क्यामरुनमा आक्रमणकारीले गर्भवती महिला तथा बालबालिकासहितलाई जिउँदै जलाए

अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो ।

तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन् । शुक्रबार भएको आक्रमणका जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

तर क्यामरुनको विपक्षी पार्टीले घटनामा आर्मी संलग्न रहेको आरोप लगाएको छ । क्यामरुनको सरकारले देशको उत्तर–पश्चिमी क्षेत्रमा सक्रिय रहेका विखण्डनकारीविरुद्ध विगत तीन वर्षदेखि कारवाही अभियान सञ्चालन गरिरहेको छ ।

सरकारले अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेको छैन । शुक्रबारको घटनामा मारिनेमा गर्भवती महिला पनि रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले उल्लेख गरेका छन् ।

मारिनेमा १४ जना बालबालिका रहेको र त्यसमध्ये ९ जना पाँच वर्षमुनिका रहेको संयुक्त राष्ट्रसंघको मानवीय सहायता संगठन ओसिएचएका अधिकारी जेम्स नुनानले बताएका छन् । घटनापछि स्थानीय बासिन्दा त्रसित भएको उनले बताए ।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्