देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

तिमी त्यो मञ्जिल हौ जसलाई हासिल गर्न म उडान भरिरहेको छु

प्रिय सुम्निमा,

तिमी त्यो मञ्जिल हौ जसलाई हासिल गर्न म उडान भरिरहेको छु, तिमी त्यो लक्ष्य हौ जसलाई पाएर मेरो जीवन अर्थपूर्ण हुन्छ। अनन्त निलो आकाशको पृष्ठभूमिमा उडिरहेको जेट विमानको तस्बिरमुन्तिर मैले यही क्याप्सन लेख्ने थिएँ। म विमान हुँ, म अवतरण गर्ने विमानस्थल तिमी हौ। यही यथार्थ सुझाउन यो प्रेमपत्र लेख्दैछु।

कविहरू भन्छन्- बातें बहुत है मुहब्बत बयाँ करने के लिये। पर जो खामोशी नहीं समझते वो बातें क्या समझेंगे। प्रेमको भाषा मौन हो, तर मौनता सम्प्रेषण गर्ने माध्यम मैले फेला पारिसकेको छैन। त्यसैले शब्दको माध्यमद्वारा मैले आफ्नो शाश्वत प्रेम पस्कने चेष्टा गरिरहेको छु। त्यो दिन अवश्य आउने छ तिमी मेरा आँखाको गहिराइमा प्रेम छल्किरहेको देख्नेछ्यौ, म तिम्रा लोलाएका आँखामा हराउनेछु। त्यसबखत कस्तै गहकिला शब्दसमेत सान्दर्भिक हुने छैनन्।

तिम्रो प्रेम मेरा यी सारा योग्यता, उन्नति र उपलब्धिलाई सारपूर्ण बनाउने किमिया हो। तिम्रो प्रेम जीवनलाई सारपूर्ण बनाउने कुँजी हो। यति भन्दै गर्दा मेरो तार्किक मनले सोचिरहेको छ प्रेम किन यति महत्त्वपूर्ण हुँदोरहेछ भनेर। तार्किक मन पनि मेरै मन हो, म यसलाई युक्तिसाथ सम्झाउँदैछु।

प्रेम आसक्ति पनि हुन सक्छ, प्रेम आत्मीय पनि हुन सक्छ। तिमीप्रतिको मेरो प्रेम आसक्ति होइन आत्मीय हो भनी मैले विश्वस्त पार्नै पर्छ। तिमी औधी राम्री छ्यौ। तर शारीरिक सौन्दर्यका सीमा हुन्छन्। उमेरसँगै सौन्दर्य उस्तै रहँदैन, यो ध्रुवसत्य हो। सायद यही यथार्थ बोध गरेर तिमीले आफूमा आन्तरिक सौन्दर्य विकसित गरेकी छ्यौ, तिम्रो त्यो गुणको जति प्रशंसा गरे पनि कम हुन्छ।

युवा वयमा शरीरमा उर्लने वासनाका आँधीहरूबाट मुक्त इन्द्रियातीत आनन्दको खोजी गर्ने चेष्टा पलाउनु र तदनुरुप साधना गर्नु तिम्रो व्यक्तित्त्वका विशिष्ट पक्ष हुन्। विद्यातुराणां न सुखं न निद्रा अर्थात् विद्याको प्यास हुनेलाई सुख र निद्रा समेत नगण्य हुन्छन्। वासना पूर्तिको चाहना राख्ने् मन जति छटपटाए पनि, जति बेचैन भए पनि वासनामुखी त्यसलाई जितेर आफ्नो चेतनालाई उन्नत बनाउन तिमी तल्लीन रहन्छ्यौ। यही त विवेकशील मानिस हुनुको असली पहिचान हो। भावुकता या वासनालाई प्रेमको नाम दिनु र इन्द्रीय तुष्टिको खोजीमा आसक्त हुनु आम मानिसको प्रवृत्ति हो। यही कारणले आहार, निद्रा, भय र मैथुन पशु र मानिसमा उस्तै हुन्छन् भनिएको हो।

ज्ञान र धर्मको अनुशीलन गर्दै जाँदा मानिसको चेतना उन्नत हुन्छ र अन्ततः अनाहत नामको हृदय चक्र खुल्छ। यो चक्र खुलेपछि शर्तरहित प्रेमको झलक मिल्न थाल्छ। तिमीप्रति मेरो प्रेम हृदय चक्रको प्रेम हो किनभने यो शर्तरहित र स्वार्थरहित छ।

