धनगढीमा आमरण अनशन बसेका मोर्चा संयोजक लक्ष्मण थारु अस्पताल भर्ना

धनगढी- फागुन १ गते देखि आमरण अनसनमा बसेका थारुवा/ थरुहट राष्ट्रिय मुक्ति मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या आएपछि सोमबार बेलुका ८ बजे सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

नेता थारुलाई सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको अस्पतालले जनाएको छ। अनशनरत थारुको स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल ल्याईएको मोर्चाका कैलाली संयोजक माधब थारुले बताए।

सेती प्रादेशीक अस्पतालका इर्मेजेन्सी बिभाग प्रमुख डाक्टर जगदिश जोशीले लक्ष्मण थारु शारिरीक रुपमा निकै कमजोरी रहेको र अन्य अबस्था भने सामान्य रहेको बताए। रेशम चौधरी सहित ११ जनालाई रिहाइको माग गर्दै थारुहटले धनगढीमा अनशन संग संगै मोर्चाले बिरोध र्‍याली, कोण सभा चक्काजाम लगायतका कार्यक्रमहरु पनि गरिरहेको छ।

यसै क्रममा सोमबार धनगढीको क्याम्पस चोकबाट बिरोध र्‍याली निकाली एलएन चोकमा कोण सभा गरेका छन् । कोण सभामा थारुनेताहरुले आफ्नो आन्दोलन र मागका बारेमा सरकारले वेवास्ता गरेको बताएका थिए।

कोण सभालाई सम्वोधन गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज चौधरीले आफ्नो अधिकारको लागि लडने थारुको छोरो सांसद चौधरीलाई झुटा मुद्दा लगाएर थुनामा राख्नु दुःखदायी भएको बताए।

‘अब हामी चुप लागेर बस्दैनौ’, उनले भने, ‘जबसम्म सरकारले संविधान संशोधन गरी थारुको अधिकार दिँदैन र सांसद चौधरी सहित ११ जनाको रिहाई नगरिदा सम्म आन्दोलन जारी रहन्छ।’

सांसद चौधरी सहित ११ जना रिहाइ लगायत १४ बुँदे मागसहित थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु कैलालीको क्याम्पस रोडमा आमरण अनसन बसेको ५ दिन भइसक्दा पनि सरकारको ध्यान जान नसक्नु दुःखदायी भएको थारु नेताहरु बताउँछन्।

सांसद चौधरी लगायत ११ जनाको रिहाइ र पूर्वन्यायाधीश गिरिशचन्द्रलाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्ने लगायतका १४ बुँदे माग छन्।

मोर्चाको प्रदर्शनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाल लगायत संघ–संस्थाले पनि ऐक्यवद्धता जनाएका छन्।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्