वुहानका नेपालीको उद्धारमा सरकारको सफलता

१ सय ७५ परिवार र सिंगो देश नै खुसी भएको यो क्षण

खरिपाटीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी। तस्बिरहरु: राजेशकुमार गुप्ता।

काठमाडौँ– आर्थिक र सुरक्षाका हिसाबले विश्वमै पहिलो हुन प्रयासरत चीनलाई भुङ्ग्रोमा पारिहेको ‘नोबेल कोरोना भाइरस’ (कोबिड-१९) को इपिसेन्टरबाट नेपालीलाई उद्धार गरी स्वदेशमा ल्याई ‘क्वारेन्टाइन’मा राख्ने अग्नि परीक्षामा सरकार पास भएको छ।

तर, उनीहरु या अरु कुनै नेपालीलाई रोग पुष्टि भएमा बचाउने दायित्व र जोखिम भने सरकारका लागि जीवितै छ।  यस्तो सुविधा आगामी दिनमा अन्य नागरिकले पाउलान्? प्रतिक्षारत रहेको छ।

समस्या आउँदा अन्तिममा तातिने या तयारी गर्ने प्रवृति भन्दा फरक रुपमा यसपटक सरकारले संक्रमणग्रस्त वुहानका नेपाली विद्यार्थीलाई सकुशल र सुरक्षित स्वदेश ल्याउनुपूर्व ‘क्वारेन्टाइन सेन्टर’ निर्माण र सञ्चालनको बिल्कुलै नयाँ अभ्यासमा सफलता हासिल गरेको छ।यसअघि कहिल्यै नगरिएको यस्तो जोखिमपूर्ण काम कसरी सफल भयो?

दुई महिनाअघि मंसिर २० गते जीवनमरणको दोसाँधमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले ठिक पारेजस्तै यसपल्ट पनि स्वास्थ्य क्षेत्रकै फरक-फरक जिम्मेवारीमा रहेका ‘हिरोहरु’का कारण १ सय ७५ विद्यार्थी र परिवार मात्रै हैन सिंगो देश नै खुसी भएको छ। र, यो खुसीका लागि स्वास्थ्य अधिकारी अनवरत लागि परेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तगर्तको ‘हेल्थ इमर्जेन्सी अप्रेसन सेन्टर’ एचईओसीका प्रमुख एवं मन्त्रालयका प्रवक्ता सागर दाहाल भन्छन्, ‘हामी ठूलै परीक्षामा थियौँ। आपसी र बहुपक्षीय प्रयास, समर्थन र कामका कारण त्यसमा पास भयौँ जस्तो लाग्छ। तर चुनौती अझै बाँकी छन्। त्यसको सामना गर्नु हाम्रो दायित्व हो।’

पुस १५ गते चीनको वुहान सहरमा अचानक थुप्रै मानिस सिकिस्त भए। महामारीको एक सातापछि २२ गते चिनियाँ अधिकारीहरुले ती बिरामीमा ‘नोबेल कोरोना भाइरस’ पुष्टि गरेपछि विश्वको ध्यान एकाएक त्यसतर्फ मोडियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिम।

यो भाइरस ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ र ‘मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’कै परिवार थियो। तत्काललाई ‘नोवेल कोरोना भाइरस’ नाम दिइयो।

विश्वस्वास्थ्य संगठन ‘डब्लुएचओ’ले यो भाइरसबाट चीन सबैभन्दा बढी आक्रान्त रहेको स्वीकार्दै क्षेत्रीयस्तर र विश्व नै उच्च जोखिममा रहेको र त्योसँग जुध्न पूर्व तयारी गर्न आग्रह गर्‍यो।

त्यतिञ्जेसम्म नेपालमा प्रकाशित तथा प्रसारित समाचारहरुले खासै छोएनन् स्वास्थ्य मन्त्रालय, त्यसअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला(एनपिएचल)लाई।

कोरोना वुहानमा मात्रै सीमित हुने र नेपाल खासै डराउनु नपर्ने अड्कल गरे मन्त्रालय, इडीसीडी र एनपिएचलका स्वास्थ्य अधिकारीहरुले।

त्यसकारण नाम मात्रै र जिर्ण अवस्थाको ‘हेल्थ डेस्क’ रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएका यात्रु कुनै रोकतोकमा परेनन्।

त्यही हुलमा पुस २४ गते हुवानमा अध्ययनरत ३१ वर्षीय एक विद्यार्थी रुघाखोकी सहित भित्रिए। कोरोनाबारे उनी जानकार थिए तर चुपचाप घरतिर लागे।

