देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

खै केसँग बिक्री भयो तिम्रो देशप्रेम?

प्रिय सानु,

फेरि पनि स—प्रेम सम्झना । आरमै छौ होला नि ? प्रत्येक वर्ष प्रेम दिवश आउँछ अनि तिम्रा यादहरु खिल बनेर आउँछ । ति खिलहरुका यी शब्दहरु डोबहरु हुन् ।

तिमीलाई फेरि याद दिलाए: जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा तिम्रो र मेरो पहिलो भेट भएको हो । आफैलाई थाहै नदिई मेरो मनले तिमीलाई मन पराएछ । “देशप्रेम” शिर्षक रहेको त्यो प्रतियोगितामा देशप्रेम को भावना समेटेर तिमी प्रथम भएकी थियौ तर म केवल सहभागी मात्र । देशप्रेम को भावना समेटेर प्रथम भएकी तिमी पछि डिपेन्डेन भिषामा अस्ट्रेलिया गयौ तर म भने यही देशमा राष्ट्रप्रेम र राष्ट्रियता सिकाउँदै मास्टरी गर्दै छु ।

प्रेममा पाउनु मात्र प्रेम होइन गुमाउनु पनि प्रेम हो भनी ठान्ने म खै तिमीले के सोच्यौ अनि अस्ट्रेलिया गयौ । सधैँका लागि गयौ , माया मारेर गयौ । सामाजिक सँजालमा तिम्रो फोटो त देख्छु, भौतिक सुख त पाएकी हौली तर खै अनुहारमा खुशी देखिँदैन । सुन्दैछु तिमी अस्ट्रेलियामा हाल एक्लै छौ रे । थाहा भो होला नि है तिमीलाई “किनेको माया धेरै दिन टिक्दैन भनेर” ।

हिजो आज अस्ट्रेलियामा धेरै नेपाली छन् । अस्ट्रेलियाका समाचारहरु आइरहन्छ छापाहरुमा । राम्रो समाचार आउँदा खुशी हुन्छु तिमी रमाएकी छौ भनेर । जब नराम्रो समाचार आउँछ नि, तब भगबान पुकार छु ,तिम्रो कामना को लागी, केही नहोस् भनेर । अली अगाडि दुर्घटनामा ४ नेपालीको निधन भन्ने खबर सुन्ना साथ पशुपति पुकारेँ मैले ।

खै यो मेरो मनले पनि के के सोच्छ सोच्छ ? हुन त तिमी अब मेरी भइनौ तर पनि अझै माया छ मेरो ह्रदयभरी । अस्ट्रेलियाको आगलागी को भिडीयो देख्दा मेरा नयन कोशी भो, नारायणी भो ! तर के गरनु मैले भगवान पुकारनु बाहेक ।

मेरो विनम्र अनुरोध सानु : जस्तो सुकै कठिन परिस्थीति आए पनि नराम्रो बाटो नरोज है । म तिम्रो नराम्रो कुरा सुन्न पनि सक्दिन । तिमी कुरा त देशप्रेमको गर्दथौ नि तर खै के सँग तिम्रो देशप्रेम बिक्री भयो? देशप्रेम सँगै तिमीले मेरो माया पनि बेच्यौ नि हगी । त्यही भएर आफनो देशमा अडिन सकिनौ।

अली अगाडि अस्ट्रेलियाको भिडियो युटुयबमा हेरेको थिए । ट्रेन स्टेशनमा रात कटाएको कुरा, एउटा रोटीले भोक टारेको कुरा, १८ घण्टा काममा खटिनु परेको कुरा , अनि झोला बोकेर देश फर्कर्ने कुरा । धेरै चिन्ता लागेको थियो मलाई तिम्रो, अनि आशा पनि पलाएको थियो स्कुल पढदा तिमी प्रथम भएको “देशप्रेम” निबन्ध सम्झीने छौ अनि  नेपाल फर्किने मा सबैभन्दा पहिला तिमी हुनेछौ भनेर । तर खै आज सम्म तिमी फर्किने छाँट नदेखेर यो पत्र लेख्दैछु ।