जसको चेतना मूलाधारमा हुन्छ ऊ यिनै चार प्रकारका प्रवृत्तिमा जीवन बिताउँछ। ज्ञान र धर्म मानिसका विशेष गुण हुन्। ज्ञान र धर्मको अनुशीलन गर्दै जाँदा मानिसको चेतना उन्नत हुन्छ र अन्ततः अनाहत नामको हृदय चक्र खुल्छ। यो चक्र खुलेपछि शर्तरहित प्रेमको झलक मिल्न थाल्छ। तिमीप्रति मेरो प्रेम हृदय चक्रको प्रेम हो किनभने यो शर्तरहित र स्वार्थरहित छ। तिमी हुनु मात्र पर्याप्त छ, जहाँ रहू सुखपूर्वक रहू, शान्तिपूर्वक रहू र सधैंजस्तै चेतनाको विस्तारका लागि प्रयत्नशील रहू। कहिले त कस्तो हुन्छ भने तिम्रो सम्झनाले मात्र पनि मनमा ऊर्जा भरिन्छ, हृदय गद्‌गद् हुन्छ र जीवन अझै अर्थपूर्ण लाग्न थाल्छ।

जीवनमा प्रेमको गरिमा अपार छ। स्वस्थ रहन सन्तुलित भोजन र व्यायामको जति महत्त्व हुन्छ त्योभन्दा अधिक प्रेमको भूमिका हुन्छ। प्रेम मानिसको दीर्घायु र सुखका निम्ति सर्वाधिक प्रभावी हुन्छ। हृदय प्रेमपूर्ण हुनासाथ शरीरमा डोपामाइन लगायत हर्मोन निसृत हुन थाल्छन् जसले आनन्द र उल्लास पैदा गर्छन्। प्रेमीको तस्वीर हेर्दा या नाम सुन्दा समेत यी हर्मोन सक्रिय हुन थाल्छन्, प्रेमीको सँगसाथ पाउँदा जीवन धन्य हुन्छ।

थोपाथोपाले घडा भरिएजस्तै प्रेम पनि क्रमशः घनीभूत जाँदो रहेछ। यतिखेर तिमी र म एकान्तमा भेटेर मनका कुरा गरेको त्यो दिन याद आइरहेको छ। कति हलुका भएको थियो मेरो मन जीवनका उहापोह तिमीलाई सुनाएर। तिमीले पनि जीवनका उतारचढावहरू, मनका कमजोरी र सबलताहरू सुनायौ। हामी दुवैले जीवनलाई उद्देश्यमूलक र सारपूर्ण बनाउन गरिआएका साधना र आराधनाहरू एकअर्कालाई सुनायौं।

आह, तिम्रो र मेरो जीवनका रूचिहरूमा कति धेरै सादृश्य! यस्तो लागिरह्यो मानौं हामी दुई शरीर एक आत्मा हौं। तिमीले चाइनिज टी पटबाट कपमा चिया खन्याइरहँदा मैले तिम्रो मुहारमा पोखिएको प्रेम र सन्तोषको आभा नजिकैबाट देख्न पाएको थिएँ। प्रेमले कसरी मानिसको आत्मालाई पोषण दिन्छ, तृप्ति दिन्छ यो बुझिनसक्नु छ। आत्मा एकै भए पनि शरीर दुई भएको हुँदा प्रेम हामीलाई आपसमा जोड्न अस्तित्त्वले सृजना गरेको विधान हो सायद। प्रेमलाई बन्धन पनि भन्छन् तर यो बन्धन भएर पनि कति प्रिय, कति लोभलाग्दो। सबै बन्धनबाट उम्कन मन हुन्छ तर प्रेमको बन्धनमा बाँधिन मन हुन्छ। काठ फोरेर गुँड बनाउने भमरा कमलको फूलभित्र कैद हुँदा निरुपाय हुन्छ रे। फूलको कोमलताको पकड भेदन गर्न नसकिने हुन्छ। यसैगरी प्रेमको अदृश्य बन्धन चुँडाउन नसकिने हुन्छ।

जीवन क्षणभङ्गुर छ, निस्सार छ। केवल प्रेम नै त्यो रसायन हो जसले क्षणभङ्गुरलाई शाश्वत बनाइदिन्छ, निस्सारतालाई सारगर्भित बनाइदिन्छ। जीवनको अन्तकालमा एक गणितज्ञले भनेका थिए- मैले जीवनमा एउटै महत्त्वपूर्ण रहस्य पत्ता लगाएको छु। त्यो के हो भने केवल प्रेमको रहस्यमय समीकरणमा सबै कुराको तर्कसंगतता फेला पार्न सकिन्छ। जीवन र जगत्‌मा सबैतिर असंगति व्याप्त छ। केवल प्रेमले सर्वत्र संगति देख्ने कला दिन्छ। मानिसहरू फरक आस्था र विचारका कारण विभाजित छन्, केवल प्रेमले सबैलाई जोडेको छ। यही प्रेमको तन्तुले मानव जातिलाई एकताको सूत्रमा उनेको छ। यही प्रेम मैले तिम्रा आँखामा छल्किएको देख्छु र धन्य हुन्छु।

रात र दिनहरू बितिरहेका छन्। गर्मीमा पोखरीको पानी जलवाष्प बनेर निथ्रिए जस्तै मानिसको जीवन र आयु पलपल क्षय भइरहेको हुन्छ। यही कारणले मानिस सदा जीवनलाई अमर बनाउन चाहन्छ। प्रेम नै त्यो सम्बन्ध हो जसले प्रेमीहरूको जीवनलाई अमर बनाइदिन्छ। प्रेम नै मानिसले अहिलेसम्म आविष्कार गरेको सर्वाधिक सुन्दर सम्बन्ध हो। तिमीसँग प्रेम सम्बन्धमा बाँधिन पाउनु मेरो अहोभाग्य हो।

द्वेषमा हृदय संकुचित हुन्छ, चेतना कुण्ठित हुन्छ तर प्रेममा हृदय खुल्छ, चेतना विस्तारित हुन्छ। प्रेम त्यो सुवास हो जसले आफ्नो र अरूको जीवनलाई समेत सुवासित बनाइदिन्छ। कुनै कविले भनेका छन्-

खुशबू को फैलने का बहुत शौक है मगर।
मुमकिन नहीं हवाओं से रिस्ता बनाए बगैर।।

हृदय प्रेमपूर्ण भएर मात्र पुग्दैन, प्रेमलाई विस्तार गर्ने युक्तिहरू पनि अनुशीलन गरिरहनु पर्छ। मन मिल्ने साथीलाई भेट्नु, मनका कुरा सुन्नु-सुनाउनु र एक अर्कालाई सम्मान एवं प्रेम गर्नु प्रेमलाई विस्तार गर्ने कौशल हुन्। तिमीसँगका हरेक संवाद र भेटहरूले प्रेमको मार्ग प्रशस्त गरिरहेका हुन्छन्, जीवनका हरपल, हरक्षणालाई प्रेममय बनाइरहेका हुन्छन्।

प्रेमी हृदयहरूलाई प्रेमको गरिमा सुझाउने सन्त कवीरको सद्वचन साभार गर्दै म यो प्रेमपत्र बिट मार्दैछु। कवीर भन्थे- प्रेम गली अति साँकरी ता मे दो न समाये। प्रेमको मार्ग अति साँघुरो हुन्छ जहाँ द्वैत विद्यमान रहन सक्दैन। प्रेमको सामर्थ्य यसले गराइदिने अनुभूति नै हो। प्रेमले दुई प्रेमी हृदयलाई एकाकार गराइदिन्छ। प्रेमले सबै प्रेमी हृदयलाई एकत्त्वको अनुभूति दिलाइदिन्छ । प्रिय सुम्निमा, तिमी त्यो प्रेमभूमि हौ जहाँ म अवतरण गर्न उत्सुक छु। तिमीमा समाहित हुनु प्रेममा समाहित हुनु हो, तिमीसँग र समस्त अस्तित्त्वसँग एकाकार हुनु हो। तिमी छ्यौ, म छु र प्रेम छ, हामीले मरणधर्मा लोकलाई अमर बनाइदिने छौं।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्