महरा प्रकरणः सामाजिक जीवनमा पुग्नु क्षति पुगेपछि निर्दोष

डिल्लीबजार कारागारबाट छोरी कुस्मा, बुहारी विमला र एक नातीका साथ बाहिरिँदै कृष्णबहादुर महरा।

काठमाडौँ – सभामुख निवासबाटै पक्राउ परेको १ सय ३४ दिनपछि कृष्णबहादुर महरा सोमबार निर्दोष ठहरिए। महरा अदालत एवं कानुनको नजिरमा निर्दोष ठहरिए पनि उनले व्यक्तिगत, समाजिक र राजनीतिक जीवनका हरेक पाइलामा यो आरोपको सामना गरिहरनु पर्नेछ।

जिल्ला अदालतले सफाइ दिए पनि उनको सामाजिक जीवनमा पुगेको क्षतिको मूल्य कहिल्यै पाउने छैनन्।

संसद सचिवालयको स्वाथ्य इकाइमा काम गर्ने रोशनी शाहीले आफूमाथि तत्कालीन सभामुखले तीनकुनेस्थित कोठामै आएर करणी प्रयास गरेको आरोप लगाएपछि देशको पाँचौ ठूलो पदमा आसिन महरा पदबाट राजीनामा दिँदै एकाएक प्रहरी खोरमा पुगे।

जुन घटना महरा स्वयम्‌ले त परै जाओस् अरु कुनै पनि व्यक्तिले कल्पना गरेभन्दा निक्कै टाढा थियो। नेपालले अवलम्बन गरेको अभियोजनात्मक फौजदारी न्याय प्रणालीको ‘पहिला थुन अनि सुन’ भन्ने सिद्धान्त विधि निर्माण गर्ने सर्वोच्च थलोका मुख्य व्यक्तिको हकमा पनि पालना हुन सकेन।

म्याद थपपछि जिल्ला अदालतबाट कृष्णबहादुर महरालाई फर्काउँदै प्रहरी।

उनले आफूमाथि ‘सनक’को भरमा आरोप लगाएकै कारण सामाजिक क्षति व्यहोर्नुपर्यो। सुरुमा महराले जबरजस्ती प्रयास गरेको बताएकी शाहीले दोस्रो दिनमै बोली फेरिन्।

उनले प्रहरी, मिडियाका सामु मात्र होइन, अदालतमा बकपत्र गर्दासमेत महरा आफ्नो कोठामा नआएको र आफूमाथि दुर्व्यवहारनभएको जिकिर लिइन्। त्यसैलाई आधार मान्दै सोमबार काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई जबरजस्ती करणी उद्योगमा निर्दोष ठह¥याए।

जबरजस्ती करणी आरोप लागेको साढे तीन महिनाको अवधिमा महराले आफ्नै सहकर्मी, कार्यकर्ता र सर्वसाधरणबाट ‘तिरस्कार’ सहनु पर्यो। सम्बद्ध पार्टी नेकपाले असोज १४ गते बिहान सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दियो।

तर महराले सभामुखबाट मात्र राजीनामा दिए, सांसदबाट दिएनन्। निलम्बित अवस्थामा रहेको उनको सांसद पद अब फुकुवा भएको छ।

लामो राजनीतिक यात्रासँगै तय गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा नैतिक आचारणको कमी हरेको भन्दै सार्वजनिक रुपमै आलोचना गरे।

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको औपचारिक मञ्चबाटै महराविरुद्ध पटकपटक आलोचना र छेडखान गर्न बाँकी राखेनन्। तर सोमबार अदालतबाट सफाइ पाएसँगै नेकपा अध्यक्ष प्रचण्डले महरालाई जेलबाट छुटे लगत्तै बधाई दिएका छन्।

प्रहरीले पक्राउ गरी कृष्णबहादुर महरालाई गाडीमा लगेको हो। तस्बिर: बर्षा शाह/देश सञ्चार

दाहाल जस्तै आलोचना गर्नेहरुले अब महरालाई बधाई त दिनेछन् तर उनलाई पुगेको सामाजिक र मानसिक क्षतिको मूल्य कसैले दिनेछैन।

राजनीतिक रुपमा भने केही प्रश्न उठे पनि उनी पुनःस्थापित हुने पर्याप्त संभावना अवसर बाँकी नै छ।

कात्तिक १८ गते जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासको आदेशअनुसार उनी डिल्लीबजार कारागारमा पुर्पक्ष थुनामा रहेका थिए। कारागारबाट निस्किदै गर्दा महराले आफूलाई न्याय पाएको भन्दै अदालतप्रति कृतज्ञता प्रकट गरे।

त्यस्तै कारागारमा रहदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

सभामुख निवासबाट असोज १९ गते पक्राउ गर्दा आफ्नै रातो रंगको कारमा चढेर सिंहदरबारस्थि प्रहरी वृत्तमा पुगेका महरा सोमबार त्यहीँ बा १८ च ४०० नम्बरको कारमा छोरी कुस्मा, बुहारी विमला र एक नातीका साथ मुस्कुराउँदै खुमलटारस्थि निवास पुगे।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू