देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

खाडीबाट पठाउँदै छु यो अन्तिम पत्र तिमीलाई

जर्मन तानाशाह हिटलरले भनेका छन्, ‘प्रेम होइन, युद्ध गर्नुस्।’ किनकि युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ न मर्नुहुन्छ। हो, त्यस्तै भएको छु म पनि।

ठ्याक्कै एक वर्ष भएछ देशू, यसै गरी यही माध्यम र सन्दर्भमा तिमीलाई प्रेमरुपी पत्र लेखेको। समय र पात्र उही, पत्र पनि उस्तै तर विषय भने फरक!

मन जोड्नेदेखि महल जोड्नेसम्मका सपना बुनेर दुई वर्षअघि म खाडी उडेको थिएँ। त्यसको साक्षी तिमी पनि हौ। सरी! थियौ। गाउँ छोड्दा आँखाको डिलसम्म टिलपिल आँसु बनाएकी थियौ। त्यो आँसुमा आशा थियो। मेरा लर्बराएका पाइलामा जोश र एउटा ठूलो सपना पनि। बुढीआमा र बासँगै गाउँको किनारसम्म बिदाइ गर्न पुगेकी थियौ तिमी पनि।

गत वर्ष तिनै बिगत र सपनाको सेरोफेरोमा पत्र कोरेको थिएँ। याद छ नि! पहिलेजस्तो गाउँमा चिठीका झोला बोकेर हुलाकी पनि त फिर्दैनन् नि! तर, हुलाकी बनेर आएको छ देशसञ्चार फेरि पनि पोहोर जस्तै। यसैको ठेगानामा यो पत्र पठाएको छु। आशा छ, तिम्रो नजरमा पर्नेछ।

देशू, सन्चो बिसन्चो सोधिन। सायद आरामै छौ होला!

उराठलाग्दो खाडीको टन्टलापुर घामले पनि न्यानो दिन छोडे जस्तो लाग्छ। तिमीलाई देख्न आकुलव्याकुल आँखाहरु रसाएका छन्, साउने झरीजस्तै। शब्दहरु कोर्दा हात काँप्छन्। विक्षिप्त मन सम्हाल्नै गाह्रो भएको छ। यही टुटेको मन र काँपिरहेका हातले शब्दहरु बटुल्दै तिमीलाई कोशेली पठाएको छु। सुगन्ध बिनाका कृतिम कागजी फूल बाँडिने यो प्रेम दिवसमा।

मन जोड्ने यो अवसरमा टुटेको एक मनले अर्को मनलाई सम्झिँदै छु।

सपना र आशा ज्युँदै छन्। बस्- एउटा सम्बन्ध टुटेको हो। सम्बन्ध मात्रै होइन, मन पनि टुटेको छ। मुटु भक्कानिएको छ। आँखा रसाएका छन्। जसरी घरपारिको डाँडाबाट मैले तिमीलाई बिदाइका हाल हल्लाउँदा रसाएका थिए। ठ्याक्कै त्यसै गरी। मात्र वेदना फरक हो। रोदन फरक छ।

खाडी भासिनुमा मेरा आफ्नै बाध्यता थिए। तर बाध्यताभित्र पनि सुन्दर सपना। फर्केर तिमीसँग प्रेमको घर बसाउने। तिम्रो सिउँदोको जिम्मेवारी लिने। त्यो भने सकिएको छ। मुटुको चाल परिवर्तन भएको छ। समय उही हो। पालुवा पलाउँदै होलान्। लेकमा लालीगुँरास फुलेर राताम्मे भएकै होलान्। चरीले मिठो गीत गाउँदै होलान्।
तिमीले भने नयाँ संसारको सिर्जना गरिछौ गत मंसिरमा। अपार प्रेमलाई चित्तामा दागबत्ती दिएर स्वर्णिम जीवनको सुरुआत गरिछौ। रातो सारी र चोलीमा डोली चढिछौ। पञ्चेबाजा बजाएर घुम्टो ओढिछौ। म दूर हुँदा तिमीले सिउँदो भरिछौ।

घरि घृणा गर्न मन लाग्छ तिमीलाई तर घृणामा पनि त प्रेम हुन्छ। अहँ! गर्दिन।

मबाट के अपेक्षा थियो? सायद त्यो पूरा हुने ठानिनौ। तर भन्नै पर्ने केही कुरा छन्। स्मृतिहरु सल्बलाई रहन्छन्। यादहरु आउन छोडेका छैनन्। त्यही विगतले यहाँ केही शब्द बटुल्दै छु। धैर्य गरेर पढ ल!

देशू, पहिले जस्तो कहाँ छ र अहिले। खबर छिट्टै फैलिन्छ र सम्बन्ध पनि छिट्टै टुट्छन् सिसा फुटेझैँ गरी। तिमी रातो सारीमा सजिएको तस्बिर त्यही साँझ तिम्रो फेसबुकमा हेरेँ।

भाव बदलिएको थियो तिम्रो। मुहार फेरिएको थियो। सिउँदो त झन् राताम्मे। त्यो क्षणको पूरै ब्याख्या त यो पत्रमा गर्न सक्दिन। आँखाबाट साउने झरी बर्सिएको थियो। गला अदरुद्ध भएको थियो। हात काँपेका थिए। मुटु भक्कानिएको थियो। घर परिवार, नातागोता, साथीभाइ कसैलाई सम्झिन त्यत्तिबेला। मेरो बाटो कुरेर बसेका बुढा बाआमा पनि आएनन् सम्झनामा।

घरि सपनाजस्तो लाग्थ्यो, घरि हल्लाजस्तो। लाग्थ्यो यो सबै झुटो सावित होस्। तर सत्य त्यही थियो।

तिम्रो दाम्पत्य जीवन कस्तो छ थाहा छैन। तर म भने विक्षिप्त छु। विवश छु।

मनभरि पीडाको भारी बोकेर खाडीको टन्टलापुर तातो घाममा सपनाको भारी बोक्न भने छोडेको छैन।

तिमीले बेला-बेला पठाएका पत्र सँगालेरै राखेको छु। मोबाइल र म्यासेजमा दर्साएका मायाका शब्दहरु स्क्रिनसट नै गरेर राखेको छु। बेलाबेलामा भएका कल रेकर्ड सुनिरहन्छु दोहोर्‍याई-तेहेर्‍याई। तिमीले गाउँबाट कहिलेकाही आउने साथीभाइसँग मौखिक पठाएका मायाका कोशेली मनभरि सुरक्षित छन्। मेमोरी कार्डमा जस्तै।
यी यावत कुराहरुले फेरि कल्पनामा विलीन हुन्छु। तिमीसँगै छौ जस्तो लाग्छ।

कहिलेकाहिँ त लाग्छ- तिमीले यसअघि पठाएका प्रेमिल पत्र एक झोला भरेर तिम्रो ठेगानामा पठाउँ। तिम्रा म्यासेजका स्क्रिनसट गरेर फिर्ता पठाउँ। तर भो!

गाउँबाट आउने प्रत्येक मान्छेसँग पठाएका सम्झना उनीहरुलाई नै ‘कटुवाल’ बनाएर तिमी भएतिरै फिर्ता पठाउन मन लाग्छ। तर भो! पठाउँदिन। तिम्रो स्वर्णिम जीवन बिग्रेको हेर्ने हिम्मत मसँग छैन।

भन्छन्- प्रेम शाश्वत छ। महान छ। दूरताले यसलाई अझ गाढा बनाउँछ। तर होइन रहेछ।

अतीतमा तिमीसँग साटिएका पल र वार्तालापले वर्तमानमा घच्घच्याइरहन्छ। बिझाउँछ प्रेमरुपी काँडा बनेर।

समय कति बलवान रहेछ। बलिउड स्टार शाहरुख खानको जस्तै सानैमा बसेको हाम्रो प्रेम क्षणभरमै विलीन भयो।

शून्य लाग्छ जीवनका पानाहरु। रंगिन सपना देख्न छोडेको धेरे भयो।

हृदयमा तिमीलाई सजाउने भाग्य त रहेनछ। हुन त एक भएकाहरुलाई त समयचक्रले छुटाउँछ? मुनामदन जस्तै।

त्यसैले त मेरो कुनै गुनासो छैन। कुनै दुःख पनि छैन।

बिर्सिन त कहाँ सक्छु र तिम्रा ती स्वर्गको आभास दिलाउने भलकहरु। मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहीँसम्म देख्छु। जब नियाल्छु तिमीलाई, आँखा बन्द गरेर तिमी मुस्कुराइरहेकी हुन्छौ।

तिमीसँग बिताएको अमूल्य मिलनको कहानी मेरो हृदयको कुनाकुनामा सुरक्षित राखेको छु। स्मृतिको कलमले कहिल्यै नमेटिने गरी। तिमीलाई नसम्झिएको सायदै कुनै क्षण होला। आकाश, बादल, घनघोर वर्षा, उज्यालो र अँध्यारोमा। जूनताराको शीतलता, असिना र हिउँको साम्राज्यले पनि तिमीलाई नै सम्झाउँछ।

देशू, हरपल तिमीलाई सम्झिन्छु। यो कस्तो बेहोशी? कस्तो रोग?

अझै रातको शून्यतामा तिम्रो पदचापको आहटले म ब्युँझिन्छु। लाग्छ तिमी आउनेछौ, मेरो छेउमा र अङ्गाल्नेछौ मलाई। चुम्नेछौ कपालका रेसारेसा र म्वाईँ खानेछौ यो प्यासी अधरमा। तर फगत यी मेरा कल्पना मात्रै हुन्।

प्रेम दिवसअघि गुलाफ दिनुको कारणचाहिँ सुन्दर गुलाफसँगै काँडा नि हुन्छ, घोच्न सक्छ भन्ने सिकाउन होला सायद। यही गुलाफले घोच्यो मलाई। जुन तिमीले वर्षौपहिले दिएकी थियौ। यही प्रेम दिवसमा।

तर मलाई थाहा छ, असल प्रेमी त्यही हो जसले प्रियजनलाई गुमाउँदा पनि हालतलाई शालीनतापूर्वक सम्हान्छ सक्छ। म सम्हालिन्छु। प्रेमबिनाका सृष्टि कल्पना गर्न सकिँदैन। हो, म पनि तिमीलाई प्रेम गरिरहनेछु एकोहोरो।

भन्छन्- प्रेम शाश्वत छ। महान छ। दूरताले यसलाई अझ गाढा बनाउँछ। तर होइन रहेछ।

प्रेम र विवाहको वकालत गर्ने सन्त भ्यालेन्टाइनलाई रोम शासक क्यालोडियसले फाँसी दिए। उनले त्यसलाई हाँसीहाँसी स्वीकारे। मसँग पनि स्वीकार्नुको विकल्प छैन।
जुलियट सिजरको जस्तै सधैँभरि माया गरिरहूँ भन्नुपर्ने बेलामा तिमीलाई सफल दाम्पत्य जीवनको शुभकामना।

उही तिम्रो हुन नसकेको
सञ्चार
खाडीबाट

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्