खरिपाटी क्वारेन्टाइन सेन्टर

धित मरुन्जेल दिदीलाई हेर्ने रोशनीको चाहना, तर…

काठमाडौँ –जनकपुरकी रोजिता यादव अहिले भक्तपुर खरिपाटीको क्वारेन्टाइन सेन्टरमा छिन् । २६ वर्षकी रोजिता चीनको हुबेइ प्रान्तमा एमबिबिएस अध्ययन गर्दै थिइन् । अन्तिम सेमेस्टरको अध्ययन गरिरहेकी उनले इन्टर्नसिप पनि गर्दै थिइन् ।

महामारिका रुपमा फैलिएको कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको इपिसेन्टरका रुपमा रहेको वुहानबाट ल्याइएका १७५ जना नेपाली मध्ये उनी पनि एक हुन् । उनीसहितको विमान हुबेइका ६ शहरबाट १७५ जना नेपालीलाई आइतबार बिहान साढे तीनबजे तिर काठमाडौँ अवतरण गरेको थियो ।

त्यसपछि खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवनमा बनायएको क्वारेन्टाइन सेन्टरमा लगिएको हो रोजिता र ल्याइएका अरुहरुलाई ।
रोजिताले आइतबार बिहान ८ बजेतिर बहिनी रोशनी यादवलाई फोन गरिन् । रोशनी क्वारेन्टाइन सेन्टरमा रहेकी दिदी रोजिताका लागि मास्कसहितका सामग्री लिएर बिहान साढे ११ बजेतिर खरिपाटी पुगेकी थिइन् ।

उनले लगेका सामग्री सेन्टरमा खटिएका सुरक्षाकर्मीले हेरेर भित्र लगिदिए । दिदीलाई परैबाट भए पनि देख्न पाइन्छ कि भन्ने आशले गएकी रोशनीले त्यो अवसर भने पाइनन् ।

देश सञ्चारसँग रोशनीले भनिन्, ‘दिदी घर नआएको चार वर्ष भएको थियो । हुबेइमा कोरोनाको संक्रमण फैलिएको थाहा पाएपछि बुवाआमालाई हरेक क्षण दिदीकै चिन्ता हुन्थ्यो । मैले दिदीसँग सम्पर्क गर्थेँ । हिजो दिदी उड्ने बेलासम्म पनि सम्पर्क भएको थियो । अहिले देख्न पाउँछु कि भन्ने लागेको थियो ।’

उनले अघि भनिन्, ‘मैले दिदीका लागि मात्रै होइन सबै नेपालीहरुका लागि प्रार्थना गरेकी थिएँ । तर हिजो आउन नपाउनेमा दिदीकै साथी पनि पर्नु भएछ । दुःख लाग्यो । सबैलाई राम्रो होस् ।’

रोशनीले भनिन्, ‘दिदीलाई नजिकबाट हेर्ने मन छ । तर सुरक्षाका लागि सबै अपनाइएको सावधानी मान्नु पर्छ । दुई हप्तापछि दिदीलाई धित मरुन्जेल हेर्न पाउँछु भन्ने आश छ ।’

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्