जब हृदयको आँखा खुल्छ, अनि बल्ल प्रेम हुन्छ

हृदयभरीकी दृष्टि,
अनन्तआयामको स्नेह र प्यार।

दृष्टि, म सम्झन्छु, जब म तिम्रो प्रेमको परिधिभन्दा बाहिर बसेर हेर्दै थिएँ- बाह्य जगतले देखाउने प्रेमको रंग, मलाई अनौठो लाग्थ्यो प्रेमको स्वभाव र प्रभाव। कोहीकोही खुसीको खुड्किलो चढिरहेका देखिन्थे तर औसत मान्छेहरु शंका र अस्थीरता बाँचिरहेका, धोका र कपटले डसिरहेका, वियोगले पागल भएका र कति आत्मक्षय गराउन उद्धत। यस्तो लाग्थ्यो, प्रेम भन्नु बर्बादीकरणको एउटा बाटो हो। म टाढैबाट खोज्थेँ- प्रेमको दार्शनिक परिभाषा, शब्दका अजश्र स्रोतहरुमा प्रेमको खास अर्थ। जब प्रेमकै तागतले बेहिसाबअतिमीलाई मेरो समिप ल्याइदियो। म प्रेमको अनन्त आयतन आफैँमा महसुस गर्न थालेँ। प्रेममा गतिशीलताको वैभव, सिर्जनाको सुन्दरता र जीवनको सौन्दर्य खोज्न थालेँ।

प्रिय दृष्टि, मान्छेहरु भन्छन्- प्रेम अन्धो हुन्छ। गलत सर्वथा गलत। प्रेम हृदयका आँखा खुलेपछि हुन्छ। सच्चा प्रेमीहरुका ४/४ वटा आँखा हुन्छन् जसले बाहिरी आँखा चिम्लेर पनि बोध गर्न सक्छन् जीवनमूल्य। जसले दृश्यभन्दा परको संसार आफूभित्रै देख्न सक्छन्, कसरी प्रेम अन्धो हुन्छ? यो त प्रेमको गलत बुझाइ र दुरुपयोग गर्नेहरुको भाषा हो। स्वार्थ र आग्रहको तानाबाना बुनेर प्लास्टिकको गुलाफ जस्तै हृदय बोकेर गरिने भौतिकताको लालसा प्रेम होइन। यहाँ प्रेमको नकाब लगाएर कसैको विश्वासमा छुरा चलाउनेहरु, आफ्नैको बदनाम गराउने तरिका खोज्नेहरु, बदलाको भावना पाल्नेहरू, भावनात्मक दुर्व्यवहार गर्न उद्धतहरु, ओठको मुस्कान खोस्नेहरु, चैन र उमङ्ग चोर्नेहरु छन्। कसरी प्रेम हुन सक्छ यो? यो भिडभन्दा भिन्न एउटा शास्वत प्रेम बनेर मेरो समिप तिमी आयौ। तिम्रो हृदयको दृष्टिमा मलाई राख्यौ, मैले मेरो हृदयको दृष्टिमा तिमीलाई राखेँ। एकाकार बनेर प्रेमको यो यात्रामा हामी गतिशीलताको नदी बहिरह्यौँ। प्रेमले आफ्नो ताकत देखाउँदै रह्यो। हामी इमान्दार यात्री बनिदियौँ।

दृष्टि, तिमीले हाम्रो सुरुवाती संवादमै भनेको कुरा सधैँ मेरो मानसपटलमा घुमिरहन्छ। तिमीले भनेकी थियौ, ‘हाम्रो प्रेम सूर्योदयसँगै विलीन हुने शीतजस्तो, रंगमञ्चको एकघन्टे नाटकजस्तो, वासनात्मक मोहले भष्म बनाउनसक्ने कमसल र भ्यालेन्टाइन डेमा प्रेमीप्रेमिकाले दिने मुटुविहीन गुलाबजस्तो होइन। जीवनलाई रंगिन बनाउन सघाउने, अफ्ठ्याराहरूमा सहायताको हात फैलाउने, मुस्कानका फूलहरु फुलाउनसक्ने खालको प्रेम गर्नुपर्छ है।’

यो भिडभन्दा भिन्न एउटा शास्वत प्रेम बनेर मेरो समिप तिमी आयौ। तिम्रो हृदयको दृष्टिमा मलाई राख्यौ, मैले मेरो हृदयको दृष्टिमा तिमीलाई राखेँ। एकाकार बनेर प्रेमको यो यात्रामा हामी गतिशीलताको नदी बहिरह्यौँ।

साँच्चै, म यी परिपक्व र सकारात्मक सोचयुक्त शास्वत कुराहरु तिम्रो मुखबाट पहिलो पटक सुन्दा हर्षविभोर भएको थिएँ। एउटा जीवनको कोपिला जिउँदै गरेको मान्छेले कति मोहक र चेतनशील कुरा गर्‍यौ। त्यही दिनबाट म मेरो पर्यायसँगअगाध आस्था, विश्वास र समर्पण सँगाल्दै साँचो प्रेमको यात्रामा छु।

प्रिय, म जस्तो थिएँ, त्यस्तै छु, तिमीजस्तो थियौ, त्यस्तै छौ। हामीबीच केही साझा सपना र संकल्प, साझा स्वाभाव र प्रेरक सोच थपिएकामात्र छन्। अलेक्जेण्डर ग्राहम बेलले भनेजस्तै प्रेममा सफलताको उत्प्रेरणा हुन्छ। प्यारी दृष्टि, तिमीले कलेज टप गरेको देख्न मन छ। यसले मेरो प्रेम र त्यसमा निहित प्रेरणाको पनि परीक्षा लिनेछ। मलाई विश्वास छ, म त्यो परीक्षामा अब्बल हुनेछु। किनकि यहाँ भनाइ र गराइको विरोधाभाष छैन। त्यसपछि हाम्रा साझा सपनाहरुमा पुगेर अनन्त चेतना र दृष्टिकोणको सन्तुलनयुक्त प्रेमको प्रभावको कहानी लेख्नु पर्छ ल? जिन्दगीको चौतारीमा सुस्ताउँदै गर्दा। यसले प्रेमको बुझाइलाई सकारात्मक कोणमा केन्द्रित गराइदिने छ।प्रेममा धोका, कपट र वियोगको होइन- प्रेरणा र समर्पणको पक्ष मजबुत बनाइदिने छ। लेख्नुपर्छ, हाम्रो हृदयको मसी एउटै कलममा राखेर। यो रुपमा मुनामदन, लैलामजनु, नलदमयन्ती, हीर राँझा, मुकुन्द इन्दिरा, रोमियो जुलियट जस्तो र सारमालिली र बबीको जस्तो हुनेछ जहाँ हारको महसुस कहिल्यै हुने छैन।

दृष्टि, म तिमीले बुझ्न सक्नेजति, हृदयमा समेट्न सक्नेजति, ओठमा फुलाउन सक्नेजति प्रेम गर्छु। जिउन पर्याप्त तागत, लड्न पर्याप्त हिम्मत र पिडा र दर्द पचाउन सक्ने प्रेमको शक्ति दिने गरी प्रेम गर्छु। एउटा बाबाले गर्ने हिम्मत र आत्मबल उत्खनन जस्तै, आमाले गर्ने ममत्वजस्तै प्राकृतिक प्रेम गर्छु। त्यसले एक जनाको आशक्तिमात्र सम्मोहित नगराई बाबा,आमा र सबै पक्षलाई उत्तिकै खुला आँखाले देख्न सहयोग गर्ने छ। अर्थात् समर्पित प्रेममा पनि सारा संसारले गर्ने प्रेम र स्नेह देख्ने दृष्टि हुन्छ। हृदयबाट प्रस्फुटित उमंगका उद्वेगहरु, तिमीलाई बोकेर कहिल्यै नथाकेका आँखाहरू, तिम्रो स्पर्श बोकेर आउने बतास साक्षी राखेर भन्छु उषाको लाली पोतेर तिम्रो जीवनमा, हर्ष र मुस्कान पोखेर यत्रतत्र म अन्तस्करणदेखि नै तिमीलाई निःशब्द प्रेम गर्छु।

यी अक्षरहरु तिमीले सुस्तरी प्रेमिल शब्दहरु भनिरहेको आभाष भइरहेको छ। यो तिम्रै भावनाको कुरा मैले लेखिरहेको छु। भ्यालेन्टाइनले हामीलाई हरेक दिन प्रणय दिवस मनाउन सहयोग गरुन्,
लव यु मोर।

उही तिम्रो हृदयको,
दृष्य

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्