देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

म ढिकीमा पिठो कुट्नेछु, तिमी रहरलाग्दा सेल पकाउनेछौ

प्रिय, म तिमीलाई प्रेम प्रस्ताव राख्न झिसमिस्सेमा तिम्रो घरको मझेरीमा पाइला टेकेको तिमीलाई थाहै भएन। घामको किरणले तिमीलाई स्पर्श गर्नु भन्दाअघि तिम्रो आँखाको नानीमा मेरो चित्र प्रतिबिम्बित गर्न चाहन्थेँ अनि शुभप्रभातसँगै प्रेम प्रस्ताव राख्न चाहन्थेँ। तिमीलाई बिहानको ६ बजेसम्म तिम्रो घरको वरिपरि नदेख्दा मन अलिकति आत्तिएको थियो। घर पछाडिको गोठमा गाईवस्तु ड्वाँड्वाँ, म्याँम्याँ गरेर पालैपालो कराउँदा पनि तिमीलाई निद्राले छाडेन। कति प्रिय निन्द्रा तिम्रो, शायद म निन्द्रा भइदिए तिमी मसँगै हुन्थ्यौ। घामले तिमीलाई स्पर्श गर्नुपूर्व हेर्ने मेरो अभिलाषाहरु आज पनि अतृप्त नै हुने भए। अब केवल तिम्रो प्रतिक्षामा बित्ने भयो यो प्रेमिल शुभप्रभात। मन थोरै आत्तिनु स्वभाविक नै थियो, किनभने मान्छे आफ्नो लक्ष्यको नजिक पुग्दा आत्तिनु स्वभाविक नै हो जस्तो लाग्छ मलाई, मेरो केवल एक मात्र लक्ष्य तिमी थियौ।

तिम्रा बा, मेरा हुनेवाला ससुरा घरको मुलढोका देखि दायाँपटि पिँढीमा बसेर मस्तसँग बिँडीको धुवाँ उडाउँदै हुनु हुन्थ्यो। केवल यो दृश्य मात्र देखिन थाल्यो तिम्रो घरको। घरको धुरीबाट धुवाँ उड्न थालेकाले मेरा आशाहरु पनि खुशीले तरंगित हुन थाले, फेरि सोच्दैछु कति भाग्यमानी ती दाउरा अनि चियाका कित्ली जसमा तिम्रा कोमल हातका स्पर्श थिए। शायद आगोको राप नि बिर्सियो होला त्यो कित्लीले तिम्रो सामिप्य र कोमल स्पर्शले। कति भाग्यमानी ती कित्ली अनि दाउरा। तिमीलाई देख्ने अभिलाषा आज पनि अभिलाषा मात्र नै हुने भयो भन्ने लागेको थियो तर खुसी त्यति बेला लाग्यो, जब तिम्रो बाले ‘ए कान्छी, धेरै धुवाँ भयो, यो आँगनको सुकेका दाउरा लैजा’ भनेर आँगनमा डाक्नु भयो।

आँगन नजिकै गोठ थियो, अनि गोठ नजिकै एक कुनामा दाउराको बिटाको चाङ बनाएर राखिएको। म तिम्रै छिमेकीको घरमा छु, तिम्रो प्रतीक्षामा। मेरो खोटो भाग्य भनौँ या ती चिसा दाउरा तिम्रा प्रेममा परे, किन हो, धुँवा पटक्कै आउन छाडे। तिमीलाई हेर्ने आशाका दियो फेरि एकपल्ट निभ्यो तर आशा मरेन र मर्ने पनि छैन। घरमा फेरि एक्कासी गाइँगुइँ आवाज सुनिन थाल्यो। म अचम्ममा परेँ- अघिसम्म शान्त वातावरण एक्कासी किन गाइँगुइँ। ढिकी कुटेजस्तो आवाज नि बिस्तारै आउन थाल्यो। यसो छिमेकीको घरबाट कोल्टिएर हेर्दा तिमी र तिम्रो आमालाई ढिकी कुट्दै गरेको देखेँ, आखिरमा तिमीलाई देख्ने अभिलाषा पूरा भएरै छाड्यो।

सानो स्वरमा गाइँगुइँ, गनगन गरेजस्तो आवाज सुनिन्छ तर कुरा भने प्रस्टसँग बुझिँदैन। तिम्रा बाको बिँडीको खिली सकिएजस्तो लाग्यो, तिम्रा बा खोक्दै गोठतिर लाग्नुभयो। मन त थियो नि बा बिँडी ल्याइदिउँ भन्ने तर कुन नाताले भन्नु, तिमी भन त।

तिम्रा बा बाख्राको खोरबाट बाख्रा बाहिर निकालेर खोले दिन म भएतिर नै आउनुभयो। म छिमेकीको आँगनको बलेँसीमा घाम तापेर केवल तिमीलाई नियालिरहेको थिएँ। बाले बाख्रालाई स्याउला दिनलाई आफूसँगै च्यापेर ल्याउनुभयो। मन त थियो, ए बा म अल्झाइदिन्छु टाटनामा, तर कुन नाताले भनौँ, तिमी आफैँ भन। तिम्रा घरका हरेक निर्जिव र सजीव प्राणीसग प्रेम स्वत: छछल्किरहेथ्यो, सायद यही नै प्रेम हो कि।

मलाई तिम्रा घरका सबै गाईबाख्रा ड्वाँड्वाँ गरेर कराएको आवाज पनि कर्णप्रिय लाग्न थालेको थियो। कति पनि दिक्क नलागी। सायद यही नै माया थियो कि। यो दृष्टिविहीन मायाजस्तो लाग्ला तिमीलाई, तर म शून्य भइसकेको थिएँ तिम्रो मायामा। मैलै आफूलाई जानिनजानी शून्य बनाएछु। किनभने मेरो भित्री मनको अचेत मनको अन्तस्करणलाई नि थाहा होला कि हरेक अंकगणित शून्यबाट शुरु हुन्छ तर मेरा लागि तिमी अंकगणित भने हौइनौँ। केवल नयाँ जीवनको शून्य शुरुवात मात्र।

प्रिय, मेरो दाँतमा ढुंगा त्यति बेला लाग्यो जब तिम्रो बाले एक्कासी झर्किँदै भन्नुभयोः अज्जै सकिएन्, जाबो दुई माना चामल ढिकीमा कुटेर, पुरेत काठा त बिहानै आउँछु भनेका छन् नि। फेरि यो श्राद्ध सकेर काठालाई कतितिर टपरी सोरुम्ला भन्ने होला।

तिमी कतिपटक यस्ता घटनाका सामना गरेर पनि बाटोमा देख्दा कति उज्यालो देख्थेँ म तिम्रो अनुहार। धन्य तिमी। झन् तिमीप्रति अथाह प्रेम जागेर आयो।

मलाई नै भनेजस्तो लाग्यो किनभने तिमीमा म समर्पित भइसकेको थिएँ। अलिकति रिस पनि उठेको थियो तर फेरि सोचेँ- तिम्रो बुबा हो, पक्कै तिम्रै खातिर भन्नु भएको हो। म तिम्रो प्रेममा यति समर्पित भइसकेको थिएँ- तिमीसँग जोडिएका हरेक परिदृश्यप्रति नतमस्तक भएर सकारात्मकतामात्र खोजिरहेथेँ। फेरि तिम्रो बुबाको एक वाक्यांशलाई लिएर नराम्रो सोच्दा तिमीलाई पनि त नराम्रो लाग्थ्यो नि, होइन त प्यारी। तिम्रो घरबाट सेल पकाएको सुवास मेरो नाकले ज्यादै मज्जाका साथ लिएको थियो। कति भाग्यमानी म। सेल मलाई औधी मनपर्ने। त्यही पनि तिमीले बनाएको।

