राहदेव नमूना सहकारी गाउँमा छनौट

सिमकोट-सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ८ को राहदेव गाउँ सहकारी नमूना गाउँका रुपमा छनौट भएको छ।

कृषि क्षेत्रमा बढी सम्भावना भएको उक्त गाउँमा सहकारी मार्फत उत्पादनमा वृद्धि गर्न र स्वरोजगारी सिर्जना गर्न राहदेबलाई मनूना सहकारी गाउँका रुपमा छनौट गरिएको हो।

राहदेब गाउँ हुम्लाका स्थानीय रैथाने बाली उत्पादनका हिसाबले बढी सम्भावना भएको र हाल एकल रुपमा परम्परागत खेती प्रर्णालीबाट उत्पादन भएको अबस्थामा आधुनिक र सामूहिक खेती गरेर नमूना गाउँका रुपमा बिकास गर्न सहकारी नमूना गाउँका रुपमा राहदेबलाई छनौट गरिएको कृषि बिकास कार्यालयका प्रमुख चन्द्रभुषण झाले बताए।

कर्णाली प्रदेश सरकारको कृषि मन्त्रालयको नमूना सहकारी मोडेल गाउँ बनाउने कार्यक्रम अन्र्तगत राहदेब हुम्ला जिल्लाबाट छनौट भएको हो।
राहदेब गाउँ नमूना सहकारी गाउँका रुपमा छनौट भएपछि अब उक्त गाउँका सबै स्थानीय बासिन्दाहरुलाई सहकारीमा आबद्ध गरि फलफुल खेती, उन्नत तरकारी खेती र कुखुरा पालन ब्यबसाय सञ्चालन गरेर आयआर्जनमा वृद्धि गरिने उनले बताए।

नमूना सहकारीले उत्पादन गरेका बस्तुहरुको बजारिकरण पनि गरिने छ।यसका लागि कार्यालयले आर्थिक सहयोग गर्नेछ।किसानहरुले जग्गा उपलब्ध गराउनु पर्नेछ। राहदेबबाट केही प्रस्ताबना नमूना सहकारी गाउँ कार्यक्रमका लागि परेको तिनीहरु मध्यबाटै छनौट हुनेछन्।

हुम्ला जिल्लामा राहदेव गाउँलाई अन्‍नको भण्डारका रुपमा लिने गरिन्छ।गत वर्ष सर्केगार्ड गाउँपालिकालाई नमूना सहकारी गाउँ छनौट गरिएको भएपनि कार्यक्रम सफल नभएपछि चालू आर्थिक वर्षमा राहदेबलाई तोकेरै नमूना सहकारी गाउँ छनौट गरिएको छ।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्