म्याद थपपछि जिल्ला अदालतबाट कृष्णबहादुर महरालाई फर्काउँदै प्रहरी।फाइल तस्बिर।

काठमाडौँ– पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दर्ता भएको जबरजस्ती करणी उद्योग मुद्दाको बहस सकिए पनि आज फैसला नआउने भएको छ।

बहस सकिएर आजै फैसला सुनाउने अन्तिम तयारी भनिएपछि जिल्ला न्यायाधिश अम्बरराज पौडेलले फैसला लेख्न नभ्याएको हुँदा अर्को दिन फैसला सुनाउने जानकारी दिएका हुन्।

आइतबार काठमाडौँ जिल्ला अदालतमा महराको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए। अभिवक्ताहरु भिमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैनाली, मुरारी सापकोटा लगायतले महराको तर्फबाट बहस गरेका थिए।

महरा आइतबार आफै अदालतमा उपस्थित भएका थिए। उनी अघिपछिको भन्दा प्रफुल्लित मुद्रामा देखिन्थे।

माघ २६ गते अन्तिम सुनुवाई भएको मुद्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सुनुवाइ सुरु भएको हो। यसअघि सरकारी वकिलका तर्फबाट बहस सकिएकाे थियो।

प्रमाण संकलनको कार्य सकिएसँगै काठमाडौँ जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। माघ २६ गते सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए।

उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ।

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो। गएको असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर महराले जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

उनी अहिले डिल्लीबजार कारागारमा थुनामा रहेका छन्।

पीडित भनिएकी शाहीले बानेश्वरस्थित प्रहरी वृत्तमा जाहेरी दिएपछि उनलाई प्रहरीले असोज १९ गते सभामुख निवासबाट पक्राउ गरेको थियो। जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि जिल्लाकै आदेश सदर गरेको थियो।

जिल्ला अदालत समक्ष पीडितको हैसियतमा बकपत्र गर्ने क्रममा रोशनी शाहीले आफूविरुद्ध महराले जबरजस्ती करण प्रयास नगरेको दाबी गरेकी थिइन्।

सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोली फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन्।

बकपत्रका क्रममा उनले आफूमाथि यौन हिंसा नभएको (होस्टाइल) बताएकी हुन्।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्