फाटाे फिचर

बुटवलमा प्रदेश स्थापनाको तामझाम, ३५ जनाले पाए पदक

प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेल। तस्बिर: सी.पी. खनाल/ देश सञ्चार।

बुटवल– प्रदेश ५ सरकारले ३५ जनालाई पदकले सम्मान गरेको छ। प्रदेशमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका व्यक्तिलाई ११ प्रकारका पदकबाट सम्मान गरिएको हो।प्रदेश स्थापना दिवसका अवसरमा बुटवलमा आयोजित कार्यक्रममा प्रदेश ५ का प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेलले पदकले सम्मान गरे। पदक पाउनेहरुमा क्रिकेट खेलाडी सोमपाल कामीदेखि लुम्बिनीमा हत्या गरिएका जापानका भिक्षु नावातामे रहेका छन्।लुम्बिनीको विकासमा योगदान पुर्‍याएका र लुम्बिनीमा शान्ति स्तूपा बनाउँदै गर्दा हत्या गरिएका जापानी भिक्षु नावातामेलाई बुद्ध शान्तिपदक (मरणोपरान्त) दिइएको छ।त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम पदक साहित्यकार मोदनाथ प्रश्रित, प्रदेश प्रमुख जनसेवा पदक द्वितीय पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुक (मरणोपरान्त) र प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न योगदान गरेका प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई दिइएको छ।संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरे वापत दाङका भगौता थारुलाई प्रदेश प्रमुख जनसेवा पदक तृतीय तथा पूर्वी रुकुमका सूर्यप्रकाश पुन र परम्परा गौतम श्रीमान‍्–श्रीमतीलाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा तृतीयले सम्मान गरिएको छ। प्रदेशको विकासमा योगदान गरेको भन्दै दाङका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक प्रथमले सम्मान गरिएको छ।प्रदेशको पहिलो प्रमुख सचिवको रुपमा काम गरेका डा. तीर्थ ढकाललाई प्रदेश सेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रुपमा काम गरेका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण पदक द्वितीयले सम्मान गरिएको छ।पत्रकारितामा योगदान गरेका दाङका नारायणप्रसाद शर्मालाई समाजसेवाश्री प्रथम, गुल्मीका शमशेरबहादुर खत्री (मरणोपरान्त) समाजसेवाश्री द्वितीय, संस्कृत शिक्षा विकासको क्षेत्रमा विशिष्ट योगदान गरेकी दाङकी हिमा उपाध्याय (मरणोपरान्त) र प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेको भन्दै बाँकेका अशोककुमार क्षेत्रीलाई दिइएको छ।त्यसैगरी समाजसेवाश्री पदक तेश्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा. लेखराज सुवेदी, समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान गरेका पाल्पाका घण्टप्रसाद अर्याल, स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान गरेका गौतमबुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमलाई सम्मान गरिएको छ।थारु भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई प्रदेश रत्न द्वितीय (मरणोपरान्त), कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रुपन्देहीका सीपी शर्मा र शशीधर पौडेल प्रदेश रत्न द्वितीयबाट सम्मानित भए।त्यसैगरी प्रदेश रत्न तृतीय पदकबाट भाषा साहित्यतर्फबाट कपिलवस्तुका डा. विष्णुराज आत्रेय, चित्रकला र मूर्तिकला क्षेत्रबाट रुपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रबाट अर्घाखाँचीका बुद्धिबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गरेकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेका गुल्मीका सोमपाल कामीलाई सम्मान गरिएको छ।यसैगरी पुथाश्री शिखर द्वितीय पदक पर्यटन क्षेत्रमा योगदान गरेका बाँकेका कृष्णलाल चौधरीलाई सम्मान गरिएको छ भने प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी वाणिज्य क्याम्पस बुटवल र प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक विद्यालय गुल्मी विभुषित भएका छन्।प्रजापति गौतमी तृतीयबाट महिला सशक्तिकरणको क्षेत्रबाट दाङकी पिमकुमारी गिरी र रोल्पाकी भागिरथी घर्तीलाई सम्मान गरिएको छ। दङ्गीशरण बलिहाङ प्रथमबाट थारु भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका सगुनलाल चौधरी (बेपत्ता), दङ्गीशरण बलिहाङ द्वितीयबाट मगर भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका जितबहादुर थापा मगर (मरणोपरान्त) सम्मान गरिएको छ।त्यसैगरी दङ्गीशरण बलिहाङ तृतीयबाट थारु भाषा प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेका बर्दियाका एकराज चौधरी, उर्दु भाषाको क्षेत्रमा उल्लेख्य योगदान गरेका बाँकेका अब्दुल लतिफ सौफ र अवधि भाषा साहित्यमा योगदान गरेको भन्दै नवलपरासीका कौशलेन्द्र श्रीवास्तवलाई दिइएको छ। यस्तै राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीलाई पनि नगदसहित सम्मान गरिएको छ।

