नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा ‘बुलबुल’ लाई डबल ह्याट्रिक

काठमाडौँ– नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा ‘बुलबुल’ ले फिचर विधाका सबै पुरस्कार जितेको छ। विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले डबल हयाट्रिक गरेको छ । राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको फेस्टिभलमा बुलबुलले नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो ।

चलचित्रबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी थिइन् । त्यसैगरि जुरी अवार्ड अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले जितेका थिए ।

बुलबुललाई पछ्याउँदै ‘गोपी’ले तीन अवार्ड हात पारेको थियो । समारोहमा ‘गोपी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे। त्यसैगरी छायाँकार शेलेन्द्र डि कार्कीको छायांकनलाई पनि प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट ठानेको थियो ।

कार्यक्रममा नेपाली सर्ट चलचित्र तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पाएको थियो भने इन्टरनेसनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको पायो। नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित ‘कलम’ले जितेको थियो । प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका थिए । सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर हाफ’ले पाएको थियो ।

बहुपति प्रथाको कथा समेटिएको गणेश पायडे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरिएको थियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको थियो ।

यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको स्प्रिट अफ दि ड्रइङ गर्ल’ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म नुरी उत्कृष्ट मानिएको थियो । फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको थियो । बाग्मति अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ ।

समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्यो ।
फिचर चलचित्र तर्फका मुख्य जुरी प्रकाश झाले नेपालका फिल्मसँगको यो पहिलो साक्षात्कार भए पनि नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताए। उनले नेपालसँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको पनि बताए ।

अवार्डमा विजेता छान्ने काम फिचर र डकुमेन्ट्रीमा छुट्याएर गरिएको थियो । फिचर फिल्म तर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिए भने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले गरेका थिए । श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए । फेस्टिभलको आयोजना नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले गरेको हो।

फाल्गुन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्