बन्द खामभित्रको प्रेम…

प्रिय बु…

सखारै मर्निङ्गवाकमा निस्केको फर्कदा सुनेको प्रेमिल गीतले मनलाई झङ्क्रित गरेको थियो । अनायास नमज्जा पनि लाग्यो । समय प्रेम सप्ताहको पहिलो दिन थियो । ऋतु परिवर्तनसँगै पतझड मौसम सकिएर गुलाबका सुकेका बोटमा पातहरू पलाउँदै गरे पनि मन भने ओइलिएको थियो । मनका उत्ताल भावहरूलाई पत्र मार्फत् अभिव्यक्त गर्दैछु ।

अस्ती बार्दलीमा सिगरेट पिउँदै अतीतलाई सम्झिएँ र फेसबुकमा बिहानै केही भाव पोष्ट गरेको थिएँः
“तिम्रै पर्खालको गुलाफ जस्तै हुने मन छ
आफू चुँडिएर तिमीलाई जोडिदिने
ह्याप्पी रोज डे ।’’

तीन हरफ लेखेर पोष्ट हुँदासम्म सिगरेटको ठुटोले औँला पोलेको समेत पत्तै पाइनँ । अब त ओठ निचोर्दा दूध निस्कने उमेर पनि कहाँ रह्यो र ? जतिबेला सियोको हल्का घोचाई पनि ठूलो लाग्थ्यो । आजकल त आगोले पोलेर भित्री बोसो नदेखिएसम्म दुखाई नै थाहा हुँदैन । फेसबुक नै नजन्मिएको जमानामा हाम्रो प्रेमले बिट मार्‍यो यद्यपि कहिलेकाहिँ यसो गम खान्छु, फेसबुकमा खोज्दै मैले तिमीलाई नियाले जसरी मलाई पनि हेर्छ्यौ हौली भन्ने अनुमान गर्छु ।

यसघडी हामी सँगै हुन्थ्यौ भने यो चालिसे उमेरमा पनि मेरो पोष्टमा सबभन्दा पहिले मुटु रूपी रातो प्रेम चिन्हसँगै कमेन्ट पनि तिम्रै आउँथ्यो होला । ल्यान्डलाइन फोन र चिठीचपेटाको जमानामा थियो हाम्रो । तिमीले एयर मेल खामभित्र हालेर साथीसँग पठाएका पत्र आज पनि मैले जतनसाथ राखेको छु । तिम्रां सुन्दर औंलाबाट कालो मसीले लेखेका ती अक्षर समयको अन्तरालले फिका भए पनि याद भने गाढा छ । अहिले पनि प्रेम पत्रको अन्तिम वाक्यको सधैँ याद आउँछ “पढ्न काठमाडौ आएको एक महिना भइसक्यो काले, हामीसँगै चिया कहिले पिउने ?”

तिमीलाई यादै होला कलेजको ब्रेकमा हामीले खाजाघरमा चिया पिउँदा साहुनीले भिडभाडमा चियाको पैसा लिन बिर्सिएको दिन । गते त ठ्याक्कै याद भएन तर साउने झरीको दिन थियो । कलेज सकिएपछि त्यही दिन भिज्दै न्युरोडमा पिएको दोस्रो कप चियाको याद झलझली आइरहेको छ । खरको छानोबाट चुहिएर तप्तप् पानी कपमा पोखिदाँ त्यसको झड्काले चियाको बूँद तिम्रो ओठको लालीमा टल्किरहेको त्यो क्षण….. । दैलामाथि टाँसिएको तस्विर जस्तै मनको भित्तमा छ ।

जागिर खाना थालेपछि हामी दुबै चियाबाट कफी र खाजघरबाट क्याफेमा उक्लिदै गयौं । हामीले अर्डर गरेको कफी मध्ये तिम्रामो चिनी नै राख्न विर्सिएको पल संझदा रातो गुलाबको रङ पनि फिक्का लाग्छ । आज चाहेर पनि म चियामा चिनी राखेर खान सक्दिनँ । मधुमेहसँग लड्न इन्सुलिन लिदाँलिदाँ मरेका अधबैशें छालाको दुखाई पनि विर्सेको छु ।

कलेजमा म एक ब्याच ठूलो थिएँ । हामीले तपाईँ बोलचाल सुरु गर्दा त्यसको दुई हप्तामै दुबैलाई कस्तो असहज भयो । त्यो तपाईं शब्दले बनाएको पर्खाल भत्किएर तिमीमा झर्न लागेका दिन वर्षाको खहरे थिए । एउटा मोडमा तिमीले भन्यौ, “मलाई सबैभन्दा मन पर्ने शब्द ‘तिमी’ हो, हजुरले तिमी भन्ने हो भने मैले संसार जितेको कल्पना गर्न सक्छु ।” मैले परिस्थिति सहज बनाएँ, त्यसो भए दुबैले तिमी भनौं, भोलि बेलुकी चार बजेतिर चिया भेट गरौं न त ?

मेरो मुखवाट पहिलो पटक तिमी शव्दसँगै निस्किएको “तिमी साच्चीकै तिमी हौ ?” पुरक शब्दमा तिम्रो प्रेमिल परिवर्तित अनुहार सम्झेर वेचैन नभएको आज पनि कुनै पल छैन वु….। अनुहारभरि जिङ्रिङ्ग अस्तव्यस्त हल्का दाह्रीले तिम्रो मनस्थितिलाई अस्तव्यस्त बनाएको उहिलेका पल । तिमीले खै कति सम्झिएकी छौ कुन्नी ? साच्चै तिम्रा केशहरू पनि त फुले होलान् नि है ?

सन् १९९८ ताका भिजिट नेपाल वर्ष मनाउँदाको समय भर्खरै २० बसन्त टेक्दै गरेका थियौँ हामी । थोत्रो बसमा इलाम घुम्न गएका थियौं । २२ वर्ष पछिे भिजिट नेपाल २०२० को प्रचारको क्रममा इलाम जाँदा तिम्रै उद्योगमा बनेको भिजिट नेपाल २०२० लेखेको झोलाभरि सपना थिए । तिमीले लेखेका एयर मेल भित्रका रोमान्चक सम्झनाहरू र तिमीले फिर्ता दिएका मेरा भावनाहरु साथमै बोकेर फुलेका झुस्स दाह्री हुलियामा गत हप्ता पाचौं पटक इलाम गएको थिएँ ।

कास आज हामीसँगै हुन्थ्यौ भने २० वर्ष पुगेका हाम्रै छोराछोरीलाई हाम्रो प्रणय स्थल देखाउथ्यौं । प्रेमिल जोडी मिलेर इलामीहरूलाई हाम्रो सहर पोखरा घुम्न निम्ता दिन्थ्यौ तर यी सबै दिवास्वप्न भएका छन्, किनकी तिम्रो आफ्नै परिवार छ । तिम्लाई हेर्न बनाएको अर्को फेसबूक अकाउन्टबाट चियाउँदा मैले केन्या देशको चिया बगान देख्छु तर देख्दिना इलामको कन्याम चिया बगान जहाँ हामी पग्लिएका थियौं कुहिरोको घुम्टो भित्र ।

हरेक वर्ष प्रेमिल महिना फेब्रुअरी सुरु भएपछि चालिस वर्ष कट्दा समेत आफूलाई केटौले उमेरको ठान्छु । कारण दुई दशक अगाडिको याद नै हो । तिमी काठमाडौँ पढ्न गएको चार महिनापछि भौतिक रूपमा भेट्न पाउँदा खुशीले रोएको हिजोअस्ति झैँ लाग्छ । निकै लामो समयपछि भेटिँदा सेन्ट भ्यालेन्टाइनको पहिलो भेटभन्दा बढी तरङ्गित भएका थियाँै हामी । अनि बाघ झम्टाईको त्यो एक अर्काको न्यानो

आलिङ्गन….अहिले पनि मेरो लागि बाँच्ने आधार बनेको छ । मैलेभन्दा ज्यादा तिमीले प्रेम गथ्र्यौ मलाई त्यस्तै लाग्थ्यो । यौनले प्रेमलाई कमजोर पारिदिन्छ त्यसैले म त्यो गर्दिन त्यसमा तिमी पनि पूर्ण सहमत थियौ । हुन माया लाग्थ्यो र छुन माया लाग्थ्यो ।

तिमीले आफ्नै हातले चिठी लेखेर अब हामीसँगै प्रेममा रहन सक्दैनौं भन्दा महाभूकम्पको जस्तो धक्का महसुस गरेको थिएँ । कसैलाई आदत बनाउनु पहिला यसको आदत बुझ्न जरुरी हुँदो रहेछ । तिम्रो आदत बुझ्न सकिनँ मात्रै तिमीमा आदत परेँ । प्रेममा तिमीलाई यति भिजाएको थिएँ कि तिमी ‘तिमी’ नै थिइनौ मेरो प्रेम थियौ । जब तिमी गयौ म पनि प्रेमसँगै सती गएँ वा सो सरह नै भयो ।

आज ती रमाईला स्थानहरू मरुभूमि झैँ निरस र उजाड मात्रै लाग्दैनन् छाती दुःखाउने पलहरू पनि बनेका छन् । पहिले प्रेमले भिज्ने आँखाहरू आज तिनै प्रेमको सम्झनामा रुने गरेका छन् । शायद् तिमी भएको भए दुनिया थर्कने गरी रुने थिएँ । अफसोच मेरो प्रेम तिमी आज छैनौँ ।

बाटो मोडिएपछि सङ्गालेका प्रेमपत्रहरू फोनमा पढेर सुनाउँदा तिमीले “प्रेम पत्रहरू जोडेर सत्य कथामा कथा लेख पैसा आउँछ” भन्दा बलिन्द्रधारा आँशु झरेका थिए । न्युरोडमा चिया खाँदा झरेको बलेनी झैं । समयको गतिसँगै मेरो बाँच्ने आधार बनेका केही हाम्रा पलहरू आज पनि सँगै छन् । कहिल्यै जोड घटाउ भएन मेरो मायामा तर तिमीले गुणा गरेर बसेकी रहिछौ ।

मेरो पहिलो प्रेम तिमी हौ । म मेरो प्रेमका प्रत्येक दिनलाई ‘भ्यालेन्टाईन डे’ भन्दा वढी महत्व दिन्छु । तर आज तिमी छैनौ । त्यसैले आजको दिन कसैको प्रेम आदत पछि विछोड नहोस् भन्ने कामना गर्छु । अनि गुलाफ फुल्ने तिम्रो घरको त्यो पर्खाल र करेसाबारी आज कम्पाउण्ड र गाडी राख्ने ग्यारेजमा परिवर्तन भएछ, देखावटी सुन्दरता जस्तै । त्यसैले त भन्न मन लाग्छ,
“तिम्रै पर्खालको गुलाफ जस्तै हुने मन छ
आफू चुँढिएर तिमीलाई जोडिदिने
ह्याप्पी रोज डे बु … ।

यी हरफ लेखीसक्दा प्रणय सप्ताहको तीन दिन कटेर आज प्रमिस डे आएको छ र तिमीलाई कहिल्यै नभुल्ने कसम खान्छु । मन्दिरमा आस्था नराख्ने म आजभोलि केही आस्तिक हुन थालेको छु तिम्रै लागि । मन्दिर देख्ने वित्तिकै पहिलो शव्द तिम्रै लागि मुटु विहीन छाती दुखाउँदै जप्ने गर्छु “तिम्रो दुःखमा सँधै साथमा रहन सकूँ ।” तिम्रा प्रत्येक आँशुका मोति मेरै हातले पुछ्न सकँु, तिम्रा आँशुका थोपा जमिनमा झर्नु भनेको तिमी प्रतिको मेरो प्रेम कमजोर हुनु हो नि है बु…?

उफ्…. यत्ति भाव लेख्दा अनायासै मुटु बिहीन छाती फुट्ने गरी त्यहि गीत सुन्न मन लाग्यो जुन तीन दिन अगाडि मर्निङवाकबाट फर्कदा बाटोमा सुनेको थिएँ । तिम्रो प्रेममा मलाई बच्चा नै बन्न मन लागेको छ । माफ गर वु…. तिम्रा ती सब सम्झना बन्द कोठाभित्र छरपस्ट पारेर फेरि एक पटक पागल हुन मन छ । ‘तिमी’ शब्दको सुरुवातमा तिमी पागल भए जसरी ।
“तिमी रोएको पल तिमीलाई हँसाउन नसकुँला
तर तिमीसँगै म रोईदिन सक्छु…..।”

अलबिदा, बु …

तिम्रो विष्णु

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्