सन् १९७५ देखि २०११ सम्मको फोटो कलेक्सन

‘हात्तीको ढाडमा चिनियाँ हिरोइन बस्दा मैले खिचिक्क पारिदिएँ’

‘हात्तीको ढाडमा चिनियाँ हिरोइन बस्दा मैले खिचिक्क पारिदिएँ’

विकास रौनियार।

सन् १९८५ तिर फोटोपत्रकार विकास रौनियारले भर्खर एसएलसी सक्काएका थिए, अवसर आयो असिस्टेन्ट सिनेम्याटोग्राफर बन्ने। उनलाई थप जिम्मेवारी पनि थियो, ‘हिरोइनलाई हात्तीसँग घुलमिल गराउने।’

फोटोग्राफीमा सानैबाट शोख थियो, त्यसैले त स्कूल पढ्ने बेलामा नै उनका काकाले हातमा सेकेन्ड ह्याण्ड मिनोल्टा एचआरटी क्यामरा थमाइदिए। त्यही क्यामरा लिएर गोकर्ण रिसोर्टमा असिस्टेन्ट सिनेमाटोग्राफर बन्न गएका विकासले हात्तिको ढाडमा हिरोइन बसेको बेलामा खिचिक्क पारे।

व्यवसायिक नहुँदै खिचिएको खिचिएको त्यो तस्बिर अहिले टुरिजम बोर्डको प्राङ्गणमा काठको स्ट्याण्डमा अडिएको छ। त्यही फोटो हेर्दै विकास मुसुक्क मुस्कुराउँछन्। अनि क्यामरासँग उनको मोह सम्झन्छन्, ‘मलाई क्यामरा चलाउन सारै मनपर्थ्यो, अङ्कलले स्कूल पढ्दा नै दिनुभएको मिनोल्टा एचआरटी क्यामरा चलाउथेँ। यो क्यामराले धेरै फोटो खिचेको छु।’ उनको लागि यो अविस्मरणीय फोटो हो।

फोटोग्राफीमा प्यासनेट रौनियारले प्रदर्शनीमा राखिएको सबैभन्दा नयाँ फोटो पनि देखाए, ‘यो भित्तामा टाँसिएको फोटो चाहिँ यहाँ भएका मध्येमा सबैभन्दा नयाँ, सन् २०११ मा मुम्बईमा खिचिएको।’ पत्नि सम्झना रौनियार मुम्बईमा भएको बेलामा विकासको आउजाउ हुन्थ्यो । उनले भारतमा भएका नेपाली सेलिब्रेटीलाई भन्दा पनि प्राविधिकहरुलाई फोटोमा समेटे। उनले एक एक गर्दै नाम चिनाउँदै गए, ‘बसन्त कर्माचार्य–सीआईडी लगायतका कार्यक्रम, चलचित्रमा एक्सन खिच्ने, रामनाथ पाण्डे–ए रिश्ता क्या केहेलाता हेका निर्देशक, लोकनाथ पाण्डे माताकी चौकीमा सिनेमाटोग्राफर।’

विकास रौनियारले खिचेको नेपाली अभिनेत्रीहरु सामूहिक तस्बिर।

विकासले यहाँ प्रदर्शनमा राखेका धेरैजसो फोटोहरु ‘मिनोल्टा एचआरटीको एनालग, नेगटिभ क्यामराले खिचिएको छ। उनले मिनोल्टा एच आर टीको वान जेरो वान क्यामरा धेरै चलाएका छन्। डिजिटल आएपछि उनी डिजिटल क्यामरा चलाउन थाले। उनीसँग भएका रंगिन र श्यामश्वेत तस्बिर संग्रहमा पहिलो पल्ट डिजिटल क्यामराले खिचेको चारवटा तस्बिर पनि थियो।

उनीसँग नेपाली अभिनेत्रीहरुको सामूहिक तस्बिर पनि छ। त्यो फोटोमा सुशीला रायमाझी, शान्ति मास्के, शुभद्रा अधिकारी, बसुन्धरा भुषाल, भुवन चन्द, गायिका देवीका बन्दना पनि सँगै थिए। गायिका देवीका बन्दनाको गीत सुटिङ्ग गर्दा उनीहरु एक साथ बसेको देखेर रौनियारले तस्बिर लिएका हुन् ।

निखिल उप्रेति हामफालेको फोटोको कथा

निखिल उप्रेति ६ तलामाथिबाट हामफाल्दै गरेको तस्बिर विकास रौनियारले खिचेका हुन्।

उनको संग्रहमा नायक निखिल उप्रेति छतबाट हामफालेको तस्बिर पनि थियो। यो तस्बिर नजिकै पुगेपछि उनको अनुहारको रंग फेरियो। अग्लो घरको छतबाट तल झर्दै गरेका एक युवा थिए। तल कागजका बक्साहरु अग्लो गरी राखिएको थियो। सडकमा भएका दुई पुरुषले माथि टाउको फर्काएको देखिन्छ।

