अब हुम्लाकाे नाम्खामा पनि व्यावसायिक स्याउ खेती

सिमकोट– हिमाली जिल्ला हुम्लामा व्यावसायिक स्याउ खेती गरिने भएको छ।  हुम्लाको नाम्खा गाउँपालिकाकाे स्याउ खेती हुनसक्ने सम्भावित क्षेत्रका लागि पाँच हजार स्याउका बोट ल्याइएको छ।

किसानको माग अनुसार ल्याइएका पाँच हजार स्याउका बाेट सदरमुकाम सिमकोट आइपुगेकाे नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामाले बताए।

माग गर्ने किसानहरुलाई सामूहिक र व्यक्तिगत रुपमा स्याउ खेती गर्नका लागि स्याउका बाेट अनुदानमा वितरण गर्न लागिएको अध्यक्ष लामाको भनाइ छ।

गाउँपालिकाको कृषि शाखाले कम्तीमा एक जना किसान वा समूहलाई स्याउ लगाउनका लागि जग्गा हेरी पचास बोट स्याउ वितरण गरेर व्यावसायिक स्याउ खेती सुरु गर्ने भएकाे छ।

गाउँपालिकाले ठूलो फारमका लागि साढे तीन सय बाेटसम्म दिने तयारी गरेको छ। उक्त स्याउका बाेट नाम्खा गाउँपिालिकाको वडा नम्बर १ देखि ४ सम्मका बस्तीका किसानहरुलाई वितरण गरिने छ।

व्यावसायिक स्याउ खेतीका लागि यसअघि माग संकलन गरिएको थियाे। र त्यसमा १५० वटा निवेदन जग्गाको क्षेत्रफलसहित गाउँपालिकामा पेश भएका थिए।

यसका लागि गाउँपालिकाको वित्तिय सम्मानीकरण शीर्षकमा ६ लाख बजेट विनियोजित गरेको गाउँपालिकाका लेखा प्रमुख अस्वीनी कुमार देवकोटाले बताए।

हुम्लाकै उच्च बस्ती रहेको नाम्ला गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँमा पहिलो पटक परीक्षणका रुपमा स्याउ लगाइने भएको छ। लिमीको तीन र हल्जी गाउँमा स्याउका बोट लगाउन लागिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए।

पहिलो पटक भएकोले परीक्षणका लागि २० देखि ३० बोट स्याउ लगाइने छ। लिमी भ्याली तीन हजार पाँच सय मिटरदेखि चार हजार मिटर उचाईसम्म पर्छ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्