लिगको 'फाइनल खेल'

चोटग्रस्त मच्छिन्द्रलाई जित्नुपर्ने दबाब र ‘फिट’ आर्मीलाई बराबरीको अवसर

मच्छिन्द्र र आर्मीका कप्तान उपाधिसाथ।

काठमाडौँ – प्रवेश कटुवाल र नवीन न्यौपानेले व्यवसायिक फुटबल खेल्न छाडेको धेरै वर्ष भएको छैन। दुवै जना एउटा पुस्ताका खेलाडी हुन्।  सहिद स्मारक ए डिभिजन लिगको यो सिजन खेलिरहेका धेरै खेलाडीसँग प्रव‍ेश र नवीनले खेल‍ेका थिए।

राष्ट्रिय टोलीका अनुभवी सदस्य विराज महर्जन र स्ट्राइकर भरत खवासले पनि लामो समय प्रवेश र नविनसँग खेलेका हुन्। अहिले विराज कप्तान रहेको मच्छिन्द्र क्लबका प्रशिक्षक हुन् कटुवाल। भरत कप्तान रहेको नेपाल आर्मी क्लब प्रशिक्षक छन् न्यौपाने।

दुवै क्लबले स्थापित प्रशिक्षकहरुलाई छाडेर यी नयाँ प्रशिक्षकमाथि विश्वास गरे अनि जिम्मेवारी सुम्पिए। नतिजा सोचेभन्दा राम्रो आयो। लिगको यो सिजन मच्छिन्द्र र आर्मीमध्ये एउटाले उपाधि जित्ने छ। विजेताको तय पनि यी दुई टोलीबीच हुने खेलले गर्ने छ। लिगको आ-आफ्नो अन्तिम खेलमा शनिबार मच्छिन्द्र र आर्मी भिड्दै छन्। संयोग नै मान्नुपर्छ, प्रशिक्षकजस्तै दुवै टोलीका कप्तान पनि एउटै पुस्ताका खेलाडी हुन्।

लिग फुटबलमा नकआउट चरण भन्ने हुँदैन। यसमा अंकको खेल हुन्छ र सबैभन्दा बढी अंक जोड्ने टोली विजेता बन्छ। तर मच्छिन्द्र र आर्मीबीचको खेल फाइनलजस्तै भएको छ।

१४ टोली रहेको प्रतियोगितामा  हरेकले प्रत्येकसँग खेल्दा एउटा क्लबले कुल १३ खेल खेल्छ। आर्मीले १२ खेलबाट २९ अंक जोडेको छ। मच्छिन्द्रको १२ खेलबाट २८ अंक छ। दुवै टोलीले यो सिजन ९ जित, २ बराबरी र एक हारको नतिजा निकालेका छन्।

लिगको अघिल्लो सिजन पुछारका दुई टोलीमा रहेका कारण मच्छिन्द्रको एक अंक घटुवा गरिएको हो। त्यतिबेला, अखिल नेपाल फुटबल संघ-एन्फाले लामो समयपछि घरेलु लिग भएको भन्दै रेलिगेसन नराख्ने तर पुछारमा रहने २ टोलीको अर्को सिजन अंक घट्ने प्रावधान ल्याएको थियो।

एन्फाले सार्वजनिक गरेको खेल तालिकामा १२ औँ चरणमै आर्मी र मच्छिन्द्र आमने सामने हुने थियो। तर यी दुई टोलीबीचको खेलले उपाधि विजेता तय गर्ने स्थिति देखिएपछि एन्फाले उक्त खेललाई १३ औँ तथा अन्तिम चरणमा सारेको थियो। शनिबार हुने खेलमा जित हात पारेमात्र मच्छिन्द्र विजेता बन्ने छ। आर्मीलाई भने बराबरी मात्र पनि पर्याप्त हुने छ।

