महराले सफाइ पाउनुका दुई मुख्य कारण

महराले सफाइ पाउनुका दुई मुख्य कारण

काठमाडौँ –  बलात्कार प्रयासको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएसँगै उनी डिल्लीबजार कारागारबाट घर फर्कदैँछन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेसँगै महरा १३४ दिनपछि कारागारबाट घर फर्कने छन् । जिल्ला अदालतको फैसलामा महरालाई सफाइ दिनुका मुख्य दुई कारण उल्लेखित छन् ।

पीडित भनिएकी महिलाले महरा आफ्नो कोठामा नआएको बयान दिएको र महराले पनि महिलाको कोठामा गएको कुरा अस्वीकार गरेकाले महरालाई दोषी करार गर्नुपर्ने आधार नदेखिएको फैसलामा उल्लेख छ ।

यस्तै पीडित भनिएकी महिलाको कोठामा भेटिएका रक्सीका बोतल लगायतका सामग्रीसँग महराको फिंगरप्रिन्ट परीक्षणबाट तुलनात्मक रुपमा नमिलेको फैसलामा उल्लेख छ ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू