छोरी-बुहारीसँगै डिल्लीबजारबाट निस्कँदै गर्दा महरालाई प्रचण्डले दिए फोनबाटै बधाई

डिल्लीबजार कारागारबाट छोरी कुस्मा, बुहारी विमला र एक नातीका साथ बाहिरिँदै कृष्णबहादुर महरा।

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेलबाट छुटे लगत्तै कृष्णबहादुर महरालाई बधाई दिएका छन्।

सोमबार काठमाडौँ जिल्ला अदालतबाट संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगबाट सफाइ पाएसँगै प्रचण्डले फोनमार्फत महरालाई बधाई दिएका हुन्।

डिल्लीबजार कारागारबाट छुट्ने क्रममा महरालाई प्रचण्डले सफाइ पाएकोमा बधाई दिएको दाहालको सचिवालयले जनाएको छ। महिलाको कोठामै पुगेर करणी प्रयास गरेको आरोप लागेपछि महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

असोज १८ गते जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासको आदेशअनुसार उनी डिल्लीबजार कारागारमा पुर्पक्ष थुनामा रहेका थिए। पक्राउ परेको १३४ दिनपछि महरा सोमबार डिल्लीबजार कारागारबाट निर्दोष सावित भएर घर फर्किएका हुन्।

कारागारबाट निस्किँदै गर्दा महराले आफूलाई न्याय पाएको भन्दै अदालतप्रति कृतज्ञता प्रकट गरे। त्यस्तै कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएको उनका सहयोगी डिल्ली मल्लले जानकारी दिए।

डिल्लीबजार कारगारबाट उनी असोज १९ गते पक्राउ गर्दा आफ्नै रातो रंगको कारमा चढेर सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगेका थिए। सोमबार महरा त्यही कारमा छोरी कुस्मा, बुहारी विमला र एक नातिका साथ मुस्कुराउँदै बाहिरिएका थिए।

महरा जेलबाट छुट्दै गर्दा नेकपाका सांसद, नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।

भिडियाे: रविन आचार्य

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्