खरिपाटी क्वारेन्टाइन सेन्टरबाट एक चिकित्शककाे आग्रह

‘आमा चिन्ता नलिनु है, क्वारेन्टाइन सेन्टर वरपरका बासिन्दा पनि हामीसँग डराउनु पर्दैन’

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टर । फाइल तस्बिर।

काठमाडौँ – ‘आमा हजुरले चिन्ता नलिनु होला, हुन त मन मान्दैन होला । तर चिन्ता नलिनु है, हामीसबै ठीक छौँ ।’ चीनको हुबेइ प्रान्तको वुहानसहितका विभिन्न शहरबाट उद्धार गरी ल्याइ भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका मध्ये एकजना चिकित्सकको भनाई हो यो ।

विगत ९ वर्षदेखि चीनमा रहेर चिकित्साशास्त्र अध्ययन गरिररहेका डा. प्रकाश कार्की हाल भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको क्वारेन्टाइन सेन्टरमा छन् ।

उनले टेलिफोनमा देश सञ्चारसँग भने, ‘आमासँग फोनमा कुरा भइरहेको छ । मैले ठीक छु भनेको छु । तर उहाँ बारम्बार सोध्नुहुन्छ–बाबु तिम्लाई राम्रो छ नि? म आमालाई भन्न चाहन्छु–म ठीक छु, यहाँ रहेका अरु साथीहरु पनि राम्रो हुनुहुन्छ, चिन्ता नलिनु है आमा ।’

चीनको हुबेइ प्रान्तको शियान शहरमा बस्दै आएका पोखरा–१७ बिरौटाका ३१ वर्षका डा. कार्कीले चीनमा नै एमबिबिएस गरेका हुन् । उनी हाल छालारोगमा विशेषज्ञता हाँसिल गर्दै छन् ।

क्वारेन्टाइन सेन्टरमा बसेका पोखराका डा. प्रकाश कार्की, उनी चीनको हुबेइको शियान शहरमा एमडी अध्ययनरत छन् ।

एमडीको तेस्रो वर्षमा रहेका उनले सोधपत्रको काम सकेर नेपाल फर्किने योजना बनाएका थिए । तर गएको डिसेम्बरमा वुहानबाट सुरु भएको कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएपछि नेपाल सरकारले उद्धार गरी ल्याएका मध्ये उनी पनि एक हुन्।

सरकारले आइतबार बिहान प्रकाशसहितका १७५ जना नेपालीलाई हुबेइबाट नेपाल ल्याएको थियो । त्यसपछि भक्तपुरमा बनाइएको क्वारेन्टाइन सेन्टरमा उनीहरुलाई राखिएको छ ।

प्रकाशले भने, ‘जनवरी २३ देखि हामी विश्वविद्यालयको होस्टलमा सुरक्षित रुपमा बसेका थियौँ । अहिले पनि सुरक्षित रुपमा बसेका छौँ । हामीलाई कुनै संक्रमण भएको छैन । मात्रै सावधानी अपनाएको हो । नडराउनु होला । हामी आफू पनि संक्रमित हुन चाहँदैनौँ र अरु पनि भएको हेर्न सक्दैनौँ । मात्रै सावधानी अपनाएको हो ।’

उनले भने, ‘हुबेइबाट खरिपाटीको क्वारेन्टाइन सेन्टरमा आइपुग्ने बेलासम्म लगभर २४ घण्टाको अवधिमा हाम्रो ९ पटक स्वास्थ्य जाँच भएको हो । हामी अहिले लगभग अग्नि परीक्षाको अवस्थामा छौँ । र धेरै अग्नि परीक्षाहरु पार गरेर आएका हौँ ।’

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टरको नक्सा।

आफूहरुलाई क्वारेन्टाइन सेन्टरमा राम्रो व्यवस्था गरिएको उनले बताए । राम्रो व्यवस्थाका लागि सरकार तथा यसमा खटिएका सबैप्रति आभारी रहेको डा. कार्कीले बताएका छन् । उनले भने, ‘हामीलाई नेपाल ल्याउन केही ढिला भयो । तर ढिलै भए पनि राम्रो व्यवस्था गरिएको छ।’ उनले चीनमा आफैँसँग रहेका बंगलादेश र भारतका नागरिकलाई पनि सम्बन्धित देशहरुले उद्धार गरेको जानकारी दिँदै उनीहरुसँग नियमित रुपमा कुराकानी हुने बताए। ‘उनीहरुसँग कुरा भएअनुसार उनीहरुको देशको क्वारेन्टाइन सेन्टरको व्यवस्थाभन्दा हाम्रो देशको व्यवस्था राम्रो रहेछ,’ उनले सरकारलाई आभार प्रकट गर्दै भने।

विभिन्न हल्ला र भयका बाबजुद आफूहरुलाई लिन जाने र त्यसकै कारण क्वारेन्टाइनमा बस्न बाध्य चालकदलका सदस्य तथा कर्मचारीहरुप्रति अति कृतज्ञ र आभारी रहेको उनले बताएका छन् ।

हुबेइको अवस्था हाल संक्रमणका कारण भन्दा पनि त्यसको भयका कारण अति त्रसित रहेको उनले बताए । सन् २००२–२००३ मा फैलिएको सार्स महामारीका बेला पनि यस्तो अवस्था नभएको आफूले कुरा गरेका सिनियरहरुले बताएको डा. कार्कीले जानकारी दिए ।

क्वारेन्टाइन सेन्टरमा कम्तिमा एक मिटरको दूरीमा बिस्तारा रहेको र नुहाउनका लागि तातो पानीदेखि खानपानको व्यवस्था राम्रो रहेको उनले जानकारी दिएका छन् । उनले भने, ‘मसिना कुराहरुको ख्याल गरिएको छ । हामीलाई कुनै कमी महसुस भएको छैन ।’

नडराउनु होला है…

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टरमा त्यहाँ रहेकाहरुका लागि टेलिभिजनसहित आवश्यक सबै चिजको व्यवस्था गरिएको छ ।

‘हामीलाई कोभिड–१९ को संक्रमण भएको छैन । संक्रमण भएर हामीलाई ल्याइएको होइन । संक्रमण हुन्छ कि भनेर सावधानीका लागि आउन चाहेका थियौँ आफ्नो देश र त्यसकै लागि हामीलाई यहाँ राखिएको हो ।’

आफूहरुलाई खरिपाटीमा राखिएपछि स्थानीय बासिन्दा त्रसित भएको भन्ने सुनेका डा. कार्कीले आस्वस्त पार्दै भने, ‘कृपया नडराउनु होला । हामी आफै पनि संक्रमित हुन चाहँदैनौँ, अरुलाई पनि नहोस् भन्ने छ । कोरोनाको संक्रमण संक्रमितसँगको सम्पर्कमा नआएसम्म सर्दैन । हामी संक्रमित होइनौँ । घरमा ताल्चै लगाएर बस्नु पर्दैन ।’

स्थानीय बासिन्दामा त्रास फैलिएको भन्ने कुराले दुःख लागेको बताएका उनले त्यसका लागि कोरोना भाइरसबारे स्थानीय बासिन्दाहरुलाई राम्रो जानकारी दिइनु पर्ने बताए ।

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टरमा सरसफाइ हुँदै ।

स्थानीय बासिन्दालाई आस्वस्त पार्न खोजेका उनले कुराकानीको अन्त्यमा फेरि आमालाई सम्झिए, भने, ‘आमा पिर नलिनु है । दुई हप्तापछि भेट हुन्छ नि । मलाई केही भएको छैन । साथीहरुलाई पनि केही भएको छैन ।’

खरिपाटीमा राखिएका सबैको नमूना आइतबार नै संकलन गरिएको थियो । सो नमूना परीक्षणको रिपोर्ट मंगलबार आउने छ । त्यसपछि थप स्पष्ट हुने जनाइएको छ ।

(खरिपाटी क्वारेन्टाइन सेन्टर भित्रको तस्बिर देश सञ्चारलाई डा. प्रकाश कार्कीले उपलब्ध गराएका हुन्।)

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्