अस्ट्रेलियामा आगलागी भएर जताततै समस्या छ भन्ने सुन्छु । अस्ती एउटा फोटोमा डढेको रुखमा पालुवा पलाएको देखे अनि सोचे तिमीमा पनि अब देशप्रेम र मायाको पालुवा पलाओस अनि नेपाल फर्किन मन लागोस । थाह छ तिमीलाई : देशमा आजभोली धेरै सम्भाबना हरु छन् नी । हरेक क्षेत्रमा महिला पनि सक्षम हुदै गएका छन् । महिलाको नेतृत्वमा भएका प्राय कार्यहरु सफलता तर्फ उन्मुख छन् । मैले पनि त तिम्रो नेतृत्व मान्छु भनेकै थिए नि ।

मानव जुनी एक पटक मात्र पाईन्छ रे । हो यही जन्मलाई हामी सार्थक बनाउन नचुकौ । तिमी दिनको १८ घण्टा काम गर्दछौ, धेरै कमाउँछौ होला तर खुशी छैनौ ।

म मास्टरी गर्दछु ,स्वाभिमानले कमाउँछु , रमाउँछु र बचेको समय सामाजिक अभियानमा लगाउँछु । मेरा विद्यार्थी असल बाटोमा हिँडेको देख्छु अनि खुशीले राम्रो सँग निदाउँछु । तिमी निदाउन पनि औषधी लिन्छौ रे ।

अघिल्लो महिना मेरो बुबा विरामी हुनु भो ,सबै हेरचाह मैले सँगै बसेर गरे । सुन्दैछु तिम्रो आमा बिरामी हुनुहुन्छ रे । तिमी आमाको चिन्ता मनमा राखेर १८ घण्टा काम गर्दछौ । भिडियो कलमा मात्र तिम्रो हेरचाह सिमित छ । के भिडियो कलमा मात्र माया जनाउँनु हाम्रो कर्तब्य हो त सानु ?

प्रिय सानु , आज सम्म पनि केही बिग्रेको केही छैन । यदि तिमीमा देशप्रेम को भावना मरेको छैन र मेरो माया मारेकी छैनौ भने फर्केर आउ ,सगै बसौंला । मलाई तिम्रो खाँचो छ अनी देशलाई तिम्रो नेतृत्वको । मन खुशी नभएको भौतिक सुखको फोटो मात्र सामाजिक सँजालमा राखेर के गर्दछौ ? जिवनमा दिल देखी खुशी भएर जिउनु पर्दछ । मेरो कुरा मान्छौ भने नेपाल फर्किन  अब ढिला नगर ।

म शिक्षक छु ,अब वैशाखमा हुने शिक्षक आयोगमा तिमी पनि नाम निकाल । नेपालको सुदुर पश्चिम सगै जाउला छाउप्रथा को विरुद्ध चेतना फैलाउला । छाउगोठ मात्र भत्काउने होइन उनीहरुको मनमा रहेको कुरीतिको गोठ पनि भत्काउनु जरुरी छ । मधेस जाउँला , तराई जाउँला : दाईजो प्रथा, बाल विवहा, भु्रण हत्या जस्ता कुरीति को जरा उखेलुला ।

सबै अभियानको तिमी नेतृत्व लिनु म सदैव तिमीलाई सघाउने छु । हेर त धुरमुस , सुन्तली लाई के पुगेको थिएन र ? मुसहर वस्ती पछि अन्तराष्ट्रिय क्रिकेट रँगशाला बनाउन जुटनु भएको छ । उक्त्त रँगशाला मा आर्थिक सहयोग पनि गरुमला ,श्रमदान पनि गरुमला ,सेल्फी खिचौला ,सामाजिक सँजालमा राखौला  अनि सँसार कै ”खुशी र सुखी जोडी” भनेर क्यापसन लेखौँला ।

तिमी लाई माया गरीरहने

भोला नाथ शर्मा

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्