अन्ततः लक्षण देखिएको १० दिनपछि मात्रै पुस २८ गते ज्वरो सहित टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे उनी।

चिकित्सकहरु संशयमा परे। छुट्टै भर्ना गरेर उनको उपचार थाले। उनको खकारको नमूना ‘थ्रोट स्वाब’ परिक्षणका लागि ‘एनपिएचल’ पूर्व तयारीमा थिएन। त्यो नमूना ‘डव्लुएचओली’द्धारा प्रमाणित हङकङको प्रयोगशाला पठाइयो।

माघ ९ गते स्वास्थ्य मन्त्रालयका अधिकारीहरु झस्किए ‘एनपिएचल’बाट ती व्यक्तिमा कोरोना पुष्टि भएको पत्र हातमा परेपछि।

पूर्व तयारी शुन्य जस्तै भएको अवस्थामा छ्याप्पछ्याप्ती आएका समाचारहरुले उनीहरु तातिए । भोलिपल्ट विमानस्थलका अधिकारीहरुसँग बैठक बसे।

‘हेल्थ डेस्क’लाई तत्कालै प्रभावकारी बनाउनुको विकल्प थिएन। तत्कालै हेल्थ डेस्कको स्थान परिवर्तन गरे। दुई वटा ‘थर्मल स्क्यानर’ जडान गरेर यात्रुको ‘स्क्रिनिङ’ गर्न थाले।

विडम्बना, दुईमध्ये एक ‘थर्मल स्क्यानर’ तत्कालै बिग्रियो, उनीहरु आत्तिनु स्वाभाविक थियो। शंकास्पद व्यक्तिलाई आएकै बाटोबाट फर्काएर अस्पताल ल्याउन एम्बुलेन्स राखियो। एक मेडिकल अफिसर सहित ८ स्वास्थ्यकर्मी ‘हेल्थ डेस्क’मा परिचालन गरेपछि उनीहरुले लामो सास फेरे।

तर वुहानमा कोरोना झन आक्रामक बन्दै गयो। चुप बस्ने स्थिति पटक्कै थिएन। पटक-पटक बिरामीको ‘थ्रोट स्वाब’ हङकङ पठाइरहन असम्भव थियो। ‘एनपिएचएल’मा ‘केमिकल’ आएसँगै माघ १३ गतेबाट विमानस्थलमा भेटिएका शंकास्पद व्यक्तिलाई ‘थ्रोट स्वाब’जाँच गर्न ल्याउने बाटो खुल्यो।

‘जनसमुदाय आत्तिनुलाई स्वाभाविक नै ठान्यौँ। हामीलाई भने यो काम गर्न सक्छौँ भन्ने लागेकै थियो। धैर्य पूर्वक काम गर्‍यौँ,’ ‘एनपिएचएल’ की निर्देशक डा. रुना झा भन्छिन्।

रोग पुष्टि गर्न ‘एनपिएचएल’ सक्षम भएकोमा स्वास्थ्य अधिकारीहरुलाई तत्कालका लागि केही राहत मिल्यो।

तर अर्कै प्रश्न तेर्सियो। रोग पुष्टि भयो भने कहाँ उपचार गर्ने ? कति अस्पताल आइसोलसन वार्ड उपलब्ध गराउन तयार छन्?

छलफल सुरु भयो। उपत्यकाका ‘हव’ तथा ‘कि स्याटलाइट’ अस्पतालले ‘आइसोलेसन वार्ड’ उपलब्ध गराउने बाचा गरे। ‘पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट’ पिपीआईको जोहो गरियो ।

चीनसँगै नेपाल र विश्वकै लागि कोरोना नयाँ रोग थियो। केरोनाबाट त्रसिद नेपालमा त्यसबारे जानकारी समेटिएको पम्पेलट लगायत ‘आइसी मेटिरिअल्स’ निर्माणसँगै धमाधम वितरण हुन थाल्यो।

परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई कोरोनाको अवस्था र पूर्वतयारीबारे ‘ब्रिफिङ’ गर्ने जिम्मा स्वास्थ्यकै थियो।

‘थ्रोट स्वाब’ संकलन गरी ‘एनपीएचएल’ सुरक्षित पठाउन ‘आइसोलेसन वार्ड’ दिने बाचा गरेका अस्पताललाई सक्षम बनाइयो।

स्वास्थ्य मन्त्रालयको आकस्मिक केन्द्र। तस्बिर: दीपा दाहाल

मन्त्रालययको (एचईओसी)लाई सञ्चालनमा ल्याइयो, सह–प्रवक्ता दाहालले त्यसको मोर्चा सम्हाले। उनी लगायत अधिकारीहरुलाई कैयौँ रात निन्द्रा परेन।

विमानस्थलबाट मात्रै नभई नाकाबाट पनि रोगसहित यात्रु भित्रिने जोखिम छँदै थियो। तर प्रदेशहरु अन्यौलमा थिए। (एचईओसी)बाट प्रदेशका सरोकारवालासँग ‘भिडियो कन्फ्रेन्स’बाट यात्रुमाथि निगरानी, शंकास्पद व्यक्तिको नमूना सकंलन गर्न र आकस्मिक उपचारको व्यवस्था गर्न निर्देशन दिइयो, यो पनि पुरानो अभ्यास थिएन।

माघ १५ गते उपत्यकाका ५ वटा हब र १३ वटा सेटेलाइट अस्पतालहरु कोरोना भाइरसका ‘केस’ लाई ‘आइसोलेसन वार्ड’मा राख्न सहमत भए।

विमानस्थलको ‘हेल्थ डेस्क’मा २४ सै घण्टे निगरानीमा थिए स्वास्थ्यकर्मी। ‘आरटी पिसीआर’ विधिबाट नमूना संकलन र जाँचले ‘एनपीएचएल’को व्यस्तता बढ्यो। पाटन र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ‘पीपीआई’ पाए।

स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा दैनिक जसो बैठक बस्ने र अनुगमन कार्य चलिरहेको थियो। सरुवारोग अस्पतालमा पुगेका ८ जनामाथिको आशंका हट्यो, उनीहरुको ‘टेस्ट रिपोर्ट’ ‘नेगेटिभ’ आएपछि।

माघ १६ सम्म चीनसँगै १५ मुलुकमा कोरोना भाइरसको पुष्टि भइसकेको थियो। स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बहुक्षेत्रीय उच्चस्तरीय बैठकमा भावी आपतकालिन अवस्था ब्यवस्थापनको स्थायी संरचना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने सम्मको निर्णय भयो।

खरिपाटीस्थित क्वारेन्टाइन स्थलको एक भवन। तस्बिर: बर्षा शाह

१७ गते मन्त्री ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन, सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक, गुणस्तर मापन तथा नियमन शाखाको प्रमुख डा. दिपेन्द्ररमण सिहंको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन गरियो। चीनकोसँगको तातोपानी र केरुङ लगायत नाकामा पनि अनुगमन बढाइयो।

मन्त्री ढकालले चीनस्थित नेपाली राजदूत लिलामणि पौडेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालासँग छुट्टाछुट्टै छलफल गरी विद्यार्थी कसरी फर्काउन सकिन्छ भन्नेबारे विस्तृत सुझाव लिए।

त्यतिञ्जेल सरकार पूर्वतयारी नगरेको र चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन सुरसार नै नगरेको भन्दै तिव्र आलोचना खेपिरहेको थियो। त्रासको ग्राफ उक्लदो थियो।

सबैभन्दा बढी झस्किएको दिन

वुहानबाट आएका प्रकाश कार्की।

माघ १९ सम्म कोरोना भाइरस २३ मुलुकमा पुगिसकेको थियो। वुहानका नेपाली विद्यार्थीले स्वदेश फिर्तिका लागि आवेदन नै दिएपछि स्वास्थ्य अधिकारीको मुटुले ढ्याङग्रो ठोक्यो।

यता उनीहरुका परिवारको दबाब थेगिनसक्नु बन्दै थियो। सरुवा रोग अस्पतालका डा. अनुप बास्तोल, डा. शेरबहादुर पुन लगायत चिकित्सकहरु कोरोनाबाट आतंकित नहुन भन्दै सञ्चारमाध्यमार्फत नागरिकलाई सम्झाउन ब्यस्त बने।

चीनबाट ल्याएका विद्यार्थीलाई ‘क्वारेन्टाइन’मा राख्नु पर्ने विल्कुलै नयाँ जिम्मेवारी थियो। नेपाललाई हालसम्म पशुपंक्षीलाई मात्रै ‘क्वारेन्टाइनमा राखेको अनुभव थियो।

स्वास्थ्यसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी अस्पतालका चिकित्सकले चासो बढाए,संलग्नता देखाए। रक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि सक्रियता बढ्यो।

माघ २१ सम्म ओठमुख सुकाउँदै भिडियोबाट बचाउको अपिल गर्न थालिसकेका थिए विद्यार्थीले हुवानबाट।

कोरोनाको लक्षण १५ दिन भित्र देखिन सक्ने हुँदा त्यहाँबाट ल्याइने विद्यार्थीलाई कम्तिमा १५ दिन नै ‘क्वारेनटाइन’ राख्ने विज्ञहरुसहितको सामूहिक निष्कर्ष निस्किष्यो।

‘इन्कुवेसन पिरियड’ भर ‘क्वारेन्टाइन’ मा रहेकालाई कोरोनाको लक्षण देखिएमा उनीहरुलाई तुरुन्त ‘आइसोलेसन वार्ड’ मा पुर्‍याएर थप परीक्षण र उपचार गर्न अस्पताल तयार भए।

सबैभन्दा महत्वपूर्ण पक्ष, विमानबाट ल्याउँदा विमानस्थलमा, विमानस्थलबाट ‘क्वारेन्टाइन’ स्थलसम्म लान, ‘क्वारेन्टाइन’ स्थलमा स्वास्थ्य सेवा उपलब्ध गराउन र आवश्यक परे ‘आइसोलेसन वार्ड’ लाई तयार पार्न स्तरीय कार्यविधि (एसओपी) निर्माण गरियो।

विमानस्थललाई संक्रमणको सम्भावनाबाट शून्य बनाउने रणनीति उनीहरुले अपनाए।

सरुवा रोग अस्पतालमा मात्रै ४३ वटा ‘आइसोलेसन’ बेडहरु छुट्याइयो। मन्त्रालयले तयार पारेको ‘अल्गोरिदम’ र ‘प्रोटोकल’ अनिवार्य पालना गर्न प्रदेशलाई निर्देशन दिइयो।

माघ २७ गते ‘क्वारेन्टाइन’ र ‘स्क्रीनिंगमा’ सामेल हुने ८३ जनाले अभिमुखिकरण तालिम पाए।

वुहानबाट नेपाली लिएरआएको नेपाल वायुसेवा निगमको जहाज। तस्बिर: सुलभ श्रेष्ठ

माघ १९ गतेसम्म कोरोनाबाट ज्यान गुमाउनेमा एक फिलिपिनी पनि परेका थिए।

त्यही बेला सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकीले अर्को आतंक मच्चायो मेडिकल अधिकृतसहित पाँच जना त्यहाँ खटिए। त्रास साम्य पार्न प्रदेश जनस्वास्थ्य कार्यालयबाट ‘भिटिएम’ सहितको प्राविधिक टोली त्यहाँ पुग्यो, शंस्कास्पद टेष्ट रिपोर्ट नेगेटिभ आयो।

चीनमा अध्ययनरत विद्यार्थी बचाउ संघर्ष अभियान सुरु भएको थियो, स्वास्थ्य मन्त्रालय देखि मानव अधिकार आयोगमा उनीहरु धाउँदै थिए।

मन्त्रालयको हटलाईनमा हरेक दिन १२ जनाले सम्म आत्तिदै कल गरिरहेका थिए।

चौतर्फी दबाबमा रहेका स्वास्थ्यमन्त्री ढकालले २३ गते नै हुवानका विद्यार्थीलाई ल्याउन आफूहरु तयार भएको जानकारी अन्ततः दिए संसदीय समितिलाई ।

फागुन १ गते हुवान जाने विमानमा सामेल हुने ‘क्रिउ मेम्बर्स’ र अन्य गरी १८ जनाले ‘पीपीए’ प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम पाए। त्यस्तो तालिम होटल असोसिएसन नेपाल (हान) का कार्यकारी सदस्यहरु र चिकित्सकलाई पनि दिइयो।

असमान्य तापक्रम भएकाहरु ‘एनपीएचएल’ आउने क्रम जारी थियो, विमानस्थलबाट। थाइल्याण्ड, चीन र चीन हुँदै आउने यात्रुलाई व्यक्तिगरुपमै जाँचिएको थियो।

फागुन २ गतेसम्म कोरोना २४ देशमा फैलियो । यसले चीनमा मात्रै १३६८ को ज्यान लिएको थियो भने जापान र फिलिपिन्सका एक –एक जना परेका थिए।

‘क्वारेन्टाइन’ लाई लिएर निकै विवाद भयो । स्वास्थ्यले नागार्जुन, खरिपाटी लगायत चारमध्ये एक स्थान छनौट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई आग्रह गर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले खरिपाटी रोजे।

डब्लएचओको मापदण्ड र इन्टरनेशल हेल्थ रेगुलेसन २००५ ( आईएचआर) को नियअनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा ‘क्वारेन्टाइन’ रातारात निर्माण गरियो।

आफ्नो ठाउँमा संक्रमितलाई ल्याउन लागेको भन्दै स्थानीय तहमा विरोध हुन थाल्यो।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो क्षेत्रमा ‘क्वारेन्टाइन’ नवनाउन मन्त्रालयमा निवेदन समेत दिए। त्यसै पार्टीका सांसद प्रेम सुवालले ‘क्वारेन्टाइन’ का कारण स्थानीय डराएको र पयर्टक समेत आउन हिच्किचाएको भन्ने गुनासो संसदमा गरेपछि प्रधानमन्त्री ओलीले जवाफ दिए,‘ यस्ता व्यक्तिलाई अस्पतालको सुविधा भएको क्षेत्रमा राख्नु पर्छ । मेरो पनि जिल्ला भक्तपुरै हो । त्यसैले त्यहाँ राखेको हो।’

स्वास्थ्य परीक्षण गरी कुनै पनि स्वास्थ्य समस्या नरहेको अवस्थामा मात्रै चीनबाट आफ्नो देश फर्किरहेका थिए मानिसहरु। र सरकारले पनि आफ्ना स्वस्थ नागरिकलाई नेपाल ल्याउँदै थियो।
नेपाल एयरलाइन्ससँगको सहकार्यमा राष्ट्रिय ध्वजाबाहक विमानमार्फत उनीहरुलाई नेपाल ल्याउने निर्णयसँगै आलोचनाक एकाएक बन्द भयो। खुसीका वर्षा हुन थाले।

सबैभन्दा बढी खुसी स्वदेश फर्किन पाएका ती विद्यार्थी थिए, जसले कयौँ दिन बन्द कोठामा आफूलाई सिमित राखे। मानसिक तनाव झेले। करिअरमा धक्का या पछाडि पर्ने डर छदै थियो।

आफ्नो ज्यानको बाजी लगाउने चिकित्सक र स्वास्थ्यकर्मी


ती विद्यार्थी रोगरहित भएपनि यात्राका क्रममा देखिन सक्ने कुनै पनि स्वास्थ्य समस्याको व्यवस्थापनका लागि नेपाली सेनाका चिकित्सक र अन्य स्वास्थ्यकर्मीको निगरानीमा ल्याउने निर्णय गरियो। सबैभन्दा जोखिमपूर्ण काम थियो त्यो।

विद्यार्थी लक्षण रहित भएको भनिएपनि चीनमा कतिपय मानिसले लक्षण बिनानै ज्यान गुमाएका थिए। र उनीहरुको उपाचार गर्दा गर्दै चिकित्सकको समेत ज्यान गएको थियो।

तर नेपाली चिकित्सक र अन्य स्वास्थ्यकर्मी आफ्नो ज्यान धरापमा राखेर खरिपाटीमा कम्तिमा १४ दिन विद्यार्थीको ‘थ्रोट स्वाब’ संकलन, परीक्षण र उपचारको अठोटमा छन्। २४ सैँ घण्टा ती विद्यार्थी निगरानीमा छन्।

कोरोनाको कुनै पनि लक्षण देखिएमा वा टेस्ट रिपोर्ट पोजेटिभ आएमा उनीहरुले सुरक्षितरुपमा एम्बुलेन्समा पूर्वनिर्धारित अस्पतालमा पुर्याउनु पर्ने छ।

यो सबै गर्न सरकारले करोडौँ खर्च गरेको छ । तर अहिले त्यसको एकिन गर्न नसकिने सहप्रवक्ता दाहाल बताउँछन्।

‘सबैले आआफ्नो जिम्मेवारी पुरा गर्नु भएको छ । तर कति खर्च भयो भन्ने हिसाव गरिएको छैन,’ उनी भन्छन्।

कोरोनाले कुल १५२६ जनाको ज्यान लिइसकेको दिन फागुन ४ गते बिहान विमानस्थल ओर्लिदा मास्कले ओठको मुस्कान देखाउन नसकेपछि आँखाबाट देखाए।

नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये ४ जना अन्तिममा आएनन्। विमानस्थलमा गरिएको स्वास्थ्य परीक्षणमा भाइरसको लक्षण भेटिएका शंकास्पद चार जनालाई उच्च स्वास्थ्य निगरानीमा उतै राखियो ।

तर ‘क्वारेन्टाइन’ खरिपाटीका विद्यार्थी भन्दै छन्,‘ सरकारले राम्रो व्यवस्था गरेको रहेछ, ज्यान बच्यो, खुसी फर्कियो, ढिलो चाँडो पढाइ त पूरा गरिन्छ।’

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्