त्यतीबेला नायक निखिल उप्रेति स्टन्ट गर्ने साहसी हिरोको रुपमा परिचित थिए। ‘म आफै यसको साक्षी हुँ, उनले दुईपल्ट ६ तलाबाट फाल हालेका हुन्’ रौनियारले भने, ‘शान्तिनगरमा कान्तिपुर पब्लिकेशनको अफिस बन्दै थियो। मैले थाहा पाएँ, अनि खिच्न गएँ।’

दोस्रो पल्ट हाम्फाल्दा उनेको हातमा सामान्य चोट नै लागेको थियो। रौनियार सम्झन्छन्, ‘निखिलले छैठौँ तलाबाट हाम्फालेको भनेर चलचित्रको प्रचार नै गरिएको थियो। यो पिँजडा चलचित्र छायाँकनको बेलामा खिचिएको हो। पब्लिसिटी नै ६ तलाबाट हामफालेको भनेर गरेपछि दर्शकको ओइरो लागेको थियो।

यो फोटो खिच्नलाई ७ बजे विकास त्यहाँ पुगेका थिए, ‘ठाउँ मिलाउँला मिलाउँदा १० बज्यो। सट राम्रो भएपछि हामीले बधाई दियौँ।‘

नेगेटिभ र डिजिटल जमाना

विकासले फोटोग्राफीको दुवै समयमा अभ्यास गरे। उनलाई यी दुवै तरिका अपनाउँदा धेरै मजा आयो । ‘प्राविधिक पाटोसँगै यस बिचमा अन्य भिन्नता पनि छन्, जस्तै नेगेटिभ हुँदा हामी एकदमै कम सट खिच्थ्यौँ, ३६–२४ वटा रोल हुन्थ्यो, हामी २० वटा पनि खिच्दैनथ्यौँ, आजकाल १००० नि खिच्न सकिन्छ।’ उनले भने, ‘मलाई अचम्म लाग्छ, मेरा राम्रा फोटाहरु एनालगमा नै छन्।’

उनले बारम्बार भने, ‘मलाई ब्ल्याक इन ह्वाइटमा मोह छ।’

उनले नेगेटिभ फोटो खिच्ने समयमा रिलको सीमितताको कारणले एकदमै कम तस्बिर खिच्ने तर राम्रो खिच्ने गरेको बताए। उनले एनालग प्रणाली हुँदा एकदमै मेहनत गर्ने पनि बताए। ‘सजक हुन्थ्यो, कुरेर बस्थे, कम फाटो खिचिन्थ्यो।’ रौनियारले भने, ‘त्यो बेलामा २५० रिल, धुलाउन एउटाको ५०, साइज हेरेर पैसा बढ्थ्यो। झन् एलनाज गर्नुप¥यो भने धेरै हुन्थ्यो। यो बेलामा कम्प्यूटराइज भएको थिएन। फोटो बनाउन साढे २ घण्टा लाग्थ्यो।’

उनले भने, ‘फोटो पत्रकार भईसकेपछि एनालगमा खिचियो, रंगीन नेगेटिभ पनि खिचिए, डिजिटल पनि खिचियो, स्लाइड्स पनि खिचेको हो।’
रौनियार फोटोग्राफीमा डिजिटल व्यवस्था आइसकेपछि फोटो पत्रकार धेरै अल्छि भएको मान्छन्। धेरै तस्बिर खिच्छन् । गुणात्मक रुपले बढेको छ भनेर प्रश्न गर्छन्। यद्यपि फोटो पत्रकारको चुनौती भने उनले पहिलेको भन्दा कम भएको मान्दैनन्।

सन् १९८६ बाट हिमाल, इनडिपेन्डेन्टमा पार्ट टाइम फोटोग्राफीको काम गरेका रौनियारले सन् १९९२ बाट कान्तिपुर सुरु भएपछि व्यवसायीक रुपमा फोटोपत्रकार भएर काम गर्न थालेका हुन्। उनको फोटोपत्रकारीतामा २२ वर्ष फोटो सम्पादक भएर काम गरेको अनुभव छ।

उनको तस्बिर नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फोटो प्रदर्शनी अन्तर्गत राखिएको छ। यहाँ उनले नेपाली चलचित्र, इतिहाससँग सम्बन्धि चाख हुनेलाई यो प्रदर्शनी उपयुक्त भएको बताए।

उनले जीवनभरमा खिचेका लाखौँ तस्बिरमध्ये ३५ हजार फोटोलाई सुरक्षित गरेर राखेका छन्। यो प्रदर्शनीमा १०० ओटा छानेका थिए, त्यसबाट छानिएका केहीलाई प्रदर्शनीमा राखिएको छ।

भिडियो हेर्नुहोस्:

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू