इन्टर मिलानलाई लाजिओले उछिन्यो, युभेन्टस पुनः शीर्षस्थानमा

इटालियन सिरी ए फुटबलको उपाधि होड यो सिजन रोमाञ्चक बन्दै गएको छ । उपाधि होडमा यो सिजन साबिक विजेता युभेन्टस र इन्टर मिलान रहँदै आएका छन् । सँगै उपाधि होडमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्दै आएको छ लाजिओले ।

सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलानमाथि जित निकाल्दै लाजिओले उपाधि होडमा आफूलाई थप बलियो बनाएको छ । पहिलो हाफमा १–० ले पछि परेको लाजिओले पुनरागमन गर्दै २–१ को जित निकालेको हो ।

अवे मैदानमा इन्टर मिलानका लागि ४४ औँ मिनेटमा योङ्गले गोल गरेका हुन् । ५० औँ मिनेटमा पाएको पेनाल्टीमा इम्मोबाइलले लाजिओका लागि बराबरी गोल गरे ।

६९ औँ मिनेटमा मिलिन्कोविक–साविक गोल गर्दै लाजिओलाई महत्वपूर्ण जित दिलाएका हुन् । जितपछि लाजिओ इन्टर मिलानलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । उसको २४ खेलबाट ५६ अंक भएको छ ।

लाजिओ इन्टर मिलान भन्दा दुई अंकले अघि छ भने शीर्षस्थानको युभेन्टसभन्दा एक अंकले पछि रहेको छ । लाजिओले क्लबको इतिहासमा दुईपटक मात्रै सिरी ए फुटबलको उपाधि जितेको छ । उसले सन् १९७४ र २००० मा उपाधि जितेको थियो ।

आइतबार राति नै भएको खेलमा ब्रेसियालाई २–० ले पराजित गर्दै युभेन्टस शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि पाउलो डिबाला र जु कुएड्राडोल गोल गरे । ब्रेसियाका एयी ३७ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।

यो खेलमा युभेन्टका कप्तान जर्जियो चिलिनी मैदान फर्किए । चोटका कारण विगत ६ महिना मैदान बाहिर रहेका उनी ७८ औँ मिनेटमा मैदान छिरेका थिए ।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्