आखिर मान्छे मनको कैदी त रहेछ

प्रिय जी,
म किन हो किन? तिम्रो वचन टार्न सक्दिन। जसरी तिमीले मेरो इच्छा पूरा गरिदिएका छौ, त्यसरी नै म तिम्रा लागि बाँचिरहेको छु। केवल तिम्रा लागि…

औसत मान्छेहरु आफ्ना लागि मात्र बाँच्दा रहेछन्। तर, तिमी त्यस्ती रहेनछौ। मैले जब पहिलो पटक तिमीलाई पाख्रिबासमा देखेँ, मलाई यस्तो लाग्यो, यति सानै उमेरमा मान्छेले यस्तोसम्म सोच्न सक्छ र? अझ यो पुरुषसत्तामा महिलाले यतिसम्म गर्न सक्छ र?

जात, थर, मान, पदवि वा अरु यस्तै कुराहरु। सब बेकार रहेछन्। जब मान्छेले ठान्छ कि म के गर्दैछु र अब के गर्नुपर्छ, तब त्यो मान्छेले आफूलाई मात्र होइन, अरु सबलाई बिर्सिन्छ। तिमी त महान रहेछौ। जसले आफूलाई भन्दा अरुलाई बढी सम्झ्यौ।

अरु भनेकै म हुँ। खासमा तिमीले मलाई सम्झिनुपर्ने कुनै कारण छैन। किनभने म र तिम्रो न जात मिल्छ, न पानी चल्छ। न कर्म चल्छ, न धर्म। न चुल्हो बल्छ, न घर चल्छ। तर पनि तिमीले मन मिलायौ।

हुन त मन मिलेपछि सक्कियो। मनले चाहेपछि सबथोक पूरा भयो। कताकता तिमीले मनको कुनै कुनाबाट मलाई चिहायौ। मनोनेटले मलाई हेर्‍यौ। मनैमनले मलाई मन परायौ। यो मन भनेकै यस्तै चिज हो, जसले चितायो कि बितायो। सायद, तिमी त्यही मनको शिकार बन्यौ जसले तिमीलाई मबाट टाढा हुन दिएन।

आज तिमी मेरो बारेमा के सोचिरहेकी छ्यौ, त्यो त मलाई थाहा छैन। तर, एउटा कुरा भन्ने पक्का छ, तिम्रा सपनाहरु मसँग जोडिएका छन्। तिम्रा जपनाहरु मेरा लागि छन्। कताकता तिमी मभित्र हराएकी छ्यौ। जतिबेला मैले कक्सबजारको बिचमा तिमीलाई सम्झेर राताराता झुम्का किनेको थिएँ, त्यसको तस्बिर खिचेर तिमीलाई पढाउँदा तिमी धेरेबेर हाँसेर खुशी भाव ब्यक्त गरेको मैले महसुस गरेको थिएँ।

हो, यही झुम्का हो, जसलाई आजसम्म पनि तिम्रै लागि साँचेर राखेको छु। जतिबेला तिमीले मलाई भेट्यौ नि, त्यतिबेला मेरो झुम्का खोइ…दादा भन्दा म झसंग भएँ।

तिम्लाई भनी किन्देको छु,
रातो रातो झुम्का कक्सबजारको बिचैमा
त्यै झुम्का लाएर हिँडौली
पथरीको बजारको पिचैमा…

थाहा छ…? तिम्रा लागि भनेर किनेको त्यो झुम्का आज पनि मसँग सुरक्षित छ।

प्रिय जी,
म तिमीलाई अपनाउन सक्छु या सक्दिन, यो त समयले बताउला। तर, तिम्रा आँखाले भने मलाई अपनाउने चेष्टा गरेको मैले राम्ररी बुझेको छु। यसको अर्थ तिमी अब तिमी मात्र रहिनौ, होइन त? तिमीले मेरो मनोनेट कथासंग्रह राम्ररी पढेर प्रतिक्रिया दियौ।

हो, मलाई थाहा छ। तिम्रो मन पनि साहित्यिक छ। गजल लेख्छौ, कबिता पढ्छौ। म सुन्छु, तिम्रा गजल। म पढ्छु, तिम्रा कबिता।

कविता र जिन्दगी फरक बिषय हुन्। गजल र जीवन अलग चिज हुन्। कथा र चलचित्र त झन् टाढाका कुरा हुन्। कविता लेखेजस्तो, गजलमा भनेजस्तो भैदिएको भए आज मान्छेले कुनै पीडाबोध गर्ने नै थिएन। कथा र पटकथामा जस्तो मान्छे भैदिएको भए यो अवस्था आउने थिएन। कथा त कथाकारले आफ्नो सन्तुष्टिका लागि मात्र लेखेको हो। कविता र गजल त लेखकले आफ्नो मनको पीडा पोख्ने माध्यम मात्र बनाएका हुन्।

