प्रधानमन्त्री हुनका लागि एकता गरेका होइनौ: प्रचण्ड

नेपालगञ्‍ज-नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री वा कुनै पद, प्रतिष्ठाका लागि पार्टी एकता नभएको बताएका छन्।

बाँकेको कोहलपुरमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, हामीले प्रधानमन्त्री वा कुनै पद, प्रतिष्ठाका लागि एकता गरेका होइनौ । राष्ट्रको विकास, कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गर्न एकता गरेका हौं।’

प्रचण्डले एकता अघि नै ओलीजीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको स्मरण गराए। ‘हामीले एकतापछि प्रधानमन्त्री आलोपालोको कुरा गरेका थियौ। जनता कन्फ्यूज हुन्छन् भनेर यही सरकारलाई ५ वर्ष जान दिने सहमति भइसकेको छ, प्रचण्डले भने, समाजवादका आधार तयार गर्ने उद्देश्यले एकता गरेका हौं।

पार्टी एकतापछिको पहिलो प्रशिक्षण भएकाले एकताका बारेमा मात्रै बोल्नु भएका प्रचण्डले कार्यकर्ताहरुलाई सांगाठानिक र भावनात्मक रुपमा रुपान्तरण हुन निर्देशन दिए।

राजनीतिक एजेन्डाको रुपमा मात्रै नभई सांगाठानिक र भावनात्मक रुपमा एकता हुन सकेमा आफ्नै पालामा समाजवाद देख्न सकिने प्रचण्डको भनाई थियो । ‘फेरि पछाडी फर्कियौ भने सिद्धान्त, राजनीति र देशप्रति घात हुन्छ, प्रचण्डले थपे, वैचारिक ढंगले राजनीतिक, सामाजिक रुपान्तरणमा जोड दिएर अघि बढ्न आवश्यक छ।’

अध्यक्ष प्रचण्डले एकतापछि सूर्य चुनाव चिन्हलाई मानेर गएको भए दुई तिहाई आउने विश्वास दिलाए। साझा घोषणा, साझा उम्मेदवार भएपनि चुनाव चिन्ह फरक लिएर जादा दुई तिहाई पुग्न सकेन, प्रचण्डले भने, मलाई त्यो रिलाइज गर्न कुनै अप्ठेरो छैन। एउटै चुनाव चिन्हमा गएको भए दुई तिहाई हुने रहेछ ।

पार्टीका महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर खनाल, ५ प्रदेश कमिटि अध्यक्ष ओनसरी घर्तिले पार्टी नेता तथा कार्यकर्ताहरु एकैलयमा हिडेर एकतालाई सार्थक बनाउदै समाजवादको आधार तयार गर्नुपर्ने बताए।

प्रशिक्षणमा १२ जिल्लाका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए। पार्टीले फाल्गुनभित्र सात वटै प्रदेशमा यसप्रकारको प्रशिक्षण गर्ने निर्णय गरिसकेको छ। प्रशिक्षणपछि सोमबार कोहलपुरमा बैठक पनि रहेको छ।

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्