जामियाको पुस्तकालयमा प्रहरीको यस्तो बर्बरता, बाहिरियो भिडियो

भारतको राजधानी दिल्लीमा रहेको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीहरुले नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन गरेका थिए र अहिले पनि भारतका विभिन्न स्थानमा प्रदर्शन जारी नै छ।

जामिया विश्वविद्यालयमा विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै विरोध भएको थियो। गएको डिसेम्बरमा विश्वविद्यालयको पुस्तकालयमा पसेर प्रहरीले गरेको दमनको नयाँ भिडियो सार्वजनिक भएको छ ।

जामियाका विद्यार्थीहरुको एक संगठन जामिया कोअर्डिनेशन कमिटिले आइतबार बिहान १ बजेर ५२ मिनेट जाँदा ट्वीट गरेको भिडियो भाइरल भएको छ ।


जामियाको पुस्तकालयमा गएको डिसेम्बर १५ को बेलुका ६ बजे आसपसमा प्रहरी पसेर त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीमाथि आक्रमण गरेका हुन् ।

२९ सेकेण्डको सिसिटिभी फुटेजमा देखिए अनुसार प्रहरीले विद्यार्थीमाथि आक्रमण गरेका छन् । कोही विद्यार्थी टेबुलको मुनि बसेर जोगिने प्रयास गरिरहेका तथा कोहीले प्रहरीसँग हात जोडिरहेको देखिएको छ ।

अहिले भाइरल भएको भिडियो दुईवटा फुटेज जोडेर बनाइएको हो । ट्वीट गर्ने कमिटिले भिडियो वास्तविक भएको बताएको छ र प्रहरीले पनि सो भिडियो नक्कली भएको भनेर दाबी गरेको छैन । भिडियो कसरी बाहिरियो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्