मैले धेरैबाट सुनेको छु। अनि देखेको पनि छु। अहिलेका केटीहरुलाई विवाहपछि ओछ्यानमा नै चिया पुर्‍याउनुपर्छ। अनि विवाहपछि यस्तो-उस्तो हुन्छ भन्ने सुनेका कुरा सबै तिमीले पकाएको सेल रोटीको सुगन्धले गलत साबित गर्‍यो अनि झन् प्रेम बढेर आयो। आजको सेल पकाउँदा र मसँग हुँदा पकाएको सेलमा यति फरक हुनेछ। म ढिकीमा पिठो कुट्ने छु, अनि तिमीले पकाएको पहिलो सेल मिठो मानी चाख्ने म हुनेछु।

म छाँगाबाट त त्यत्तिबेला खसेँ जब तिमीलाई तिम्रो आमाले झर्किँदै यसो भनेको सुनेँ- अझै ढंग आएन नि सेल पकाउने तिमेरको। जा तल्ला घरे जन्तरीलाई सेल पकाउन डाक।

यी वाक्यांशले झन् मन कटक्कै खायो- फेरि कति अर्कालाई गुवार्नु हौ, यसो आफू नि सिक न कहिलेकाहिँ त। तेरोमा रोटी पकाउन आएपछि अनि उसको मेलापात, घरधन्दा चाहिँ तेरा बाजेले गर्दिन्छन्। भन्न पनि अप्ठेरो पो लाग्छ, भरे भ्याउँदिन भनी भने लाजैमर्दो।

तिमीले सहेका गालीले किन हो किन मलाई गाह्रो भएको थियो। म गर्न केही सक्दिन थिएँ, केवल म त पराई बटुवाजस्तै थिएँ तिम्रा लागि। तिमीलाई म मन पराउँछु भन्ने न त व्यक्त गरेको थिएँ, न त तिमीले बुझेकी थियौ। मेरो घरको बाटो तिमी आउने समय मेरा मानसपटलमा अझै पनि ताजै छ, तिमीले प्रत्येक दिन लगाएका एकएक लुगाका रंग, अनि तिमी बाटोमा हिँड्दाको सुवासले म सधैँ ताजा हुन्थेँ। धेरै भएको थियो तिमीले त्यो बाटो हिँड्न छोडेको, आज तिम्रो घरको ठेगाना पछ्याउँदै तिम्रो आँगनसम्म आइपुगेको थिएँ तर केवल एक झलक तिमीलाई हेरेर अनि तिमीलाई गरिएको गाली सुनेर मन भारी पारेर घर फर्केँ।

मलाई पछि थाहा भयौ- तिमी सौतेनी आमाको टोकेसोको शिकारमा परेकी रहेछौ। त्यो कथा मैले तिम्रो छिमेकीको मुखबाट सुन्दा मैले आफूलाई सम्हाल्न धेरै गाह्रो भएको थियो। अनि तिमीलाई सम्झेँ। तिमी कतिपटक यस्ता घटनाका सामना गरेर पनि बाटोमा देख्दा कति उज्यालो देख्थेँ म तिम्रो अनुहार। धन्य तिमी। झन् तिमीप्रति अथाह प्रेम जागेर आयो। फेरि तिमीलाई लाग्ला, तिम्रा दुःख देखेर ममा करुणा जागेको, त्यो भने होइन। तिमीलाई त म तिम्रो नाम थाहा हुनुअघि देखिनै प्रेम गर्थेँ र अझै गरिरहने छु।

आज मैले आफ्ना भावना तिम्रा हत्केलामा पस्केको छु। आशा छ, त्यो हत्केलाको अन्जुली मुठी पारेर तिम्रो मायाको ढिकुटीमा जतन गर्ने छौ। केही तिम्रा नितान्त व्यक्तिगत कुरा व्यक्त गरेँ यस पत्रमा, त्यसलाई अन्यथा नसोच। केवल तिम्रा प्रेममा व्यक्त भएका मनका तरंग मात्र हुन् यी। अनि नितान्त प्रेम सम्झेर मेरा अन्जानका केही गल्तीलाई माफ गर्ने छौ भन्ने आशा राखेको छु।

तिम्रो पत्रको प्रतीक्षामा ।

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्