कश्मीरबारे संयुक्त राष्ट्रसंघका महासचिवको प्रस्ताव भारतद्वारा अस्वीकार

कश्मीरको विषयमा भारत र पाकिस्तानबिच जारी तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले चिन्ता व्यक्त गरेका छन् ।

महासचिव गुतेरेसले तनाव कम गर्न दुवै देशसँग आग्रह गरेका छन् । त्यसका लागि संयमता अपनाउन उनको सुझाव छ ।

महासचिव गुतेरेसले पाकिस्तान भ्रमणको क्रममा यस्तो बताएका हुन् । आइतबरा इस्लामावादमा पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीसँगको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघले दुई देशबिचको तनाव कम गर्नका लागि धेरै प्रयास गरेको बताए ।

उनले भने, ‘हामीले दुईदेशबिच वार्ता स्थापित गर्ने प्रस्ताव गरेका थियौँ, तर वार्ता दुई देश तयार भएपछि मात्रै सम्भव हुन्छ । शान्ति तथा स्थिरता वार्ताकै माध्यमबाट आउँछ । दुवै देशले संयमता अपनाउनु पर्ने देखिन्छ ।’

भारतले भने महासचिव गुतेरेसको प्रस्ताव अस्वीकार गरेको छ । समाचार संस्था पिटिआइका अनुसार भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भनेका छन्, ‘भारतको निर्णय पहिले जे थियो अहिले पनि त्यहि हो । जम्मू–कश्मीर भारतको अभिन्न अंग हो र रहने छ। पाकिस्तानले कब्जा गरेको कश्मीरबारे वार्ताको खाँचो हो । भारत–पाकिस्तान वार्ताका लागि कसैको मध्यस्थता आवश्यक पर्दैन ।’

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्