खरिपाटी क्वारेन्टाइन सेन्टर (तस्बिरसहित)

चीनबाट ल्याइएका नेपालीलाई खरिपाटीमा चौबिसै घण्टा चिकित्सकको निगरानी

काठमाडौँ – चीनको हुबेइ प्रान्तको वुहानसहितका शहरबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ । विद्युत प्राधिकरणको भवनमा चीनबाट ल्याइएका १७५ जना नेपालीलाई राख्नका लागि क्वारेन्टाइन सेन्टर बनाइएको हो ।

आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभूवन विमानस्थलमा अवतरण भएको नेपाल एयरलाइन्सको विमान मार्फत ल्याइएका नेपालीहरुलाई खरिपाटीमा लगिएको हो ।

क्वारेन्टाइन सेन्टरमा इन्टरनेटको व्यवस्था छैन । तर त्यहाँ रहेकाहरुलाई मनोरञ्जनका लागि ब्याडमिन्टन, चेस, क्यारिमबोर्ड, टेलिभिजन, लुँडोको व्यवस्था गरिएको खरिपाटी क्वारेन्टाइन सेन्टरमा खटिएका सरकारी अधिकारीले बताएका छन् ।

नेपाली सेनाका डाक्टरको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुलाई २४ घण्टा नै निगरानी गर्ने छ । दिनको दुईपटक स्वास्थ्य जाँच हुने र संक्रमण वा अरु बिरामी भएको पाइएमा तुरुन्तै अस्पताल लैजाने व्यवस्था रहेको छ । क्वारेन्टाइन सेन्टरको बाहिरी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।

क्वारेन्टाइन सेन्टरमा रहेकाहरुका लागि बिहान ६ देखि ७ र दिउँसो ३ देखि ४ बजेसम्म गरी दुई पटक खाजाको व्यवस्था तथा बिहान ११ तथा बेलुका सात बजे खानाको व्यवस्था रहेको जनाइएको छ ।

वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ जना लिएर विमान आएको थियो । विमानमा नेपालबाट गएका १७ जनासहित १३५ पुरुष र ४० जना महिला नेपाल आएका हुन् ।

नेपालबाट चीनमा रहेकाहरुलाई लिन गएका र सोही विमानमा आएकाहरुलाई छुट्टै भवनमा क्वारेन्टाइनमा राखिएको छ । सबैलाई दुई हप्ता निगरानीमा राखिने जनाइएको छ ।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू