देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

आऊ प्रिया, धरतीमा एउटा कोमलताको विजारोपण गरौँ

प्रिया,

सोचिहेरेँ, तिमीलाई सम्बोधन गरेर एउटा प्रेमपत्र लेखौँ, तर टाउको त्यसै भारी भएर आयो। कारण? कारण त प्रष्ट छ – भावना गह्रौँ गह्रौँ शब्दमा आइदिए – मैले त सोचेको थिएँ, भावनाहरू हलुका भएर आउन्, सिमलको भुवा जस्तै हल्का र मीठो गरी उडेर आउन् वा हिउँका फाल्सा जस्तै फुसफुस गर्दै रमणीय तरिकाले आउन्,तर भएन। सोचेको थिएँ, प्रेम कोमल कुरा हो, मिठो आभास हो, यसलाई मिठो तरिकाले कोमल शब्दमा भन्न सकियोस, तर अहँ,सोचेजस्तो क्यै भएन, बाल्यकालको सरलता सायद बाटैमा छुटेछ क्यार, अब भावनाहरू जम्न थालेछन क्यार! त्यसैले शुरूमै माफी माग्छु, यी भारी टाउकोबाट निस्केका भद्दा शब्दहरूलाई केही सरल पारेर बुझिदेऊ!

हुनसक्छ, मलाई समयका निर्मम बाछिटाले हिर्काए, म हिँड्दाहिँड्दै जमेँ र कठोर भैसकेँ– तर जिन्दगी हो, तिमीलाई पनि त समयले कति मुड्क्याएको होला? त्यसैले ममात्र कठोर अनि तिमी चैँ सरल हौली, वा तिमीमा बालसुलभ कोमलता होला भन्ने भूल चैँ म गर्दिन। बस,एउटा अपेक्षा त पक्कै छ मसँग – तर त्यो तिमीसँगको अपेक्षा होइन, प्रेमसँगको अपेक्षा हो – हामी बीच प्रेम अंकुराउने हो भने त्यसले पक्का पनि हामी दुवैमा एकैनास सरलता ल्याउला।हामी भाँडाकुटी खेल्ने उमेरकै रौनक बाँचौंला।

प्रेम के हो, म परिभाषित गर्न चाहन्न किनकि प्रेमलाई परिभाषित गर्नु नै प्रेमको चिहान खन्नु हो। भोग्नेहरू भन्छन्,परिभाषाले प्रेमलाई सङ्कुचित गर्छ र मार्छ।

हो, म तिमीलाई अजीव प्रेमपत्र लेखिरहेको छु। न त यसमा प्रेमको कुनै परिभाषा छ न त कुनै कसम नै!

हो, यहाँ म तिमीलाई प्रेम नै गर्छु र गरिरहन्छु भन्ने कसम पनि खान्न; थाहा छ? कसमहरू तोड्नकै लागि बन्छन्, जति कम कसम खायो त्यति नै हामी स्वतन्त्र प्रेमको उडानमा हुन्छौं भनेर १९ औं शताब्दीको मध्यतिर नै कवयित्री क्रिस्टिना रोजेत्तीलेआफ्नो प्रेमीलाई भनेकी रहिछिन् –

मसँग कुनै कसम नखाऊ,

ताकि मैले पनि तिमीसँग कसम खानु नपरोस्;

हामी दुवै आफ्नो स्वतन्त्रता कायम राखौं,

ताकि हामी न त कहिल्यै झुठ बन्नु परोस्, न कहिल्यै सत्य बन्नु परोस्:

ताकि हामी एक अर्काप्रति कुनै अपेक्षा बेगरको मृत्यु मर्न सकौं,

ताकि हामी जुन स्वतन्त्रतामा जन्म्यौं, त्यही स्वतन्त्रतामा मर्न सकौं !

हो प्रिया,कसमहरूले नै मलाई तिमीबाट झुठ बनाउनेछन् र तिमीलाई मबाट! तिनै कसमहरूले नै मलाई तिमीबाट केही अपेक्षा गर्न सिकाउने छन् र तिमीलाई मबाट। तिनैले हामीलाई सही र गलत बनाउने छन्, तर प्रिया, प्रेम त सही र गलतको विन्दुभन्दा माथि छ, हुन्छ र हुनुपर्छ! झुठ र सत्य, सही र गलत, राम्रो र नराम्रो जस्ता द्वैधताको अन्त्यमा मात्र स्वतन्त्रता हुने रहेछ, जहाँ स्वतन्त्रता त्यहाँ प्रेम फुल्ने रहेछ। त्यो विन्दुमा मात्र म तिमीलाई पूजा गर्न सक्ने रहेछु, र तिमी मलाई पूजा गर्न सक्ने रहिछ्यौ, त्यो विन्दुमा मात्र प्रेम पवित्र बन्न सक्ने रहेछ।

कसमहरूले नै मलाई तिमीबाट झुठ बनाउनेछन् र तिमीलाई मबाट! तिनै कसमहरूले नै मलाई तिमीबाट केही अपेक्षा गर्न सिकाउने छन् र तिमीलाई मबाट। तिनैले हामीलाई सही र गलत बनाउने छन्, तर प्रिया, प्रेम त सही र गलतको विन्दुभन्दा माथि छ, हुन्छ र हुनुपर्छ!

यहाँ एउटा यस्तो मौन प्रार्थना चाहिएको छ, जसमा म तिमीलाई मूल्यांकन नगरी पूजा गर्छु, तिमी मलाई मूल्यांकन नगरी पूजा गर्छ्यौ किनभने हामी दुवै एक अर्काका उपासक होइनौं, हामी दुवै प्रेमका उपासक हौँ। यो उपासना फैलिँदै गयो भने हरेक मान्छेले हरेकलाई पूजा गर्नेछ, प्रेमको यज्ञ शुरू हुनेछ र धर्ती स्वर्ग बन्नेछ।

तर प्रिया, यो निचोडले भन्छ, प्रेम साधन पनि आफैँ हो र साध्य पनि! प्रेम अंकुराउनु र त्यो दुनियाँभर फैलनु आफैंमा दुरूह छ, यो आदर्शवादी स्वैर कल्पनाको थुप्रो बाहेक केही लाग्दैन! हामी त्यो युगमा छौं जहाँ प्रेमलाई लात हान्नेहरू प्रेमका सबैभन्दा ठूला ठेकेदार बनेका छन्, प्रेम बाँड्न हिँडेकाहरू धर्तीभर जेल र मसानघाटहरू बनाएर मान्छेको जिन्दगीलाई मृत्यु अघि र पछि पनि आफ्नै कब्जामा राख्न बल गर्छन्! स्वतन्त्रतालाई कैद गरेर मान्छेलाई निचोरेर फलानो वा ढिस्कानोलाई प्रेमको मसिहा घोषणा गर्छन्! नथानियल हथ्रोन आफ्नो उपन्यास द स्कारलेट लेटरमा लेख्छन्- “नयाँ उपनिवेशका संस्थापकहरूले शुरूमा जुनसुकै मानवीय मूल्य र खुशीको प्रचार गरे ता पनि सबैभन्दा पहिला अरू जस्तै किसिमले व्यवहारिक आवश्यकता पहिल्याए र नयाँ माटोको केही हिस्सा मसानघाट बनाउन छुट्याए र अर्को हिस्सालाई जेल बनाउन छुट्याए।“

हो, प्रेम उच्चतम मानवीय मूल्य हो तर जब यसलाई व्यवहारिक पक्षमा उतार्न खोजिन्छ, मान्छे जहिले मान्छेलाई कैद गर्ने सोच्छ! मान्छे स्वतन्त्र र बन्धनरहित नभई प्रेम फुल्दैन, तर यस तथ्यप्रति प्रेमका ठेकेदारहरू, खुशीका ठेकेदारहरू जहिले आँखा चिम्लन्छन्!

हो, यस प्रणय दिवसमा म तिमीलाई प्रेमपत्र लेखिरहेको छु, यसकारण पनि कि धर्तीमा अहिलेसम्म प्रचारित प्रेम रुग्ण छ, यसको व्यवहारिक प्रयोग सही छैन र यसको उपचार गर्ने दायित्व हामीमा छ! बुझ्यौ? एउटी केटीलाई कसैले प्रेमको नाममा फँसायो, ऊ देशको सीमा र परिवारका अड्चन त्यागेर प्रेमीको नाममा विदेशिई, तर त्यहाँ लभ जिहादको राजनीतिरहेछ, अहिले त्यो केटी प्रेमको नाममा आतंकवादी बन्न विवश भइछे! के यसलाई हो प्रेम भन्ने? प्रेम भन्नासाथ उसमा कस्तो कोमतला जन्मेको थियो होला? उसको मनमा कति खुशीका गुलाब फूलेका थिए होलान्? तर हेर, ऊ सबै खुशी मारेर ढुङ्गा बन्न विवश छे, मान्छेलाई मित्र र शत्रु भनेर विभाजन गर्न विवश छे!

ओहो, प्रेम! यो घटनामा भएको प्रेमको रुग्ण दुरूपयोग सुनेर मेरो मुटु छियाछिया भएको छ, म एकदिन दिनभर रोएको छु, सायद तिमीलाई भेटेको दिन फेरि अर्कोपटक रुनेछु, त्यो बेला मलाई सम्हाल्नू!

हो, दुनियाँलाई नियाल्दा थोरै मान्छेलाई मात्र सही बाटो देखाएको छ! त्यसैले प्रेमको साधन प्रयोग गरेर प्रेमको उपचार गर्दै प्रेमको साध्यसम्म पुग्नु तिम्रो र मेरो दायित्व भएको छ! म रोमान्स वा स्वैर कल्पनामा अडेको छैन, तिम्रा लजालु मुस्कान वा बदामी आँखाहरू भन्दा पर तिमीमा विशाल प्रेमको सम्भावना देखेको छु! सायद बुद्धहरू यही बाटो हिँडेका थिए, किनभने उनीहरू दरबारिया मोजमस्ती र शारीरिक प्रेममा मात्र बाँधिन सकेनन्।

त्यसैले प्रिया! आऊ, हामी प्रेमका उच्चतम सम्भावनाहरूको खोज गरौँ ! प्रेमको उपचार गरौँ, यसलाई साधन बनाएर अघि बढ्दै यसलाई साध्य बनाउन काम गरौँ! प्रेमलाई परिभाषित गर्ने र कसम खाने भन्दा माथि उठेर, मान्छेलाई ढुङ्गा बनाएर जमाउने कुरा भन्दा माथि उठेर धर्तीमा एउटा कोमलताको विजारोपण गरौँ! यो एउटा प्रेमको महान यज्ञ हुनेछ, जसले दुनियाँको कल्याण गर्नेछ! यस महान यज्ञमा चरूको होम गर्न मलाई तिम्रो साथ चाहिएको छ! के तिमी यसको लागि तयार छ्यौ? छ्यौ भने आऊ, यी हात समाऊ र भन – मेरो राजा, हामीले आजैबाट एउटा पवित्र कार्य शुरू गरेका छौं! यो गर्नको लागि तिमी र म बाहेक अरू कुनै उपयुक्त पात्र हुनै सक्दैन!

आऊ, हामी आज यस्तो एक कदम उठाऔं जुन मानव समाजको लागि एउटा गर्वलायक कदम बनोस्!

मेरो प्रस्ताव स्वीकार गरेर यो प्रेमील अभियानमा आऊ, हामी यो प्रणय दिवस तिथि पारेरै प्रेमको उत्सव आरम्भ गरौँ!

उही तिम्रो प्यारे

अमुक साल, प्रणय दिवस

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्