खरिपाटी क्वारेन्टाइन सेन्टर (तस्बिरसहित)

छतबाट चिहाउँदै छन् उद्धार गरिएका नेपालीहरु

खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टरमा राखिएका नेपालीहरु । उनीहरुलाई चीनको हुबेइबाट फागुन चार गते आइतबार बिहान ल्याइएको हो । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको भवन अहिले क्वारेन्टाइन सेन्टरमा परिणत भएका छन् । विद्युत प्राधिरकणका तीन मध्ये दुई भवनमा चीनको हुबेइ प्रान्तका विभिन्न शहरबाट ल्याइएका नेपालीहरुलाई राखिएको छ ।

कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरस संक्रमणको इपिसेन्टर मानिएको हुबेइको वुहानसहितका ६ शहरमा रहेका १७५ जना नेपालीलाई नेपाल एयरलाइन्सले आइतबार बिहान साढे तीनबजे तिर काठमाडौँ ल्याएको हो ।

यसरी ल्याएका उनीहरुलाई खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा निगरानीमा राखिएको छ । उनीहरुलाई दुई हप्तासम्म चौबिसै घण्टा चिकित्सकको निगरानीमा राखिने छ । क्वारेन्टाइन सेन्टरमा रहेकाहरुले आफन्तलाई फोन गर्दै गरेको, छतमा बसेर घाम ताप्दै गरेको देखिएको छ ।

क्वारेन्टाइन सेन्टरमा इन्टरनेटको व्यवस्था छैन । तर त्यहाँ रहेकाहरुलाई मनोरञ्जनका लागि ब्याडमिन्टन, चेस, क्यारिमबोर्ड, टेलिभिजन, लुँडोको व्यवस्था गरिएको खरिपाटी क्वारेन्टाइन सेन्टरमा खटिएका सरकारी अधिकारीले बताएका छन् ।

नेपाली सेनाका डाक्टरको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुलाई २४ घण्टा नै निगरानी गर्ने छ । दिनको दुईपटक स्वास्थ्य जाँच हुने र संक्रमण वा अरु बिरामी भएको पाइएमा तुरुन्तै अस्पताल लैजाने व्यवस्था रहेको छ । क्वारेन्टाइन सेन्टरको बाहिरी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्