आधा रात झरिसकेको क्षण

अन्तर्मनबाट प्रिय तिमी,

मलाई थाहा छैन म यो पत्र किन लेख्दैछु। साँच्चै ! तर कतिपय चोटि बिनाकारण गरिएका कुराहरुको नै औचित्य बढी हुने गर्छ। त्यसैले यस पत्रमा तिमीप्रति जतिसक्दो खुल्न सकूँ भन्ने आफैँप्रतिको कामना छ मेरो ।

म कैयन् पूर्णिमाका रातहरु अनिँदो रहेको छु । ती रातहरुमाअनिँदो रहेर मैले आफ्नो प्रेमको तस्विर कोरेको छु । साँच्चै भनुँ भने त्यसरी कोरेको तस्विर म वर्णन गर्न सक्दिनँ । तर साँच्चै !मलाई मन पर्ने त्यही, त्यस्तै हो । मैले त्यसरी कोरेको तस्विर केही अघि सम्म अरुका लागि जसरी मेरा लागि पनि कल्पनातीत नै थियो । तिमीलाई भेटेर तिमीसँग जति समय बिताएँ, हरेक क्षण मैलै कल्पनामा कोरेको त्यो तस्विर यथार्थ बन्दै गरेको जस्तो लागिरह्यो । यथार्थ, तिम्रो रुपमा । ढाँटेको होइन है ! तिमीसँग यति सस्तो झुट बोल्न मन मान्दैन ।

अङ्ग्रेजीमा समथिङ्स् आर जस्ट मेन्ट टू बी’ भने जस्तै केही कुराहरु आफैँ भइदिने रै’छन् । मिलन ,भावनाको विकास अनि संयोगहरु । तिमीले मुस्कान फ्याँक्नु अनि मैले टपक्क टिप्न भ्याउनु जस्ता मिठामिठा योगहरु ।

तिमीलाई बलुन उडाउन मनपर्छ नि है ? तिमीलाई याद छ ? हामीले एकचोटि २५ वटा बलुन किनेर तिनलाई हावामा छाडिदिएका थियौँ ? ती बलुन उड्दै आकाशमा माथिमाथि पुग्दै गर्दा तिम्रो मुहारमा हर्षको उद्धेलन पाएथेँ मैले ।

तिमीलाई थाहा छ ? म धेरैचोटि आफैसँग बोलेको छु । मनइनै बात मारेको छु । तिमीले मसँग बाँडेका हरेक कुरा फेरि आफैसँग गरेको छु र भीड भित्रको एकान्तमा मुस्कुराएको छु । घरको छतमा एक्लै बस्दा निलो आकाशमा ताराहरुलाई आपसमा जोडेर तिम्रो आकृति बनाएको छु र तिम्रो त्यो आकृतिमात्रैको प्रभावबाट मैले जूनबाट भन्दा बढी शीतलता पाएको छु ।

दुई वर्षअघि मेरो जन्मदिनमा तिमीले मलाई उपहार स्वरुप दिएकी कलम मैले आफ्नो छातीमा नै टाँसेर हिँडेको छु । त्यस कलमको मसीलाई आजसम्म मैलै तिमीले दिएकी डायरीमा शब्द उतार्न मात्र खर्च गरेको छु । त्यसैले होला , मलाई त्यस डायरीका हरेक अक्षर, तिमीजति नै खास लाग्छन्। त्यस दिन मेरा खुट्टा भुइँमा थिएनन् । पहिलोपल्ट दुइटै खुट्टा प्याडलमा राखेर साइकल चलाउँदा जति नै हर्षित थिएँ म । उडौँ उडौँ लाग्दैथ्यो । साँच्चै भनेको है ! त्यत्ति उमंग थियो ममा । तर आज दुई वर्षपछि सम्म पनि त्यस्तो मौका बिरलै जुरेको छ । हामीले चाहेजस्तो नहुने, यस्तो किन हुन्छ होला है? समयलाई खोइ कुन्नि के भयो ! खैर, केही छैन । झन् राम्रा दिन दिन भगवानले राम्रा दिन खोस्छन् रे ! मैले तिमीसँग पहिलेभन्दा बढी समय बिताउन पाउने दिनहरु नजिकै होलान्, म तिनै दिनको प्रतीक्षामा छु ।

तिमीलाई बलुन उडाउन मनपर्छ नि है ? तिमीलाई याद छ ? हामीले एकचोटि २५ वटा बलुन किनेर तिनलाई हावामा छाडिदिएका थियौँ ? ती बलुन उड्दै आकाशमा माथिमाथि पुग्दै गर्दा तिम्रो मुहारमा हर्षको उद्धेलन पाएथेँ मैले । यस्तो लाग्दैथ्यो, तिमीले आफूभित्र नयाँ रंग सिर्जना गरेकी छ्यौ र त्यसैको खुशीयालीमा रमाइरहेकी छ्यौ । वातावरण नै रङ्गीचङ्गी बनेको थियो । तिम्रो हर्ष, त्यो पल अनि ती रङ्ग मैले आफ्नो मनको सन्दुकमा जतन गरेर राखेको छु । हरेक दिन, हरेक पल म त्यो सन्दुक खोलेर चियाउने गर्छु र मुसुक्क हाँस्छु । यसो भन्दै गर्दा मेरो ओठ मात्रै होइनन्, आँखा नै हाँसेका हुन्छन् । मनको कुरा गरौँ भने, मान्छेको मनको प्रतिबिम्ब उसको आँखामा झल्कन्छ भन्छन्।

बलुनमा हावा भरेपछि ती बेफिक्री भएर उडेझैँ, तिमीप्रतिको प्रेमले मेरो मनलाई हलुका बनाइदिन्छ र म एकदमै हलुङ्गो महसुस गर्छु । त्यसैले पनि होला ,तिम्रो लागि पत्र लेख्न लाग्दा तिम्रो आभासले मन चङ्गाझैँ भएर भावनाको आकाशमा गोता खाँदै छ । मनलाई आफ्नो जमिनमा उतारेर ऊभित्रको सारा छचल्काहट यस कापीमा पोख्न मलाई उसले चुनौती दिँदैछ भन्या।’ साच्चै! हुन त मैले चाहेको पनि त्यही हो । मेरो मन चङ्गाझैँ भएर प्रेम सगरमा गोता खान पाइराखोस् । मनले यसरी प्रेम सगरमा सयर गर्दा मलाई दुनियाँकाअन्य सारा सुखदायी साहस र सयरहरु फिका लाग्नेछन् । ‘मन चङ्गा त लोटामा गङ्गा’ त्यसै भनिएको त होइन नि !

म तिमीलाई मुसा उपनाम दिऊँ? तिमीलाई कस्तो लाग्यो ? प्यारो छ नि मुसा नाम है ? तिमीलाई यही नामले सम्बोधन गर्न मन लाग्यो मलाई त ! किन? भन्ने लाग्दै होला तिमीलाई । मसँग कारण नै छैन । केही कुरा बिनाकारण नै सुन्दर हुन्छन् । प्यारा हुन्छन् ।अनि मलाई यही नाम प्यारो लाग्यो क्या ! मेरी मुसा!

मलाई तिम्रो मुस्कान असाध्यै मन पर्छ । आफूलाई मन पर्ने अनि माया लाग्ने कुराको कारण आफैँ हुन पाए त कसलाई के चाहिन्थ्यो र है ? म त्यही कारण बन्न चाहन्छु । तिम्रो मुस्कानको अनि तिम्रो खुशीको । भगवानमाथि आफ्नो भक्ति नभएर होला तिम्रो खुशीअनि तिम्रो मुस्कानको कामना म मनमनै नियतिसँग गर्ने गर्छु । तिमीलाई म सँधै भन्छु नि, ‘आफ्नो ख्याल राख्ने गर है’ भनेर, आफ्नो ख्याल राख्नुपर्छ । शरीरको र चित्तको । कुनै पनिअवस्थामा आफ्नो लागि उपस्थित हुने आफैँ हो । वास्तवमा, अन्य कुरा झैँ आफ्नो ख्याल राख्नुको पछाडि पनि कुनै कारण हुँदैन । कारण हुन जरुरी पनि छैन ।

मुसा, आफ्नो ख्याल राख्ने गर है ! तिमीलाई घुम्न मनपर्छ, प्रकृतिमा रमाउन मन पर्छ, गाउन मनपर्छ, लेख्न मनपर्छ, अनि पकाउन मनपर्छ । मलाई थाहा छ, यी सबै कुरा गर्दा तिमी खुशी हुन्छ्यौ, रमाउछ्यौ। त्यसरी नै रमाइराख है मुसा!

तिमीलाई एउटा कुरा भन्न मन लाग्यो। कहिलेकाहिँ बिनाकारण वा कारणबश दुखी भइन्छ । त्यत्ति बेला त्यो बोझले हामीमाथि झनै बढी निराशा थप्ने गर्छ । मुसा, कुनै पनि कुराको बोझ मनमा कहिल्यै नलिऊ ल । गल्ती गरिन्छ, ती गल्तीबाट सिक्दै अघि बढ, मनलाई चङ्गा बनाई राखेर । मन चङ्गा भए लोटामै गङ्गा हुन्छ ।

मुसा, म तिमीलाई प्रेम गर्छु।

यो पत्र र माथिको वाक्यलाई कुनै प्रस्ताव नठान । मैले केवलआफ्नो मनको उद्वेलन पोखेको हुँ । निकै समयदेखि संगालेर राखेका यी शब्दहरुलाई म तिम्रो ठेगानामा सक्दो चाँडो पुर्‍याउनेछु। तिमीलाई यो पत्र कहिले पढेर सुनाऊँ भइसक्यो मलाई त । साँच्चै भन्या ! केको हतारो होला है मलाई?

पत्र पढिसकेर तिमीलाई केही उत्तर दिन मनलाग्यो भने एकदम स्वागत छ । नभए पनि तिमीलाई आफ्नो जिन्दगीमा पाएकोमा म एकदम हर्षित छु। यो हर्ष र उमंगको साथ तिमीले पोतिदिएकी रङ्गका कारण मेरो जिन्दगी रंगीचंगी नै रहनेछ।

हस् त! देशका आधाजसो जनता बिउँझन लागे होला अब। तिमीसँग गर्न अनि यहाँ लेख्नलाई धेरै कुरा बाँकी छन्, जसको अन्त्य हुँदैन नै। ती कुरा समय सँगसँगै गर्दै गर्छु नि है मुसा, तिमीलाई धेरै धेरै प्रेम! आफ्नो ख्याल राख है। बिदा!

अनन्त प्रेमका साथ,
म।

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्