अनि पारसले भन्दिए फेब्रुअरी १४ लाई ‘करन केसी डे’

काठमाडौँ –  शुक्रबार बिहानैदेखि प्रणय दिवस ‘ भ्यालेन्टाइन डे’का पोस्टहरुले सामाजिक सन्जालहरु रंगिएका थिए। आफ्ना प्रेमी/प्रेमिका तथा श्रीमान/श्रीमतीका तस्विरहरु राखेर ‘प्रेमिल’ शब्दहरुले पोष्ट गरिएका थिए। फेब्रुअरी १४ कै सन्दर्भमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको पोष्ट भने अन्यको भन्दा केही फरक थियो।

खड्काले फेसबुकमा लेखेका छन्, ‘करन केसी डे। हाम्रो क्रिकेट इतिहाँसकै सबैभन्दा ‘एक्स्ट्राअर्डिनरी क्षण।’कहिल्यै बिर्सन नहुने।’ यो पोष्टसँगै राखिएको तस्विरमा करन केसीलाई राष्ट्रिय टोलीका अन्य खेलाडीले उचालेर खुसीयाली मनाइरहेको तस्विर राखिएको छ।

तस्विर सन् २०१८ को फेब्रुअरी १४ मा नेपालले आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-२ को लिग चरणको अन्तिम खेलमा क्यानडालाई हराएपछि खिचिएको हो। त्यस खेलमा नेपालका करन केसीले अप्रत्यासित प्रदर्शन गरेका थिए जसले गर्दा नेपाल विजयी मात्र भएन, एकदिवशीय  विश्वकप २०१९ को विश्वस्तरीय छनोटमा पुगेको थियो।

पछि नेपालले विश्वस्तरीय छनोटमार्फत एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गर्‍यो, इतिहाँसमै पहिलोपटक। एकदिवशीय अन्तर्राष्ट्रियको मान्यतासम्म नेपालको यात्राका लागि क्यानडाविरुद्ध नेपालको उक्त खेल महत्वपुर्ण थियो।

नेपाल क्यानडासँग भिड्नुअघि ४ खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा थियो। क्यानडाको पनि चार खेलबाट ६ अंक थियो। यूएईको चार खेलबाट ४ अंक थियो। क्यानडासँग पराजित भएमा नेपाल तेस्रो हुने थियो र विश्वस्तरको छनोटमा पुग्न असफल हुने थियो।

यस्तो अवस्थामा पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ९४ रन जोड्यो। ओपनर ब्याट्सम्यान श्रीमन्था विजयरत्ने एक्लैले एक सय ३ रन जोडेका थिए, अविजित रहँदै।

तर नेपालले ४२ ओभर एक बलमा ९ विकेट गुमाएर एक सय ४४ रन जोडेपछि क्यानडाको जित लगभग पक्काजस्तै देखिएको थियो। ब्याटिङमा थिए करन केसी र सन्दीप लामिछाने। दुवै ब्याट्सम्यान शुन्यमा थिए। नेपाललाई जितका लागि अझै ५१ रन आवश्यक थियो।

थप एक विकेट जानेबित्तिकै क्यानडा विजयी हुन्थ्यो। तर करन नायक बने। अन्तिम ओभरमा नेपाललाई ८ रन चाहिएको थियो। क्यानडाका बलरले सुरुका चार बलमा रन दिएनन्। पाँचौँ बलमा करनले छक्का प्रहार गरे।

छैटौँ बल क्यानडाले वाइड फ्याँकेपछि नेपाललाई अब एक बलमा एक रन चाहिएको थियो। करन केसीले त्यो सजिलै पुरा गर्दै नेपाललाई अप्रत्यासित जित दिलाए। करन ३१ बलमा चार छक्का र तीन चौकासहित ४२ रनमा अविजित रहे।

१८ बल खेलेका सन्दीप पनि पाँच रनमा अविजित रहे। त्यसअघि सन् २०१४ को टीट्वेन्टी विश्वकपमा नेपालले स्थान बनाउँदा  केन्या र हङकङविरुद्ध शरद भेषावकरले बेजोड प्रदर्शन गरेका थिए। पछि विश्वकपमा राम्रो प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले नेपाललाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको थियो।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्