कानुन नबन्दा प्रदेशलाई कठिनाई: मुख्यमन्त्री


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले साझा सूचीका कानुन नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताएका छन्।उनले संघलाई साझा सूचीका कानूनहरू निर्माणलाई प्राथामिकता दिन आग्रह गरे। प्रदेश ५ को दोस्रो स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘साझा सूचीका कानुन संघले बनाउन ढिलो गर्दा केही कठिनाई उत्पन्न भएका छन्, हामी साझा सूचीका कानुनको पर्खाईमा छौँ। आशा छ, यसै अधिवेशनबाट ती कानुनहरू बन्नेछन्।’प्रदेश सरकार कानुन निर्माण र बजेट परिचालनको दृष्टिले पहिलो भएको भएपनि साझा सूचीका कानुन र केन्द्रका जिम्मेवारीका केही काम समयमा सम्पादन नहुँदा प्रदेशका कानून निर्माणमा कठिनाई भएको उनले बताए। मुख्यमन्त्रीले शून्य अवस्थाबाट अगाडि बढको प्रदेश दुई वर्षको अवधिमा आइपुग्दा सन्तोषजनक अवस्था रहेको भएपनि अझै धेरै काम बाँकी रहेको बताए। पोखरेलले अझै पूरा गर्नुपर्ने दायित्व आफूहरु माझ रहेकोले ती दायित्व पूरा गर्न थुप्रै जटिलता रहेको बताए।मुख्यमन्त्रीले वैशाखमा आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानीको ढोका खोल्ने विश्वास व्यक्त गर्दै कपिलवस्तुमा नयाँ औद्य‌ाेगिक क्षेत्र बनाउन सकिने सम्भावना देखिएको र प्रदेशमा थप तीन वटा औधोगिक क्षेत्र बनाउने योजना प्रदेश सरकारको रहेको बताए।‘हामी औद्योगिक क्षेत्रहरुको विकास र विस्तार गर्ने काममा लागेका छौँ। केन्द्र सरकारले जग्गा दिएमा उद्योग स्थापना गर्नका लागि आवश्यक पुर्वाधार बनाउने तर्फ लागेका छौँ’, मुख्यमन्त्रीले भने। मुख्यमन्त्रीले लुम्बिनी र लुम्बिनीसँग जोडिएका सम्पदाहरुको विकासमा प्रदेश सरकार निरन्तर सक्रिय रहने बताए ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलको योजनावद्ध विकास आफूहरु जुटेको बताए। उनले प्रदेश सरकारसँग बुटवल उपमहानगरपालिका सहकार्य गरेर अगाडि बढ्ने बताए।कार्यक्रम अघि बुटवलको राजमार्ग चौराहबाट बाजागाजासहित विभिन्न जातजाति र समुदायले झाँकी प्रर्दशन गरेका थिए। र्‍यालीमा प्रदेशका मन्त्रीहरु, सभामुख, उपसभामुख, मन्त्रालयहरुका कर्मचारी, नेपाल प्रहरी, सर्वसाधारण लगायत सयौंको संख्यामा सहभागिता रहेको थियो। र्‍यालीमा विभिन्न जातजाति र समुदायका झाँकी, पञ्चेबाजा, भजनकृतन, लाखे नाच, मयूर नाच समेत प्रदर्शन गरिएको थियो।  सबै तस्बिर: सी.पी. खनाल/देश सञ्चार। 

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्