देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

तिम्रो मोबाइलमा भएको मेरो तस्बिर तिमीसँग बोल्छ कि बोल्दैन?

…………………………………।

तिमीलाई यो पत्र लेख्दै गर्दा म अव्यक्त भएँ। र, तिमीलाई लेखिएको यो पत्रको सुरुमै खाली ठाउँ बस्यो। के लेखौँ? कसरी सुरु गरौँ? अहँ मैले तिमीलाई केही लेख्नै सकिन । सरी ल !

आफ्नो प्यारो मान्छेलाई पत्र लेख्दै गर्दा मसँग शब्द धेरै भएर उकुसमुकुस भए या शब्दहरु हराए ? म ठ्याक्कै भन्न सक्दिन । तर, म अव्यक्त भएँ । म केही बोल्न नै सकिन । म मौन बसेँ ।

तर तिमीलाई थाहा छ र मलाई पनि । यो फगत एउटा पत्र मात्र होइन । यो त एउटा राजमार्ग हो जुन राजमार्ग भएर मेरो मन तिमीसम्म र तिम्रो मन मसम्म यात्रा गर्दछ । यो त राजमार्ग पो हो ।

यही राजमार्ग भएर तिमीसम्म आएको छ मेरो मन, होइन होइन तिम्रो मन । मेरो मन तिम्रै त हो नि । तिम्रो मन तिमीसम्म पुग्न किन चाहियो शब्द ? किन चाहियो अक्षर ? र किन चाहियो भूमिका ? किन चाहियो औपचारिकता र किन चाहियो अनेकौं माध्यम ? म पत्र लेख्न बस्दै गर्दा मेरो मन तिमीसम्म पुगिसकेछ । म रित्तिइसकेछु । रित्तो मनले कसरी लेखौं र प्रेम पत्र ? मैले तिमीलाई सम्झेर केही लेख्नै सकिन ।

अचेल मैले झ्याल खुल्लै राख्न थालेको छु । ढुक्क छु तिमीले पनि त्यसै गरेकी छौं । तिमीलाई थाहा छ ? तिम्रो स्पर्ष गरेको हावा सिधै मेरो झ्यालबाट भित्रपट्टि पोखिन्छ । अनि मेरो स्पर्ष बोकेर कुद्छ तिमीतिर ।

मैले धेरै प्रयास गरेँ केही लेख्नलाई तर चाहेर पनि केही लेख्नै सकिन, शब्दहरु नै आएनन् । तर मलाई विश्वास छ, मोबाइलको फिंगरप्रिन्ट सेन्सरले जस्तै गरी यो अलिखित पत्र तिमीले बुझ्न सक्छौ । र यो पनि विश्वास छ, यो पत्र मात्र तिमीले बुझ्नेछौ ।

पत्र मात्र कहाँ हो र ? भेटमै पनि तिम्रो र मेरो बीचमा मौन सम्बाद हुन्थ्यो नि होइन र ? तिमी पनि बोल्दिन थियौ र म पनि । बरु तिमी तिम्रो मन मेरो सामुन्ने पोखिदिन्थ्यौ, म मेरो मन तिमीलाई सुम्पिन्थे।

हाम्रा मनहरुको बीचमा केही भावना हुन्थे । केही सम्वाद हुन्थे मन मनको बीचमा । केही गुनासाहरु पनि हुन्थे मनहरुको बीचमा । अनि… अनि केही समर्पणहरु पनि हुन्थे । तिमी र म मौन बसेर हेरिरहन्थ्यौं मनहरुको त्यो मौन सम्बाद । मनहरुको त्यो मौन क्रियाकलाप ।

अझै सम्झनामा ताजै छ त्यो पल ।

०००

म जति लेख्न खोज्छु तर अहँ केही लेख्नै सकिरहेको छैन । केही महिना मात्र भयो प्रत्यक्ष भेट नभएको । यो त पात्रोले भनेको हो । तर यस्तो लाग्छ भेट नभएको दशकौं भइसक्यो । मलाई थाहा छ तिमीलाई पनि त्यस्तै भनिरहेको छ । किनकि तिम्रो मन मसँग छ । अनि मेरो मन तिमीसँग ।

