महानायक राजेश हमाल भन्छन्, ‘मलाई पहिलो गाँसमै ढुंगा लागेको थियो’

महानायक राजेश हमाल भन्छन्, ‘मलाई पहिलो गाँसमै ढुंगा लागेको थियो’

अन्तरार्ष्ट्रिय फिल्म महोत्सवमा बोल्दै महानायक राजेश हमाल । तस्बिर- रविन आचार्य/देश सञ्‍चार

कार्यक्रम सञ्चालिकाले उनको ‘डेब्यू’ चलचित्रको नाम लिने बित्तिकै हलमा एकाएक सिट्टी र ताली सुनियो, सँगै हुटिङ पनि।

दाहिने पट्टिको ढोकाबाट महानायक राजेश हमाल स्टेजमा आए, बिचमा राखिएको मेच नजिक आएर उभिए।

ताली बज्यो, बज्‍न रोकियो,

फेरि बज्यो ‘पट्ट’

हमालले सम्बोधन पनि नगरी लगातार १ मिनेटसम्म ताली बजेपछि हमालले दर्शकलाई सम्बोधन गरे र तालीसहितको स-सम्मान स्वागतको लागि कृतज्ञता ज्ञापन गरे।

उनले भने, ‘तपाईको न्यानो स्वागतको लागि धेरै-धेरै धन्यवाद छ ।’

दर्शक दिर्घाबाट आवाज आयो, ‘यू डिजर्भ इट सर।’

नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता राजेश हमालले तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन आफ्नो कथा सुनाउन आए। दर्शकले टनाटन भरिएको हल राजेशको बोल्ने बित्तिकै शान्त हुन्थ्यो भने वाक्य सक्काउने बित्तिकै तालीको गडगडाहट।

चलचित्रको पर्दामा राजेशले काम नगरेको ७ वर्षभन्दा बढी भएपनि उनलाई हेर्न हल टनाटन भरिएको थियो। महोत्सवको एउटा शेसन ‘मेरो कथा’ मा राजेशको कथा सुन्‍न आइपुगेका दर्शकलाई राजेशले आफ्नो कथा सुनाए।

‘खुसी लागेको छ। विभिन्‍न कार्यक्रमहरुमा गइन्छ तर चलचित्र सम्बन्धि कार्यक्रममा जाँदा र चलचित्रको बारेमा नै कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्छ। किनभने यो मेरो विधा हो।’

उनले थपे, ‘कलाकारिता सुरु गर्दा आफ्नो सबै ध्यान यही क्षेत्रमा नै लगाइने रहेछ, सायद अरु क्षेत्रका मानिसको पनि यस्तै हुन्छ होला। सुरुमा कोही व्यक्ति कला क्षेत्र अथवा कुनै अरु क्षेत्रमा लाग्न चाहन्छ, त्यही नै दिलो ज्यानले लागि पर्छ, चासो राख्छ। अरु क्षेत्र, विषयको बारेमा जान्न बुझ्न वास्ता गर्दैन। तर कालान्तरमा जब त्यो व्यक्तिले पहिचान कमायो, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नाम कमाउछ, त्यसपछि उसलाई अरु विषयको बारेमा दृष्टिकोण के छ भनेर सोध्‍ने गरिन्छ। यो बिडम्बना हो, किनकी एउटा कलाकार पपुलारिटीको चरम सिमामा पुगेको बेलामा राजनीति, वातावरण, विज्ञान मनोविज्ञानको बारेमा सोधिन्छ। अरु कुरा बुझ्न समय नै पाएको हुँदैन। त्यसैले यहाँ आफ्नो क्षेत्रको बारेमा कुरा गर्न पाउँदा खुसी भएको छु।’

त्यसपछि राजेशले आफ्नो चलचित्र क्षेत्रको यात्रा सुरु सुनाउन सुरु गरे, ‘यात्रा त मेरो लामो नै छ, उमेर २१ भएपनि। यो क्षेत्रमा ३० वर्ष भयो चलचित्र क्षेत्रमा लागेको।’

यति भनेपछि दर्शकले बेस्सरी ताली पिटे।

राजेशलाई पहिलोपल्ट चलचित्र क्षेत्रमा प्रवेश गर्दा यही क्षेत्रमा जीवनभर रहिरहन्छु भन्ने लागेको झिनो आशा पनि थिएन। उनले करियर सुरुवातको समय सम्झदै राजेशले भने, ‘मेरो पहिलो गाँसमा नै ढुंगा परेको थियो।’

उनको अनुसार ३४ वर्ष अगाडिको पहिलो प्रोजेक्टमा उनले छायंकन गरेको केही समयपछि चलचित्र नै छोड्नु परेको थियो। उनलाई निर्देशक र अन्य व्यक्तिले अभिनय गर्न सक्दैन भनेका थिए। छायंकन नै सुरु भएपछि ‘तपाई यो चलचित्रबाट हट्नुप¥यो’ भनेपछि हटेका थिए।

पहिलो चलचित्रमा काम गर्दागर्दै छोडेका हमालले हार खाएनन् र फेरि अर्को चलचित्रमा काम गरे। ‘उमेरले होकी, आत्मविश्वासले हो मैले जे गर्छु भनेर यहाँ आएको थिए, त्यो गरी छाडे। मैले कसरी लिए भने ममा खुबी नभएको होइन, उहाँहरुले हेर्ने दृष्टिकोण त्यस्तो हो, म कलाकार बन्ने हो भनेर काम गरे।’ उनले भने, ‘दुई वर्षपछि जसले मलाई पहिला काम गर्न सक्दैन भन्नु भएको थियो, उहाँहरुले नै बोलाउनु भयो अर्को चलचित्रमा काम गर्नको लागि।’

दोस्रो पल्ट प्रस्ताव आएपछि मैले त्यो चलचित्रमा काम गरे, त्यो चलचित्रको नाम थियो, ‘युगदेखि युगसम्म।’

उनले कलाकारिता यात्रा के हुन्छ भन्ने थाहा थिएन। कोही उदाहरणीय व्यक्ति थिएनन्, नेपाली चलचित्र क्षेत्र छ भन्‍ने थिएन । दुई तीन वर्षमा एकपल्ट चलचित्र बन्थ्यो। चलचित्र शोखमा खेलिने बेला थियो। मानौ चलचित्र हिट भयो भनेपनि पछि के हुन्छ भन्‍नेसम्म थाहा थिएन।

राजेशका अनुुसार बिस्तारै त्यो युगमा परिवर्तन आयो, त्यसपछि उनले धेरै भन्दा धेरै चलचित्रमा काम गर्न थाले। कुनै बेला दिनमा १८ घण्टासम्म काम गरेका हमालले आफ्नो अनुभव यसरी बताएका छन्।

भिडियाे :

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्