नेकपा संघीयता असफल बनाउने खेलमा लाग्याे: उपेन्द्र यादव

मोरङ– सरकारले दुई वर्षे कार्यकालमा जनतामूखी र विकासशील काम भएको दाबी गरिरहँदा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार मुलुकलाई दरिद्र बनाउन उन्मुख रहेकाे आराेप लगाएका छन्।

केही महिनाअघि सत्ताबाट बाहिरिएका यादवले आइतबार विराटनगरमा प्रेस नेपाल मोरङद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा सरकार मुलुकलाई दरिद्र बनाउन लागिपरेकाे बताएका हुन्।

अध्यक्ष यादवले भने, ‘सत्तारुढ दल नेकपा नै मुलुकमा संघीयतालाई असफल बनाउने खेलमा लागिपरेको छ। नारा एउटा दिँदै व्यवहारमा अर्कै कार्य सरकारले गरिरहेको छ।’

‘सुखी नेपाली समृद्ध नेपाल’को नारा लगाउFदै प्रधानमन्त्री केपी शर्मा ओली सरकार व्यवहारमा भने ‘दरिद्र नेपाल र दुखी नेपाली’ बनाउन उन्मुख रहेको आराेप लगाए।

सरकारबाट आफै बाहिरिएको दाबी गरेका अध्यक्ष यादवले पार्टीसँग गरिएका प्रतिवद्धता कार्यान्वयमा सरकारले खुट्टा कमाएपछि सरकारमा बसिरहन उपयुक्त नभएको र सत्ता त्यागेको बताए।

‘प्रधानमन्त्री ओली नै संविधान संशोधनदेखि अन्य सहमतिबाट पछाडि हटेपछि त्यहाँ बसिरहनु औचित्यहीन देख्यौँ’, उनले भने।

सत्ताबाट बाहिरिएपछि कार्यकर्ता भेला तथा प्रशिक्षणमा केन्द्रीत अध्यक्ष यादवले संविधान संशोधनको माग कायमै रहेको बताए। संविधान संशोधन गरी अघि सारिएका मागहरु सरकारले पूरा गर्न ढिलासुस्ती गरे जनता सडकमा उत्रने र संघर्ष गर्ने उनले चेतावनी दिए।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्