देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

प्रिय लोकसेवा, अब त तिमी मेरी भइदेऊ!

हाम्रा बाउ अर्थात ‘गैरागाउँका साइला’ जसले सुपर पावर सूर्ति  घुटुक्क निल्दै हरेक पटक तिम्रो नाम लिइरहन्थे। जस्तो २५ वर्ष उमेर पुगेको छोराको लागि दुलहीको नाम प्रस्ताव गरे झैं। अनि हाम्री आमै अर्थात गैरागाउँकी साइँली, जसले तिम्रो नाम बिगार्ने दुस्प्रयास गर्थिन्। तर पनि तिम्रो नाम उच्चारण गर्न छाड्थिनन्। उनी पनि के कम काँचापाते तमाखुको सुल्फमा सर्काे तान्दै तिम्रो नाम बिगार्दै भन्थिन् ‘लौसेवा’। जस्तो कि उनीहरुले कुनै केटीको नाम प्रस्ताव गर्दैछन्, मेरो बिहेको लागि।

मेरा बाउ, आमा, बाजे, बज्यै र काका, काकीहरुका लागि सपना, चाहना भरोसा जे थियौँ होला, तर मेरा लागि उनीहरुले प्रयोग गरिदिएको थेगो थियौँ। पहिले त लाग्थ्यो, तिमीलाई एकदिन मैले अवश्य पाउने छु। जतिबेला म सानो थिएँ। आजसम्म पनि तिम्रो बाटो कुर्दैछु । र सुनाउँदै छु मेरो एकोहोरो प्रेम काहनी।

मेरो गाँउ अर्थात, गैरागाउँ। कक्षा आठ, नौ र एसएलसीको परिक्षा दिएपछि देश (कालापहाड) जानेहरु लहरै लाग्थे। यदि कोही मर्द देश नगएको होला त त्यो म थिएँ। म तिम्रै कारण कालापहाड जानबाट बञ्चित पनि भएँ। गाउँमा मलाई पटकपटक सुनाउथे, ‘देश नगएको छोरा पनि के ‘मर्द‘?’ र म तिम्रै कारण गाउँको कथित ‘मर्द‘ हुनबाट बञ्चित भएँ। गाउँका सयौं छाेराहरुमध्ये अपवाद अर्थात नामर्द भएँ।

थाहा छ प्रिय ? म ‘नामर्द‘ हुनमा चित्त बुझाउने एउटा मार्ग थियो। जो तिमीलाई पाउनु अर्थात लोकसेवा पास गरेर सरकारी जागिरे हुनु। र गाउँमै ‘लौसेवा’ पास गर्ने पहिलो बन्नु।

बाउ ले हात थरथर कमाउँदै दिएको धैँसो लागेको पाँच सय रुपैयाँले किनेका पुस्तकहरु जुन अहिले धैँसो लागेरै पुराना भएका छन्। ठाउँ–ठाउँमा च्यातिएका छन्। जसरी तिमीलाई नपाउँदा मेरो मन छियाछिया भएको छ। र लाग्छ मेरा बाआमाका हात खुट्टामा धर्साहरु जति देखिन्छन्, त्योभन्दा उनीहरुको हृदयमा प्रतिक्षाका धर्सा र चोटहरु छन्।

र म भने अझै तिम्रै प्रतिक्षमा छु। आमैले उपचार नगरेर बचाएको पैसाले तिम्रो लागि लभलेटर अर्थात प्रेम प्रस्ताव पत्र लेख्न किनेका कापीहरु अहिले बेरोजगार थुप्रिएर बसेका छन्। जसरी म तिम्रो प्रतिक्षामा बसेको छु।

स्कुल पढ्दा कक्षामा प्रथम हुने म तिम्रो आशमा तड्पिरहेको छु। दोस्रो हुने साथी शेरे एनजीओमा काम गर्छ। उसको जिन्दगी जिउने स्टाइल नै फरक छ। पैसा पनि राम्रै कमाउँछ। तेस्रो हुने साथी हर्के मिडियामा काम गर्छ। मरो स्टोरी लेख्ने भएको छ। पैसा पनि कमाउँछ। इज्जत पनि राम्रै छ। नेताहरुसँग राम्रो चिनजान छ भन्छ। चौंथो हुने साथी कोरिया गएर फर्किसक्यो, सहरमा आँखाले हेर्नै हम्मे हुने घर बनाएको छ।

प्रिय लोकसेवा, राती तिन बजे घट्टेखोलामा हाम्री आमैले तिम्रो कुरा गर्दै भनेको हिजो झैं लाग्छ। वर्ष गन्दा धेरै वर्ष पुगेछन्। प्रौढ शिक्षालाई ‘परोट शिक्षा’ भन्ने हाम्री आमैले त्यही प्रौढ शिक्षाका कारण तिमीलाई लौसेवा भन्थिन्। तिम्रो नाम लिँदै भन्थिन्, ‘बावु, लौसेवामा जागिर खाएपछि हाम्रा दुःख मेटिन्छन्, सुखले बसौँला, तैले पैसा कमाउँछस् यस्तरी दौडनु पर्दैन्। राम्रोसँग पढ बाबु।’

असारमा भीरबाट घाँस दाउरा गरेर पानीले भिजेर आउँदा पनि हाम्रा बाउले उस्… गर्थे। र तिम्रै नाम लिन्थे। अनि त्यसपछि मलाई तिम्रो नसा लागेको थियो। मेरो सपना त्यसपछि तिमी बनेको थियौँ।

प्रिय, मैले तिमिलाई पाउन परिक्षाको नाममा पहिलो प्रेमपत्र लेखेको आज ठ्याक्कै बाह्र वर्ष पुगेछ। त्योसँगै बाउले रुपैडिया (भारत) बाट ल्याइदिएका डटपेन र लालि गुराँस कापी दर्जनौं पुगेछन्। काकाले सहरबाट ल्याइदिएका तिम्रो लागि तयारी गर्ने पुस्तकहरु पनि यहाँ बुढा भएका छन्। अनि ति पुस्तकहरु पिंजडाको चरीजस्तै मेरो बाजेले भारतको हरिद्वारबाट ल्याएको धैँसो लागेको बाकसमा बेखबर बसिरहेका छन्। जसरी म तिम्रो प्रतिक्षाको पिंजडामा जीवन व्यतित गरिरहेको छु।

स्कुल पढ्दा कक्षामा प्रथम हुने म तिम्रो आशमा तड्पिरहेको छु। दोस्रो हुने साथी शेरे एनजीओमा काम गर्छ। उसको जिन्दगी जिउने स्टाइल नै फरक छ। पैसा पनि राम्रै कमाउँछ। तेस्रो हुने साथी हर्के मिडियामा काम गर्छ। मरो स्टोरी लेख्ने भएको छ। पैसा पनि कमाउँछ। इज्जत पनि राम्रै छ। नेताहरुसँग राम्रो चिनजान छ भन्छ। चौंथो हुने साथी कोरिया गएर फर्किसक्यो, सहरमा आँखाले हेर्नै हम्मे हुने घर बनाएको छ। पाँचौँ हुने साथी मलेसिया गएर फर्किएको छ। पारीडाँडा बजारमा पसल गर्छ। अनि छैठाैँ हुने परघरको श्यामे अहिले वडाअध्यक्ष बनेको छ। चिल्लो गाडिमा सरर… धुलो उडाउँदै हिँड्छ। गाउँका सबैले उसलाई नमस्कार गर्छन्। सबैलाई थर्काउँछ। मसँग त आजकल राम्रोसँग बोल्दैन।

प्रिय, म अझै पनि तिम्रो पर्खाइमै छु। मेरो पारीगाउँले अझैपनि वडा अध्यक्ष हुने श्यामे र कोरियाबाट फर्केको हर्केलगायत सबैका कुरा काट्छन्। सँगसँगै मेरा कुरा पनि मिसिन्छन् मात्र तिमीलाई पाउन सकेन भनेर। पैसा त सबैले कमाउँछन् तर तिमीलाई पाउनेहरुलाई मात्र समाजले किन ठुलो मान्छे ठान्छ? उनीहरुका परिवारले पनि भन्छन् रे पैसा कमाएर मात्रै भएन, लोकसेवाको जागिर खान सक्नुपर्‍याे।

प्रिय लोकसेवा, मैले रेडियोमा दैनिकजसो सरकारी कर्मचारी भ्रष्टाचारमा मुछिएको समाचार सुन्छु। तर यो समाजले किन त्यो सुन्दैन?

लाखौँ मजस्ता तिमी अर्थात लोकसेवा पीडितहरु परीक्षा नामको प्रेमपत्र पटकपटक दिइरहेका छौँ। बाउले कालापहाड गएर भारी बोकेर ल्याएको हजारौ रुपैयाँ गन्तिमा छैनन्। बाह्र सयको मोबाइलमा पचास रुपियाँको रिचार्ज हाल्न लोभ मानेर बचाएकाकी हाम्री आमैले काली भैंसी बेचेर कमाएका पेसा त के कुरा। आमैले नयाँ लुगा किन्न लोभ गरेर बचाएको पैसाले तिमीलाई पाउन किनेका ति कापीहरु मूल्य बढेर दुई गुणा महँगा भइसके। जसरी तिम्रो भाउ बढेर महँगी भएकी छौँ। समय परिवर्तनसँगै सबैको भाउ बढिरहेको छ र केवल मेरो स्वार्थ उही छ र मेरो परिवारको स्वार्थ उही।

पहिलोपल्ट किन्दा पाँच सयमा किनेका पुस्तक पन्ध्र सय मूल्य बराबरका भइसकेछन् । दुई रुपैयाँमा पाइने डटपेनको लिट पाँच रुपियाँका भइसकेछन्। पारीघरका काकाबाट प्रतिमहिना एक रुपियाँमा लिने ऋणको ब्याज अचेल प्रतिमहिना चार रुपियाँ भइसक्यो। प्रिय लोकसेवा, अब त तिमी मेरो भइदेऊ।

सहरमा भाडामा बस्ने कोठाको भाडा रकम पन्ध्र सयबाट पैतिस सयमा पुगिसक्यो। ग्याँसको मूल्य एक हजारबाट पन्ध्र सय पुग्यो। आमैलाई औषधि खुवाउने पैसा पनि धेरै चाहिन थाल्याे। अनि २० वर्षदेखि तिम्रो पछि लागेको म तीन दशकभन्दा बढी उमेरको भइसकेँ। चिल्ला गाला हुँदादेखि तिम्रो पछि लागेको म अहिले दारीजुगाँ फुल्ने बेला भइसक्यो। अनि गाउँमा कुरा काट्न थाले मेरो र ‘बुढोकन्य’ भन्न थाले। र भन्न थाले गाउँलेले यो अब केही गरिखान सक्दैन। यो ‘बिक्दैन’।

प्रिय लोकसेवा, अव त तिमि मेरो भइदेऊ।

लक्ष्मीप्रसाद पौडेल (अनुरागी)
चामुण्डाविन्द्रासैनी दैलेख ।
हाल वीरेन्द्रनगर सुर्खेत ।

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्