देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

मेरा लागि तिमी र भगवान् उस्तै हो आमा

ज्ञान हौ तिमी, विज्ञान हौ तिमी,
हरेक मुटुको धड्कन हौ तिमी,
मेरो ज्यान अनि तड्पन हौ तिमी,

आमा! म तिमीलाई के भनुँ, जुन तिमीले गुमाएकी छौ तिम्री छोरी, हेर न आमा अहिले कति ठूली भइसकी तिम्री छोरी झगडालु अनि रुन्ची भन्थेउ होला। कहिले ठूली होली अनि मेरो हरेक कुरामा सहयोग गर्ली, थाहा छ आमा अरुले कुरा गरेको सुनेँ- जुन दिन मेरो जन्म भएको थियो नि त्यो दिन तिमी कति खुसी थियौ रे, सम्झियौ होला नि आमा! फेरि अर्को आमा जन्माएँ भनेर अनि त खुसी थियौ। अरु बाहिर आँगनीमा बसेर रुँदै थिए रे अल्छिनाले फेरि छोरी जन्माई भन्दै। मेरो दिदी जन्मिँदा जति दुःख पाएकी थियौ नि, त्योभन्दा बढी दुःख पाएकी थियौ रे, सुन्दा नराम्रो लाग्छ, अनि पल्लाघरे आमा अझै हामी सँगै हुनुहुन्छ नि!

उहाँले भन्नु भाको म जन्मिदाँ तिमीले रुँदै भन्थ्यौ रे दिदी! यदि म मरेँ भने यसलाई सम्हाल्नु, पछि यसले तिमीलाई आमाको दर्जा दिनेछे, यो ठूली जब हुन्छे तब मेरो आत्माले शान्ति पाउँछ।  म यो रगतको डल्लोमा डुब्दा पनि पापीहरुको मनमा दया जागेन, मलाई छुन हुन्न रे, मेरो छेउमा आउन हुन्न रे, अनि मैले छोरी पाउनु मेरो नै दोष हो रे, यो दुनिया विचित्र छ दिदी! ठूला अनि वुद्धिजिवीहरु खै को हुन् मलाई थाहा छैन, मेरो लागि तिमी नै भगवानको रुपमा प्रकट भयौ दिदी! यो सानो नानीलाई बचाइदिनू मेरो आत्माले सधैँ हेरिरहने छ, यदि गल्ती नै गरी भने पनि यसको आँखाबाट आँसु खस्न नदिनू। बरु सम्झाउनू। यसो भन्थ्यौ रे। मेरी आमा तिमी कति बुझ्ने, अनि कति दयालु जब तिम्रो बारेमा गाउँमा कसैले कुरा गर्न सुरु गर्नुहुन्छ, म उहाँलाई नै आमा देख्छु। हो तिमी नै मेरो सामु छौ मलाई हेरिराको ऊ त्यो माथि आकाशबाट जस्तो लाग्छ।

आमा! सानो छँदा तिम्रो माया त पाएन र आमाको माया कस्तो हुन्छ भनेर पनि थाहा छैन। तिम्रो याद आउँदा तिम्रो त्यो पुरानो अनि धुलो लागेको फोटो हेर्दै रुने गर्थेँ। आमा ! मेरो साथीहरुले मेरो आमा भन्दा मेरो आँखाबाट आँसु सँधै बग्ने गर्छ, मेरो आमा यस्तो हुनुहुन्छ, उस्तो हुनुहुन्छ, आमाले गरेको गाली सुनेर ब्युँझन्छु, स्कुलबाट जाँदा आमा नहुँदा कोही घरमा नभएको जस्तो लाग्छ, जब अन्त कतै टाढा गएर आउँदा आमा घरमा हुन्नन्, पहिला उनकै बारेमा सोध्न मन लाग्छ भन्दै साथीले भनेको सुन्दा आमाको माया नै थाहा नपाएकी म आमा शब्दले नै रुने गर्छु। जब काकीले भन्नुहुन्छ- यत्ति ठूली भएर पनि केही गर्दिन, जत्ति ठूलो भयो उत्ति दुख हुने रैछ नानी, जे भने नि मान्दिन, हाम्रो त कुरै सुन्दिन, यति ठूली हुँदा पनि उसकै स्याहार गर्नुपर्छ भन्दै ती माइली काकी रोएको हेर्छु फेरि सोच्छु आमा! मेरी आमा कति भाग्यमानी आमा हुने थिइन्, उनले मलाई केही पनि अह्राउन पर्दैन थियो, उनको सबै कुरा म आफैँ बुझ्थेँ होला, मेरी आमालाई केही गर्न लगाउँदिन थेँ। संसारभरिकै सुखी आमा बनाउँथे होला। उनको हरेक इच्छा आफैँ मरेर पनि पूरा गर्थेँ होला। उनको त्यो फाटेको साडी फेर्नको लागि धेरै मेहनत गर्थेँ होला। मेरी आमालाई कसैले केही भन्न सक्दैनथ्यो होला, जब हाम्रो समाजमा छोराको महत्व बढी देखाएर छोरीलाई गर्ने विभेदको अन्त्य गर्नको लागि म यसरी अघि बढिरहदा आमाले कति सघाउनु हुन्थ्यो होला! अनि कत्ति खुसी हुनुहुन्थ्यो होला। मेरो आमालाई कुनै पनि समस्या आउन दिन्न थिएँ। एक्लै सोची बस्छु।

आमा! तिमीले केही देख्न पाइनौ। सधैँ बाबाको गाली अनि हजुरममी, हजुरवुवाको त्रासमै जीवन बितायौ। के देख्यौ र आमा! मलाई यो स्वार्थी संसार देखाउन मात्र तिमी आएकी थियौ। तिमीले गरेका हरेक दुःख सुन्दा मेरो ज्यान सिरिङसिरिङ हुन्छ । अहिले तिम्री छोरी तिमी नभएरै एकोहोरो भएकी छु, अरु कसैको मतलब लाग्दैन, आफ्नो लक्ष्य पूरा गर्ने क्रममा हिँड्दाहिँड्दै जब आमाजस्तै तर भित्रभित्रवाट छुरा हान्नेहरु भेटाउँछु, छि घिन लाग्छ यो संसार देखेर। जब आफ्ना छोरीसमान सबै छोरी हुन् भनी नठान्ने त्यस्ता पाखण्डीहरु के आमा हुन सक्छन्? अनि फेरि तिमीलाई सम्झन्छु, मेरी आमामात्र मेरी आमा। उसमा केही कसैको स्वार्थ छैन।

मलाई पनि तिमी सँगै बस्न मन छ आमा, मेरो हरेक सपनीमा आऊ न आमा। तिमी आफैँले चिनाऊ मैले यदि चिनिन भने। तिमीसँगै हरेक रात बिताउन मन छ आमा।

आमा! तिमीलाई थाहा छ, म सधैँ राम्रो अंक ल्याएर पास हुन्थेँ नि। स्कुलमा सबै सर म्यामहरुले माया गर्नुहुन्थ्यो, अनि त तिम्रो याद कम आउँन्थ्यो। अब त तिम्री छोरी ठूली भाछे आफैँले बुझ्ने, समझदार तर के गर्नु तिमी छैनौँ। क्याम्पस पढ्ने भाछु कसरी यो ठाउँमा आइपुगेँ होला, मलाई नै थाहा छैन। दुःखको कुरै नगर आमा तिमीले शारिरिक दुःख गरेजसरी दुःख गरिन मैले।

शारिरिक दुःख त केही समय दुख्थ्यो होला फेरि ठिक हुन्थ्यो, तर मेरो मानसिक दुःख छ आमा। न त समयले नै निको बनाउन सक्छ, न त उपचार गरेरै, त्यही भएर होला, आमा यहाँ कसैको विश्वास लाग्दैन मलाई। यो संसारका कति धेरै मानिसहरु स्वार्थी छन्। आफ्नो लागि मात्र प्रयोग गरिरहेका हुन्छन्। तर म सहन सक्दिन आमा, कसैले प्रयोग गरोस् र पछि फेरि त्यही लगेर फालिदियोस् त्यही भएर त होला, म आफैँलाई अरुभन्दा छुट्टै छु जस्तो महसुस गर्छु । मलाई कसैसँग धेरै नजिक बन्न मन लाग्दैन आमा। त्यही भएर होला मेरो साथी नै हुँदैन, म जे गर्छु, एक्लै गर्छु। न त कसैलाई सोध्छु, न त कसैबाट सल्लाह लिन्छु। मलाई जे ठिक लाग्छ, त्यही गर्छु। तिमी भाको भए सबै कुरा तिमीलाई सुनाउँथे अनि तिमी भन्थ्यौ होला नि यस्तो गर, यस्तो नगर। यो गर्नु हुन्न।

सधैँ यस्तै सम्झिएर एक्लै रुन्छु आमा। कसैले नदेख्ने गरी सायद तिमीले त देख्छ्यौ होला नि मेरो आँसु झरेको अनि म रोएको। तर आमा मैले दुःख पाएको हैन, आमा! फेरि तिमी दुखी नबन, तिमीलाई सम्झेको मात्र हो। भएको भए मलाई अझ अगाडि बढ्न धेरै सहयोग हुन्थ्यो भनेर, आमा! कुनै दिन त यस्तो लाग्छ कि तिमीलाई मैले चिन्या पनि छैन तर म रोइराछु तिम्रोलागि तस्विर हेरेर। तिमी मेरी आमा नै हौ त ? म आफैँलाई प्रश्न गर्छु फेरि सम्झन्छु । तिमी आमा मात्र हैन तिमी त मेरो भगवान हौ। न त मैले भगवानलाई देखेँ न त तिमीलाई। जब भगवानलाई म महसुस गर्छु होला भनेर, तिमीलाई पनि महसुस नै गर्छु होला भनेर। तिमी र भगवान उस्तैउस्तै हो आमा मेरो लागि। यही सम्झेर पूजा गर्छु। सधैँसधैँ तिमी अनि भगवानलाई।

आमा! तिमीलाई यत्ति कुरा सुनाउन मन छ कि त्यो मलाई नै थाहा छैन तर के गर्नु आमा तिमी मेरो सामु छैनौँ। यो पत्रमा कत्ति लेखौँ, जति लेखे नि सकिन्न आमा। आजसम्म कसैलाई मैले प्रेमपत्र लेखेको छैन। जब तिमी छैनौ, मेरो लागि योग्य को छ भनेर कसले भनिदिन्छ। आमा तिमी मात्र मेरो संसार, मेरो जिन्दगी जब तिमी मात्र हौ, तिमीले यो संसार देखायौ। आमा फेरि तिमीभन्दा महत्वपूर्ण मेरो अरु कोही छैन। अब म अरुलाई किन पत्र लेखौँ?

त्यही भएर अरुलाई पत्र लेख्न मन लागेन। पत्र लेखेर कस्लाई देखाउँ, तिमी छैनौ, मैले नजानी नजानी गरेका हरेक गल्तीहरुलाई तिमीले नै सुधार्दिन्थ्यौ होला नि, तर के गर्ने तिमी छैनौ, आमा तिमीले नौ-नौ महिना पेटमा राखेर यो धर्तिमा जन्म दियौ। त्यसको भारा म कसरी तिरौँ, आमा भन न। आमा म कसरी तिरौँ।

मलाई पनि तिमी सँगै बस्न मन छ आमा, मेरो हरेक सपनीमा आऊ न आमा। तिमी आफैँले चिनाऊ मैले यदि चिनिन भने। तिमीसँगै हरेक रात बिताउन मन छ आमा।

आमा! तिमीले यो संसारलाई नदेखेरै आफ्ना हरेक इच्छालाई मारेर गयौ तर म के गरुँ आमा, हरेक इच्छा, चाहना मात्र नभएर तिमीलाई मुटुमा अनि नेपाल आमालाई मनमा राखेर केही गर्नु छ ।

आमा मलाई कुरिरहनू। आफ्नो लक्ष्य पूरा गरेर आउनेछु तिमी भएको ठाउँमा। त्यो सुन्दर छहारीमा म अवश्य आउँछु। तिमीसँगै यो स्वार्थी संसार छाडेर। यो मेरो पहिलो प्रेम पत्र भनौँ या गन्थन स्वीकार गर ल आमा!

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्