सूचना र प्रविधिले त हामीलाई जोडेकै छ । विश्वलाई एउटा साँघुरो घरमा रुपान्तरित गरिदिएको छ, सूचना प्रविधिले । दुनियाँभरका मान्छेसँग अहिलेको अहिले प्रत्यक्ष कुराकानी गर्न सक्ने बनाएको छ । संसारलाई नजिक्याएको छ ।

यो त सब भन्ने कुरा मात्र त रहेछ नि ।

यो वास्तविकता कदापि होइन । वास्तविकता यो हो कि तिम्रो र मेरो मनको दुरी नै नभए पनि तिमी र बस्ने ठाउँको दुरी भने करिब १०० किलोमिटर छ । र यो वास्तविकतालाई न विकासले कम गर्न सक्यो न सूचना प्रविधिले । तिमी त्यहीँ छौं, अनि म यहीँ छु । र वास्तविकता यही हो ।

अचेल केही दिन भयो मेरो मन र मस्तिस्कको चर्काे अन्तसंघर्ष चलिरहेको छ । यिनीहरुको अन्तर्संघर्षको चेपुवामा छु म । मन् भन्छ तिमी यहीँ छौ, मस्तिस्क भन्छ होइन तिमी यहाँ छैनौं । म कसको कुरा पत्याउँ कसको कुरा नपत्याउँ ? बिलख बन्धनमा छु । तिमी नै भनिदेऊ त्यसबखत तिमी यहाँ हुन्थ्यौ कि त्यहाँ ?

अचेल मैले झ्याल खुल्लै राख्न थालेको छु । ढुक्क छु तिमीले पनि त्यसै गरेकी छौं । तिमीलाई थाहा छ ? तिम्रो स्पर्ष गरेको हावा सिधै मेरो झ्यालबाट भित्रपट्टि पोखिन्छ । अनि मेरो स्पर्ष बोकेर कुद्छ तिमीतिर । यो फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालले गर्न नसक्ने काम गरिरहेछ हावाले ।

त्यसैले अचेल मलाई साँझपख सिरसिर चल्ने हावा एकदमै मन पर्छ । मेरो स्पर्ष बोकेको हावा तिमी भएको ठाउँमा आएपछि हाम्रो प्रेमको तर्फबाट विशेष धन्यवाद दिनु है !

०००

प्यारो मान्छे ।

भेट नभएको त धेरै भएको छैन । तर सम्झना कति धेरै आउँछ, त्यो भन्नै सक्दिँन । मलाई तिम्रो धेरै सम्झना आउँछ भन्दा जति बुझ्छ्यौ नि हो त्यो भन्दा पनि धेरै सम्झना आउँछ ।

मलाई तिम्रो सम्झनाले सताउँदा म पहिले तिमी बसेको मन छाम्छु । अनि तिमी मेरै वरिपरि छौ जस्तो लाग्छ । तिमी नै भनिदेऊ त तिमी त्यतिबेला मेरै वरिपरि हुन्थ्यौ कि पर हुन्थ्यौ ?

हेर न ! मलाई कति धेरै घुर्क्याउँछ मोबाइलमा सेभ गरेको तिम्रो तस्बिर ! जति बोलाउन खोज्छु अहँ बोल्नै मान्दैन । बोल्दै बोल्दैन । तर, म त बोल्छु । म एक्लै बोलिरहन्छु तिम्रो त्यो तस्बिरसँग ।

भन त ! तिम्रो मोबाइलमा भएको मेरो तस्बिर तिमीसँग बोल्छ कि बोल्दैन ?

०००

तिमीले आउँछु भनेको समय पनि आउनै लागेको छ । तिमी जस्तै म पनि त्यही दिनको पर्खाइमा छु । र, तिमी लिएर आउने त्यो दिनलाई स्वागत गर्न अति आतुर भएको छु ।

तिमी आएपछिको भेटमा हामी पुनःमौन बसेर हाम्रा मनहरुको मौन सम्बाद फेरि एकपटक अघाउँजी हेर्ने रहर छ ।

तिमी पनि मञ्जुर छौ नि होइन ?

आफ्नो ख्याल गर्नू, आफ्नो मनको ख्याल गर्नू ।

उही
तिम्रो विनोद

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्