जसरी कथा लेखिन्छ, जसरी चलचित्र बनिन्छ, त्यसरी नै मान्छेको जीवन बनिने भए आजसम्ममा मान्छे मान्छे नै मात्र रहने थिएन। भगवान कहलिन्थ्यो, मान्छे। जसरी मान्छे राशीफल पढेर भाग्य विधाता बन्न सक्दैन, त्यसरी नै मान्छे कर्म नगरी अगाडि बढ्न सक्दैन। यदि कर्म नगरी राशीफलको भरमा मात्र परेर मान्छे बसेको भए मान्छेको उन्नति नै हुने थिएन।

मलाई थाहा छ, तिमी यो कुरा मान्न तयार छैनौ। तिमी पहाडबाट सपना बुनेर तराई झर्‍यौ। पहाडका उकाली ओराली भन्दा तराईका फाँटहरुले तिमीलाई आकर्षित गरे। तराईमा झुल्ने धानका बालादेखि तोरी र फापरको रंगले तिमीलाई ताने, ठिक त्यसरी नै मैले पनि यही भूमिमा धेरै पसिना बगाएको छु। जिन्दगीका धेरै गर्मीहरुले मलाई तताएको छ। घामका पाइलाहरुले मलाई डढाएको छ। रहरले थिचेको छ, प्रहरले किचेको छ।

तिमीलाई लाग्दो हो, एउटा हँसिलो मुहारभित्र म कति सुन्दर देखिएको भनेर। तर, अनुसार हाँस्दैमा मात्र ब्यबहार सही हुन्छ भन्ने हुन्न। उज्यालो अनुहारभित्र लुकेको पीडा कमैले महसुस गर्न सक्छन्। मान्छेहरु त बाहिरी आँखाले मात्र संसार नियाल्छन्। मान्छेको भित्री संसार अर्कै पनि हुन सक्छ।

म त एउटा पात्र मात्र हूँ जिन्दगीको। एउटा निरीह पात्र, जो आज एउटा जात र धर्मको रेखाभित्र अल्झिएको छ। कर्म र विश्वास भन्दा पनि वर्ग र मानको अभिमानमा रुमल्लिएको छ।

मलाई थाहा छ, तिमी यसरी मलाई हेर्दिनौ। हेर्नु पनि हुन्न। मैले अघि नै भनेँ नि… तिमी त्यति स्वार्थी पटक्कै छैनौ। बरु म तिम्रा लागि त्यो भूमिका निर्बाह गर्न सकिरहेको छैन।

हरेक मान्छेमा एउटा न एउटा प्रतिभा हुन्छ। बस्, उसले त्यो प्रतिभाको पहिचान गर्न सक्छ सक्दैन भन्ने मात्र मूल बिषय हो। तिम्रो वयले तय तरेको सोच र खोजले म प्रभाबित भएको मात्र हो। मलाई थाहा छ, यो सानै उमेरमा तिमीजस्तो क्षमता बोक्ने मान्छे कमै हुन्छन्। अझ पढाइलाई भन्दा रमाइलोमै संसार देख्नेहरुको कमी छैन, यहाँ। यद्यपि, तिमीमा त्यो उत्ताउलोपन पनि छैन।

एक मनले भन्छ …उसलाई अपनाइहाल्। फेरि अर्को मनले भन्छ, …उसलाई धोका नहोस्। आखिर मान्छे मनको कैदी त रहेछ। त्यही मनले एउटा नकारात्मक भाव प्रकट गर्छ भने अर्को मनले सकारात्मक सोच। मान्छे यही सही र गलत विचारको चपेटामा परेर ठीक बेठीक छुट्याउन नसकेर बसिरहेको हुन्छ।

तिमी यही मनको चपेटामा परेर अल्झिएको कुरा त थाहा पायौ नै होला। कुनै दिन तिम्रा लागि समर्पित त्यही मन आज दुश्मन बनेर अगाडि देखा पर्‍यो।

म त एउटा पात्र मात्र हूँ जिन्दगीको। एउटा निरीह पात्र, जो आज एउटा जात र धर्मको रेखाभित्र अल्झिएको छ। कर्म र विश्वास भन्दा पनि वर्ग र मानको अभिमानमा रुमल्लिएको छ।

यो मेरो दोष हैन, प्रिय… मेरो सोचको दोष हो। मेरो मनको दोष हो जसले आज मलाई एउटा अहंकार भरिदिएको छ। एउटा भयानक रोगको भाइरस भित्र्याइदिएको छ, जो सहजै निको हुने छाँटकाँट छैन।

म यसै निसास्सिएको छु ,उसै भासिएको छु, मनको कैदी बनेर।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्