उपाधि जित्ने भोक 

विस २०१४ सालमा आर्मी-११ का रुपमा पहिलोपटक घरेलु लिग जितेको आर्मी क्लबले त्यसयता सहिद स्मारक लिग फुटबलको उपाधि जित्न सकेको छैन। ०६० को दशकमा पुलिस क्लबको दबदबा रहँदा टोलीको सदस्य रहेका भरत अहिले आर्मीको कप्तान छन्।

उनी अर्को विभागीय टोलीबाट उपाधि जित्न आँतुर छन्। मच्छिन्द्रले भने घरेलु लिग फुटबलको उपाधि जित्न सकेको छैन। तर यसपटक लिग सुरु हुनुअघि उसले घरेलु लिगका स्टार खेलाडीलाई आबद्ध गरेर लिग जित्ने आफ्नो ‘लक्ष्य’ संकेत गरेको थियो।

नाम चलेका र अनुभवी खेलाडीले पछिल्लो समयका दुई बलिया टोली मनाङ मर्स्याङ्दी र थ्रीस्टार छाडेपछि ती दुवै क्लबले यसपटक अपेक्षित नतिजा हात पार्न सकेनन्। गत संस्करणमा मनाङ विजेता हुँदा टोलीका कप्तान रहेका विराज अहिले मच्छिन्द्रलाई उपाधि जिताउन आँतुर छन्।

प्रतियोगितामा आर्मीले २१ गोल गरेको छ भने ६ गोल मात्र ब्यहोरेको छ। मच्छिन्द्रले २४ गोल गरेको छ भने ८ गोल ब्यहोरेको छ। मच्छिन्द्रका प्रशिक्षक कटवाल आर्मी बलियो र टिम वर्क भएको टोली भएका कारण गोल गर्न गाह्रो हुने बताउँछन्।

‘उनीहरुको बलियो पक्ष भनेकै टिम वर्क हो। उनीहरुलाई गोल गर्न सजिलो छैन। प्राप्त हुने थोरै अवसरमा गोल गर्ने हामी प्रयास गर्ने छौँ’, प्रशिक्षक कटुवाल भन्छन्। आर्मीका प्रशिक्षक न्यौपाने मच्छिन्द्रको एट्याकिङ पक्ष राम्रो रहेका कारण सचेत भएर खेल्ने बताउँछन्।

 चोटग्रस्त मच्छिन्द्रलाई विमलको राहत 

विमल घर्तीमगर यो सिजन घरेलु लिगमा पहिलोपटक उत्रँदैछन्, शनिबार मच्छिन्द्रका लागि। यसअघि उनी एन्फाले प्रतिबन्ध लगाएका कारण केही समय बाहिर बस्नु परेको थियो। लिगको निर्णायक खेलमा मच्छिन्द्रलाई चोटको मार छ।

कप्तान विराज, स्ट्राइकर सुजल श्रेष्ठ, रेजिन सुब्बालगायत खेलाडी घाइते छन्। अभिशेक रिजाल मालदिभ्सको लिगका लागि गएपछि उसलाई स्टार स्ट्राइकरको अभाव देखिएको थियो। अर्का महत्वपूर्ण खेलाडी हेमन गुरुङ पनि घाइते भएर लिग बाहिर भएपछि मच्छिन्द्र अझ समस्यामा परेको थियो। ‘ खेलाडीलाई चोट छ तर हामी उपाधिका लागि खेल्ने छौँ’, मच्छिन्द्रका प्रशिक्षक कटुवाल भन्छन्।

आर्मीका प्रशिक्षक न्यौपानेले मच्छिन्द्रविरुद्ध जितका लागि खेल्ने बताए। ‘हामीलाई बराबरी पनि पर्याप्त हुन्छ तर हामी जितका लागि खेल्ने छौँ। हाम्रो आक्रामक फुटबललाई कायम राख्दै खेल जितेर उपाधि हात पार्न चाहन्छौँ’, उनले भने। लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने छ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्