जीवित प्रेम पत्र

प्यारी मुना, लामो सम्झना

लेख्छु भनेर कुनै फलको बोटमुनि बसिरहेको व्यक्ति सामु जसका बारेमा लेख्ने सोच थियो, त्यहि व्यक्ति त्यहाँ नजिकै पुग्दा कल्पनामा डुबिरहेको क्षितिजमा अस्ताउँदै गरेको घाम ताप्ने व्यक्तिको कल्पना नै भगं गर्ने त्यस चरीलाई के नाम दिऊँः उर्वशी, मेनका, कनिका, मुटुको टुक्रा… यस्तै यस्तै…। अब त नाम नै आउन छोडे के भनु …

केटी,
हेर न, ०६१ सालको माघको महिना थियो, छुट्टी भएर घर जाने समयमा एउटा सार्वजनिक ठाँउमा ठिङ्गै उभिएको म उल्लुको नजर कसरी जुध्यो तिमीसँग थाहै भएन तर जुधेको जुध्यै रह्यो । त्यो हेराईबाट र तिम्रो दिवाना भएर पत्र लेखे । दोश्रो दिन लेखेँ, तेश्रो दिन लेखेँ, महिनौँसम्म लेख्दै रहेँ । तिमी पनि साथीलाई माध्यम बनाएर मेरो बारेमा सोधी रहन्थ्यौ नि है ? दोश्रो दिन मैले तिमीलाई गेटबाट बाहिर जाने समयमा हेर्न बिगारेछु । बिर्सिसक्यौकी क्या हो ?

पहिलो दिन नै तिमीलाई नाम सोध्नुपर्ने तर, ति चार दिनको हेराईपछि साथीको माध्यमबाट तिम्रो नाम जान्न सफल भए । अझैसम्म यस क्रेजीको सोच नै पृथक बनाई दिने त्यस अपरिचित मायालुको नाम ‘एस’ बाट आउने थियो । मानाैँ, उसको नाम सपना हो । नहोस् पनि कसरी जसको नाम सुन्दा मुटुले सोच्छ, हिँडाईको चाल थाहा पाउँछ, आँखाको कुरै नगरौँ, जसबाट हाम्रो परिचय भएको थियो ।

सुन्दरी ! त्यहि चिसोको बेला मेरो क्याम्पसका सुन्दर–पश्चिमेली साथीहरुले वनभोज आयोजना गरेका थिए । थाहा छ नि, गोदावरीको एक पार्कको रुखमुनि युगल जोडी बसेको देखेर मैले साथीको ग्रुपलाई सोध्दा ‘काठमाडौँमा यसरी अंगालो हालेर बस्नु सामान्य कुरा हो’ भनेर उत्तर तिमीबाटै आएको थियो । कुनै दिन समय मिलेमा हामी पनि यसरी नै बसौला भनेको, म बिर्सेको छैन । तर, तिमी गयौ गएनौँ थाहा भएन । मैले तिमीलाई राम्ररी चिनीसकेको थिए, किनकी पिकनिकको अघिल्लो दिन कसैको फोनमा मैले तिमीलाई बोलाएको थिए । वास्ता नै नगर्ने घमण्डीपन थियो तिमीमा । किनकी तिमीमा असाध्यै राम्री थियौ ।

जिन्दगीको अनुभव कम थियो, सिक्न सक्ने उमेर थियो तर सहयात्री पाउने लक्षण थिएन । किनकि यौवन थियो, जवानी थियो यसले जिन्दगीमा आगो लगाएर कयौँलाई मृत्युको मुखमा पुर्याएको घटनाहरु देखेकी छौ होला, कयौँ प्रेमीहरु सफल भएका छन् भने कयौँ असफल पनि छन् । तिमी बस्ने घरमा फोन गरी के गर्छ कहाँ जान्छ, भनेर घरबेटीसँग कति कुरा गरे । किन गरे, के का लागी गरे, साधारण लाग्थ्यो तर हेराईबाट दिवाना भईसकेको मलाई तिमी प्रतिको माया झन गाडा बन्दै गईसकेको थियो । पढाईको बिचमा दिनदिनैको गहिरो हेराई बाधक थियो भने तिमीले म प्रति दर्शाएको प्रतिक्रिया र मैले तिमीलाई हेरेको पल होस या फिचर्र्सको माध्यमबाट तिमीसँग गरेका कुराहरु हुन् । कहिले ईक्जामको बेला क्याम्पस गेट नेर परिक्षा ठिकै भयो भन्ने जवाफ पाउँदा मन शान्त भएको क्षण म कहिल्यै पनि बिर्सन्न तर क्याम्पसको भित्तामा कसैले मायामा धोका खाएछ क्यार, जसमा यस्तो लेखेको थियो ।

चमकते हुए चाँदको टुटाहुवा तारा वना डाला ।
मेरो दोस्तोने मुझको आवारा बनाडाला ।

यो पढे पछि मलाई त्यस्तै पीडा त खेप्नु पर्ने त हैन कि भनेर डर लागेको थियो । तर हाम्रा आँखाहरु सम्झन्थ्येकि हामी सफल हुन्छाैँ भनेर । तिम्रो बारेमा सोच्दै जाँदा डायनालाई सम्झन्थे, मदन भण्डारी, शुक्रराज शास्त्री यस्तै सद्धाम हुसेन अनि सहरको रोडपेटीमा, गल्लीगल्लीमा प्रेमवादको लोगो बनाई प्रेमवाद सफल बनाउन खोज्नेको याद आउँथ्यो । अनि तिमी संग बोल्ने शाहस नभए पनि मनमनै भोली १० बजे स्वयम्भुको टुप्पोमा भेट गरौँ भन्न चाहान्थे, र केही हरफ कविता कोर्न पनि मन लाग्थ्यो ।

कहि कतै उडे जस्तो, सिमलको भुवा यहाँ
कुन्नी कसले भगाउँछ र, मन भित्रको व्यथा यहाँ
बाँचौ भन्ने आश लाग्छ, पर्खि बस्छु आउलिन भनी,
नटुटुन है मायाजलमा, मायालुका सयौँ जुनी ।

एक दिन तिमीले शायद फूल मरेको देखि छौ क्यार, तिम्रो ओठबाट निस्केका मरेका फूल प्रतिका शब्दहरु म सम्झन त सक्दिन तर मरेको फुल पानीमा राखी बचाउन सकिन्छ कि भन्ने झिनो आशा लिएर काँचको गिलासमा पानी भरे । तर फूलको बोटबाट फूल झिकिसकेपछि गिलासमा भन्दा पूरै पानीमा राख्दा पनि बचाउन सकिन्छ होला भनेर अगाडि बढे तर पुष्पदल पानीमा तरिरहे । फूलले अन्तिमपटक मुस्कुरायो र सिध्धियो । मैले फूललाई हेरिरहे । काँडामा फुल्ने फुल त्यहि फुल्न खोज्दा कतै बाटोभरी काँडा नै काँडा छन् कि भन्ने लाग्यो र मुटुले बाटोबाट काँडा पन्छाएर हिड्न सहयोग गर्छ भन्ने लाग्यो । दोधारमा परेको यो जलिरहेको दिल सम्बोधन गर्ने शब्द नपाउँदा तड्पन्छ र अस्ताउँदै गरेको सुर्यलाई हेर्दै कल्पित नाम दिन्छ ‘उर्बशी’ ।

धेरै लेखे पत्रहरु, गन्ती गर्न सकिँदैनन्
मुटु भित्र जल्ने व्यथा, सुनाईले भरिँदैनन् ।
बस्ने ईच्छा हुँदाहुँदै, साथ छैन समयको
यति गाढा हाम्रो माया, परिचय नभएको ।

तिमी पनि मेरा बारेमा सोधीरहन्थ्यो साथीहरुलाई माध्यम बनाएर । अन्तर आत्माका भावनाहरु बुझन कसैको सोधाई र कसैको हिँडाईबाट तिमीले मलाई कसरी चिनौँ थाहै भएन । मलाई चिन्छौ ? भनेर सोध्दा चिन्छु भनेर उत्तर दिएकी थियौँ । कुनै दिन त्यो दिन पनि सायद तिम्रो दिमागमा आउँछ होला । कसैबाट छुट्नु भन्दा अगाडि मेरो एउटा बानी छ । बोल्नेलाई बोलाईबाटै बोल्न नसक्ने घमण्डीलाई तथा पढ्ने साथीलाई कलमको माध्यमबाट मनका कुराहरु सेयर गर्न चाहान्छु । बिशेष त म केटा भएकाले केटी जातीको अध्ययन गर्न म बढी उत्सुक छु ।
ए ! केटी जाती हो । अप्सरा हो, कोही तिम्रा साथीहरु गाई दुहेर बिच दैलोमा गोली लागेर मरे, कयाँ नारीहरु बिधुवा भए, बलात्कृत भए, कति टुहुरा भए । संयुक्त राष्ट्रसंघले सावधान गर्ला त ? कल्पना गर देश भित्रको भयावह स्थितिलाई यहाँका मानवलाई अनि एउटा गीतलाई सुनेर अगाडि बढ ल ।

आवाज हुनेहरु, आवाज लिएर उठ ।
कलम हुनेहरु, कलम लिएर उठ ।

हामीसँग भएको आवाज र कलमले लेखेका शब्दहरु सबैले महसुस गरिरहेका छन् तर गर्न सक्ने कार्यको लेखाजोखागर्न नसक्ने यस देशको स्थिती सुल्झाउनमा हातेमालो गर्दै अगाडि बढ्ने दम, साहस केटीजातीमा छ । तर क्याम्पसमा ०६२–०६३ को आन्दोलनमा छतमा कसैको साथ लिएर ढुंगा प्रहार गरिरहेको मैले देखेको थिए । यहि चरी जस सँगसँगै आँखाबाट परिचय भएको थियो ।

२०५८ देखि ०६०–०६५ सम्म देश रक्ताम्य भयो । त्यो समयमा तिमीलाई त्यसरी सम्झेको थिए तर २०७५ पुग्दा सम्म मैले तिमीलाई पलपल सम्झिरहेँ । तिमीले सम्झ्यौकी थाहा भएन । मेरो सपनामा कुनै दिन अझै आउने गर्छौ । अब त तिमी नारी भइसक्यौ होला कसैले तिम्रो कसैले सिउँदो भरी सक्यो होला भए पनि नेपाल भ्रमण वर्ष २०२० सुरु भईसक्यो । रानी वनको फाँटमा होमस्टे बनाउन तिर लाग । तिम्रो जिल्ला नजिक पर्ने हिमालमा यती खोज्ने साथीहरुलाई जम्मा लगाउ । जिल्लाको बिचबाट बग्ने नदिमा ¥याफ्टिङको पहल गर । जिल्लामा नभएका धार्मिक तथा ऐतिहासिक स्थलहरुको संरक्षणमा लाग ।

प्रिय, अब त शायद हाम्रो भेट, नेपाल भ्रमण वर्षले गराउने छ भन्ने आश लिएको छु । किनकी यतिबेला घुम्ने समय चलेको छ । तिम्रो आगन गुलाफ र हजारीले ढकमक्क छ भन्ने सुनेको छु । चराजस्तै बरालिरहने म यहि वर्ष टुप्लुक्क आईपुग्ने छु । जुनबेला तिम्रा र मेरा आँखाहरु कहिल्यै नछुट्टीने गरी छुट्ने छन् भन्दै क्षणिक समयका लागि बिदा ।

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्