मन्त्री भन्छन्– सरकारले उद्योगीलाई ज्वाईँ समान व्यवहार गरेको छ

काठमाडौँ– विराट एक्स्पो २०७६ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको औपचारिक रुपमा विराटनगरमा सुरुवात भएको छ।

विराटनगर महानगर–२ स्थित शंकरपुरमा सुरु भएको प्रदर्शनी मेलाको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे। कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीको वातावरण बन्दै गएको दाबी गरे।

यस क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न विराटनगर जुट मिलको सन्दर्भले मात्र नपुग्ने बताएका अर्थमन्त्री खतिवडाले उद्योग व्यवसायको प्राकृतिक चक्रलाई सबैले बुझ्नु आवश्यक रहेकाे बताए।

जुट उत्पादन बढाउने उद्योगहरुलाई सरकारले संरक्षण गर्ने बताएका मन्त्री खतिवडाले भने, ‘यससँगै अब हामी नयाँ व्यवसायमा केन्द्रित हुन आवश्यक छ। जसले औद्योगिकरणको नयाँ स्वरुप कोर्नेछ। जसमा सहयोग गर्न सरकार तयार छ।’

क्रस बोर्डर आर्थिक क्षेत्र बनाउँदै गरेको बताउँदै उनले त्यसलाई आधार बनाएर यहाँको औद्योगिकरणको बाँकी प्रक्रिया बढाउन जोड दिए। सोही क्रममा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको हब बनाउन सकिने सन्दर्भमा सरकारले आर्थिक पक्षमा समस्या आउन नदिने मन्त्री खतिवडाले बताए।

कार्यक्रममा ठट्यौली पारामा मन्त्री खतिवडाले उद्योगीहरुलाई लक्षित गर्दै भने, ‘धेरै ज्वाईँ भएपछि भाउ खोज्न थाल्ने स्थिती चाहीँ नबनोस्। हामी सबै आ–आफ्नो मर्यादामा बस्नु पर्छ। सासु ससुराको मर्यादा पनि कहिलेकाही राखिदिनुपर्छ।’

यसअघि उद्योग राज्यमन्त्री मोती दुगडले सरकारले उद्योगीलाई ज्वाईँ समान व्यवहार गर्ने गरेको बताएका थिए। कार्यक्रममा उद्योगीलाई उत्साहित बनाउँदै गर्दा राज्यमन्त्री दुगडले विगतभन्दा हाल सरकारले उद्योगी व्यवसायीहरुलाई ज्वाई समान सम्मान र व्यवहार गर्दै आएको बताएका थिए।

यस्तै प्रदेश एकका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले महानगरले जग्गा उपलब्ध गराएको खण्डमा प्रदेश सरकारकाे बजेट लगानीमा प्रदर्शनिस्थल निर्माण गर्ने बताए।

कार्यक्रममा प्रदर्शनीका संयोजक भोलेश्वर दुलालले प्रदेश राजधानीमा समेत औद्योगिक केन्द्रको अभाव रहेको गुनासो गरे।

प्रदर्शनीमा नेपालको स्वदेशी उत्पादनसँगै भारत, पाकिस्तान, भूटान, बंगलादेश लगायतका सरसमान प्रदर्शनीमा राखिएको उनले जानकारी दिए।

एक्स्पोको कारण प्रदेश सभाको बैठकसमेत स्थगित भएको छ। उद्योग वन पर्यटन तथा वातावरण मन्त्री जगदिश कुसियैत एक्स्पोमा सहभागि हुन हिँडेपछि बैठक स्थगित हुन पुगेको कांग्रेसका सचेतक सूयर्माराज राईले जानकारी दिए।

मन्त्री कुसियैतले पेश गरेको प्रदेश वातावरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलपछि मन्त्री कुसियैतले जवाफ दिने कार्यसूचि रहेको थियो। मन्त्री कुसियैत बैठकबाट बाहिरिएसँगै प्रतिपक्षी दल कांग्रेसले नियमापत्ति गरेको थियो।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्