प्रदेश सरकारको दुई वर्ष: नामाकरणमा विवाद कायमै

जनकपुरधाम-प्रदेश सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि सत्तापक्षको अडानका कारण प्रदेशको नामाकरण हुन सकेको छैन। प्रदेश दुईको नाम र स्थाई राजधानीको विषयमा सहमति जुटाउनका लागि बनेको समितिमा दलहरु आ-आफ्नै अडानमा रहेपछि प्रदेशको नाममा सहमति जुट्न सकेन।

जनकपुरधामलाई राजधानी बनाउने विषयमा सहमति जुटिसकेपनि दलहरुले नामको सवालमा आफ्नै अडानमा कायम रहेपछि नामको विषयमा समितिले टुंगो लगाउन सफल हुन नसकेको हो।

गत भदौ ५ गते प्रदेशको नाम र राजधानी सम्बन्धमा दर्ता गराइएको प्रस्तावहरुमाथि सहमतिको क्रममा रहेका सत्ता साझेदार दलहरुले अघि सारेको मधेश प्रदेशको नाममा प्रतिपक्षी दलहरुले केही थप बढ गरेर अगाडी बढ्न तयार रहेपनि सत्ता पक्ष मधेश प्रदेशकै पक्षमा रहेपछि प्रदेशको नाममा सहमती जुटन सकेको छैन्।

प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको दुई वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा समेत प्रदेशको नाम मधेश प्रदेश नै हुने दावी गरेका थिए। यता राजपाका नेताहरुको अडान समेत मधेश प्रदेश नै राख्न कायम रहेको छ। तर प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेस आफूले दर्र्ता ग गराएको नाम त्यसमा जोड्न दवाब दिदै आईरहेको छ।

प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमा सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी संयुक्त रुपमा मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुरा र कांग्रेसकै केही प्रदेशसभा सदस्यहरुले मध्य मधेश भन्ने नाम सहितको प्रस्ताव दर्ता गराएका थिए।

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा ११ सदस्यी समितिले अन्तिम पटककालागि आइतबार बैठक डाकेका थिए । बैठकमा समाजवादी पार्टी र राजपा नेपाल प्रदेशको नाम मधेश प्रदेश नै हुनु पर्ने अडानमा रहेपछि सहमतिका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी मधेश र नेपाली कांग्रेसले मिथिला मधेश नाम राख्न सुझाएका थिए।

सबै दलका संसदीय दलका नेताहरु सम्मिलित बैठकमा नामाकरणको विषयमा चाँडै नै निर्णय लिइने नेताहरुले प्रतिक्रिया दिएका थिए।प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेस पनि मधेशलाई स्वीकार गरिसकेकोले आगामी बैठकबाट प्रदेशको नामको टुंगो लाग्ने राजपा नेपालका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दावी गरे।

प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु मधेश नाममा सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अगाडी बढाएको बताए। यद्यपि, मधेश मात्रै राखे आफूहरु सहमत नहुने समेत बताए।

यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादव मधेश नाममा कुनै विमति नरहे पनि मिथिलाको आफ्नो छुट्टै पहिचान रहेकोले सहमतिका लागि मिथिला मधेश नाममा सहमति जुटाउन आफूले सुझाव दिएको बताए।

आइतबारको बैठकमा प्रदेशको नाममा सहमति जुट्न नसके पछि फेरी बैठक बोलाएर सहमति जुटाउने प्रयास गरिने सभामुख सरोज कुमार यादवले जानकारी दिए।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्