसले प्रेम दिवसकै अवसरमा माईती नेपाल कैलालीमा आश्रीत युवतीलाई पनि गुलाफ र लुगा उपहार दिएको छ । हेल्प फर ह्याप्पीनेस सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था हो ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्