कस्मिरको विषयमा छलफल गर्ने बेलायती सांसदलाई भारतले एयरपोर्टबाटै फर्कायो

नयाँ दिल्ली –  भारतले एक बेलायती सांसदलाई राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको छ।

लेबर पार्टीबाट बेलायती संसदका लागि  निर्वाचित डेबी अब्राहम्सको भिसा रद्द देखिएपछि भारतीय अध्यागमन विभागले उनलाई विमानस्थलबाटै फर्काएको हो। बेलायतको संसदमा डेबी विवादास्पद कस्मिरका विषयमा छलफल गर्ने समितिको नेतृत्व गर्छिन्।

डेबी सहयोगी हरप्रित उप्पलसहित सोमबार बिहान फ्लाई एमिरेट्समार्फत दुबईबाट नयाँ दिल्ली उत्रिएकी थिइन्। तर अध्यागमनले भिसा रद्ध भएको देखिएपछि उनलाई भारत प्रवेश गर्न अस्विकार गर्‍यो। आफूसँग पहिला नै रहेको भारतको भिसा रद्द भएकोबारे डेबीले चाल पाएकी थिइनन्। डेबीसँग आगामी अक्टोबरसम्मका लागि भारतको भिसा थियो। भिसा रद्द भएको थाहा पाएपछि उनले ‘अन-अराइभल’ भिसा माग गरेपछि विमानस्थल अध्यागनले अस्वीकार गरेको थियो। उनले भारत सरकारले कस्मिरलाई केन्द्रशासित बनाएको घटनाको विरोध गरेकी छन्।

भारतीय विदेश मन्त्रालय र अध्यागमन विभाग दुवैले डेबीको भिसा रद्द गरिनुको कारणबारे केही नखुलाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्। उनी दुई दिने भ्रमणका लागि भारत आएकी थिइन्।  डेबी सन् २०११ यता बेलायती संसदमा ओल्डह्याम इस्ट एन्ड सेडलवर्थको लगातार प्रतिनिधित्व गरिरहेकी छिन्।

 

 

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्