च्याम्पियन मच्छिन्द्रका कप्तान विराज महर्जनसँग अन्तर्वार्ता

‘मैले त जोक गरेको थिएँ तर ट्रफीको सौभाग्य हाम्रै टिमले पायो’

अघिल्लो सिजन रेलिगेसन क्षेत्रमा रहेको मच्छिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेपछि काठमाडौँको इन्द्रचोक क्षेत्रको यो क्लबको चर्चा यतिबेला घरेलु फुटबलमा सर्वत्र छ। लिग सुरु नहुँदै एक अंक गुमाइसकेको  (अघिल्लो सिजन रेलिगेसनको व्यवस्था थिएन तर अन्तिमस्थानमा रहने टोलीलाई अर्को सिजन २ अंक र तलबाट एक स्थान माथी रहने टोलीको अर्को सिजन एक अंक घटुवा गरिने अखिल नेपाल फुटबल संघ-एन्फाले विषेश व्यवस्था गरेको थियो। सामान्यतया घरेलु फुटबलमा रेलिगेसन हुने गरेपनि लामो समयपछि लिग सुचारु भएको भन्दै एन्फाले एकपटकका लागि उक्त व्यवस्था गरेको थियो ) मच्छिन्द्रले अन्तिम खेलमा नेपाल आर्मीलाई १-० गोलले हराएर इतिहासमै पहिलोपटक घरेलु लिगको उपाधि जितेको हो। मच्छिन्द्रसँग भिड्नुअघि आर्मी एक अंकको अग्रतासहित शीर्षस्थानमा थियो।

ही कारण लिग फुटबल भए पनि मच्छिन्द्र र आर्मीबीचको खेल ‘फाइनल’ सरह थियो। उपाधि जित्न बराबरीकै नतिजा पर्याप्त रहेको आर्मी आफ्नै खेलाडीबाट भएको गोल (आत्मघाती)मा निराश बन्यो। यतिबेला मच्छिन्द्रसँगै कप्तान विराज महर्जन पनि चर्चामा छन्। उनले तीन फरक क्लबबाट  घरेलु लिगको उपाधि जित्ने गर्विलो इतिहास बनाएका छन्।

यसअघि थ्रीस्टार र मनाङ मर्स्याङ्दीका लागि उपाधि जत्दा पनि विराज नै कप्तान थिए। केही समययता राष्ट्रिय टोलीमा स्थान बनाउन छाडेका विराजसँग पछिल्लो उतारचढाव, उपलब्धि र आगामी योजनाबारे देशसन्चारका लोकेन्द्र प्रसाईले कुरा गरेका छन्। 

१. आर्मीसँगको खेल हुनु अघिल्लो दिन आयोजित प्रिम्याच कन्फरेन्समा तपाईँले विपक्षी टोलीका कप्तान भरत खवाससँग जिस्कँदै ‘ट्रफी आज तिमी उचाल म भोलि उचाल्छु’ भन्नु  भएको थियो। जितेरै छाड्नु भयो। एक अंकले पछाडि हुँदा पनि त्यस्तो के आत्मविश्वास थियो? 

भरत र म सानैदेखिको साथी हौँ। एन्फा एकेडेमीमा सँगै बस्यौँ। रुम पार्टनर थियौँ। नेपालका लागि उमेरस्तरको राष्ट्रिय टोलीका लागि पनि सँगै खेल्यौँ। हामी अब भनौँ न ‘ब्रदर फ्रम डिफरेन्ट मदर’ भनेजस्तो हो। दाजुभाइजस्तै। त्यो बन्डिङ एकदमै राम्रो छ।

हामीबीच हाँसीमजाक र ठट्टा धेरै हुन्छ। पत्रकारले ट्रफीसाथ दुई कप्तानको फोटो खिच्नका लागि आग्रह गरेपछि  मैले ट्रफी राखेर भन्दा पनि उठाएर खिच्दा राम्रो हुन्छ भन्ने लागेर भरतलाई ‘ल राजा ट्रफी उठाउ’ भनेँ। भरतले कान नजिकै आएर सुटुक्कै, विस्तारै ‘राजा आज तिमी उठाऊ, भोलि म उठाउँछु’ भन्यो। मलाई एक छिन के भन्ने के भन्नेजस्तो भयो।

मलाई कस्तो लाग्यो भने ‘भरतले कति सजिलै भन्दैछ,  हामी पनि फाइनल खेल्दैछौ नि। सजिलै खेल्न सकिने टोली त हामी हैन नि।’  त्यसपछि उसलाई केही पनि केही न केही जवाफ त फर्काउनै पर्‍यो। मैले पत्रकारहरुले सुन्ने गरी ‘ ल राजा तिमी आज उठाऊ, म भोलि उठाउँछु’ भनेँ। हलभरि हाँसो छुट्यो। खासमा त्यो जोक थियो, रमाइलोका लागि। तर वास्तविकता पनि दुईमध्ये एक थियो कि भरतले उचाल्ने कि त मैले।

२. त्यसो भए उपाधिको बढी हकदार को थियो, आर्मी कि मच्छिन्द्र?

भरत र आर्मीलाई उपाधि जित्नु जति महत्वपूर्ण थियो, त्यति नै महत्वपूर्ण थियो म र मच्छिन्द्रका लागि पनि। हामी प्लेइङ सेटका ६ जना खेलाडी मनाङ मर्स्याङ्गदी जस्तो क्लब छोडेर रेलिगेसन क्षेत्रमा रहेको मच्छिन्द्रमा आबद्ध भएका थियौँ। मच्छिन्द्रका लागि पनि इतिहास रच्ने अवसर थियो, नाम लेखाउने अवसर थियो। शायद प्रिम्याच कन्फरेन्समा पनि  त्यो सोचेर भनियो होला। त्यतिबेला मेरो मनमा धेरै कुराहरु पनि आएका थिए।

भोलिको म्याचमा के हुने हो कसो हुने हो भन्ने चिन्ता स्वभाविकरुपमा थियो। हामीसँग सब्सटिच्युसन पनि धेरै थिएन। तर लास्ट टाइम रेलिगेसन क्षेत्रमा रहेको टिम यो स्थितिसम्म पुग्नु नै ठूलो सफलता भइसकेको थियो। मच्छिन्द्र धेरै राम्रो ‘वे’ मा गइरहेकाले खेलाडीहरुमाथि मलाई विश्वास थियो।

म लगायत पहिलो रोजाइका धेरै खेलाडी घाइते भए पनि एउटा सत्य के थियो भने  ‘आर्मीलाई हरायौँ भने हामी उपाधि जित्न सक्छौँ।’ त्यसैले हामी फाइनल कसरी खेल्ने र जित्ने भन्नेमा केन्द्रित थियौँ। उता आर्मी एकदमै राम्रो फुटबल खेलिरहेको थियो। उनीहरु फिजिकल्ली र मेन्टली फिट देखिन्थे। ९० मिनेट नै तलमाथि गरेर खेल्न सक्ने क्षमता उसको थियो।

‘म्याक्सिमम’ गोल सेकेण्ड हाफमा निकालिरहेको थियो। पहिलो हाफमा गोल खाएर पनि दोस्रो हाफमा फर्कने उसलाई बानी परेको थियो। जतिबेला पनि नतिजा उल्टाउन सक्ने उसको प्रदर्शनप्रति हामी सचेत थियौँ। बाहिर आइरहेका समाचारहरु हेर्दा मच्छिन्द्रभन्दा आर्मी नै बलियो भन्ने खालका कुराहरु सुनिन्थे। बाह्रै महिना ट्रेनिङ गर्ने, सेट टोली अनि हरेक पोजिसनमा निकै बलियो भएका कारण पनि आर्मीबारे त्यस्ता कुराहरु आएका थिए होलान्।

आर्मीले नै जित्छ भन्दा कता कता हामी आर्मीभन्दा  कमै हो त भन्ने फिल हुन्थ्यो। तर हाम्रोमा पनि राम्रो केटाहरु थिए, विभिन्न क्लबहरुबाट आएका। लामो समयदेखि सँगै खेलिरहेका साथीहरु टोलीमा थियौँ। त्यसैले त्यतिधेरै आत्तिहाल्नुपर्ने अवस्था पनि थिएन।  खेलभर जसले राम्रो खेल्छ उसैले जित्छ  र उसैले जितोस् भन्ने थियो। जसले पहिला गोल गर्छ उसले खेल जित्छ भन्ने मलाई लागेको थियो।

३. आर्मीले भन्दा राम्रो खेलेरै मच्छिन्द्रले उपाधि जितेको हो त? 

मैले मपाँई भन्नुभन्दा पनि खेलपछि जति पनि म्यासेजहरु आएको थियो, त्यो अनुसार सबैले दुईवटै टोलीले उत्तिकै राम्रो खेलेको प्रतिक्रिया दिनु भएको थियो। धेरैपछि यस्तो खेल हेर्न पाइयो भन्ने सुनियो। वास्तवमा दुवै टोली जितको हकदार थिए।

खेलमा एकले अर्कोलाई छोडिरहेको थिएन। दुवै टोलीमा एकदमै फाइटिङ स्पिरिट थियो। चान्स दुवैले पाएको थियो। फ्रिकिङ हाम्रा लागि लक्की सावित भयो। आर्मीले केही राम्रा अवसर पाएको थियो तीमध्ये एउटा मात्र गोल भएको थियो भने उसले भटाभट गोल पनि गर्न सक्थ्यो।

४. एक अंकको अग्रता भएर पनि अन्तिम खेलमा आत्मघाती गोलले खेल हारेर उपाधि गुमाएको देख्दा विपक्षी समकक्षी भरत र आर्मीबारे तपाईँलाई के महसुस भयो? 

खेलको अन्तिममा आर्मीका भाइहरुको  जुन ‘रियाक्सन’ देखेँ नि, उनीहरु साँच्चि जित्नै चाहन्थ्यो भन्ने लाग्यो। हामी पनि जित्न चाहन्थ्यौँ तर आत्मघाती गोल खाएर हारेकाले होला उनीहरु साँच्चि नै पीडामा देखिन्थे। त्यस्तो बेला कस्तो हुन्छ भने एकदमै मन दुख्छ। राम्रो खेल्दा खेल्दै हार्दाखेरि साह्रै नमज्जा  हुन्छ। एउटा सानो मिस्टेकले खेल गर्दा हार्दा ‘रिग्रेट फिल’ गर्नेभन्दा कुनै विकल्प नै हुँदैन। तर रिग्रेट फिल गरेर बसेर पनि त भएन। त्यो सोलुसन पनि होइन। मैले पनि त्यो स्थिति धेरैपटक भोगेको छु, राष्ट्रिय टोलीबाट खेल्दा या विभिन्न क्लबबाट खेल्दा।

अगाडि गोल गरेर पनि पछि गोल ब्यहोरेर हारेको, लास्ट-लास्ट मिनेटमा गोल ब्यहोरेर निराश भएको अनुभवहरु मसँग धेरै छ। त्यस्तो बेला कस्तो हुन्छ भने सबै कुरा सकियो भन्ने हुन्छ। म त्यहाँसम्म, चुचुरोसम्म पुगेर पनि लडेजस्तो हुन्छ। फुटबल मात्र नभएर कुनै पनि स्पोर्टसमा जित्नेलाई मात्र सबैले सम्झन्छन्। दोस्रो भयो भने पनि कसैले पनि सम्झँदैनन्। अघिल्लो दिन सुत्नुअघि पनि यो कुरालाई मैले मनन गरेर सुतेको हुँ। अरु साथीहरुका लागि अझैपनि टाइम छ, उमेर छ, फेरि पनि यो समय आउँछ तर भरत र म, हामी दुवै  करियरको ‘एन्ड’तिर छौँ।

त्यो ध्रुवसत्य कुरा हामीले मनन गर्नैपर्छ। जति पनि अबको मोमेन्ट छ यो हाम्रा लागि एकदमै महत्वपूर्ण छ। त्यहीभएर हामी दुवैलाई एकदमै महत्वपूर्ण थियो। एक हिसाबले भन्ने हो भने आर्मी टिमले जिते पनि म एकदमै खुशी हुन्थेँ। किनभने आर्मी टिमले अहिलेसम्म राम्रो टिम भएर पनि लिग जित्न पाएको थिएन। व्यक्तिगतरुपमा भन्नु पर्दा म भरतका लागि एकदमै खुशी हुन्थेँ। तर त्यो सौभाग्य मैले पाएँ। सही टाइममा गोल भयो। त्यही गोलले जित्न सकियो। जित्ने मान्छे जो पनि खुशी हुन्छ। हार्ने मान्छे धेरै दुखी हुन्छ।

५. तपाईको ठाउँमा अरु कोही कप्तान भएको भए मच्छिन्द्रले उपाधि जित्न सक्थ्यो ? 

म फुटबलमा लागेदेखि, नेशनल टिममा आएदेखि, संकटा, एनआरटी, थ्रीस्टार , मनाङ हुँदै  मच्छिन्द्रसम्म आउँदासम्म मलाई चिन्नेले लामो रेसको घोडा हौ तिमी भन्थे/भन्छन्। म त्यो हिसाबले खुसी पनि हुन्थेँ/हुन्छु। मैले धेरै ठाउँमा खेल्ने मौका पाएँ। सफलताको स्वाद चाख्ने सौभाग्य पनि पाएको छु। समयको चक्रमा मनाङपछि मच्छिन्द्र आएँ। मेरो ठाउँमा अरु थियो भने पनि यो ‘सक्सेस’ हुन्थ्यो होला। मलाई सबैले ‘लक्किएस्ट प्लेयर’, ‘क्याप्टेन’का रुपमा लिन्छन्। त्यो माया दिनु भएको छ। टिममा मै कप्तान हुनुपर्छ भन्ने छैन तर कप्तान भइसकेपछि धेरै कुरामा ख्याल गर्नुपर्छ।

टिममा युनिटीको भावना हुनुपर्छ। क्याप्टेन भएपछि आफुभन्दा पनि अरुको विषयमा धेरै सोच्नुपर्ने रहेछ टिम म्यानेजमेन्टदेखि मेम्बरसम्म। सबैसँग समन्वय गर्नुपर्ने। कहिलेकाहिँ यस्तो सिचुएसन पनि आउँदो रहेछ की आफू घाइते छ भने बरु जुनियर भाइ भए पनि खेलदियोस् तर टोलीले जित्नुपर्छ। मनाङमा रहँदा पनि मलाई सबै भाइहरुले साथ दिए। अहिलेका स्टार भाइहरु सुजल श्रेष्ठलगायतले पनि कप्तानको कुरालाई जहिल्यै अनुसरण गर्‍यो। कप्तानले भनेपछि ‘डन’ भन्थे। त्यही कारणले हामी मनाङमा पनि सफल भयौँ।

६. राष्ट्रिय टिमबाट बाहिरिरहेको समयमा मनाङजस्तो साविक विजेता टोली छाडेर पछिल्लो सिजन रेलिगेसन क्षेत्रमा रहेको मच्छिन्द्रमा आउने तपाईँको निर्णय करियरको हिसाबले जोखिमपूर्ण लागेको थिएन? 

मनाङमा पनि ‘अप्स एन्ड डाउन’ भइरहेको थियो। ‘स्यालरी’ घटेर खेल्नुपर्ने अनि प्रोपर ‘कन्ट्रयाक्ट’ पनि थिएन।  क्लबको दाइहरुले क्लबलाई माया गरेर खेल्दिनु पर्‍यो भन्ने कुराहरु आइरहेको थियो। लिग अगाडि आइसकेको थियो,  हाम्रो कन्ट्र्याक्ट भएको थिएन। हामीलाई अन्य धेरै क्लबहरुले प्रस्ताव गरिसक्नु भएको थियो। तर पनि मनाङका पदाधिकारीहरु सिरियस देखिनु भएन।  त्यत्तिकै पनि बसिहाल्छन् नि भनेजस्तो गरियो। हामीलाई पनि त्यस्तै फिल भयो। हामि पनि प्लेयर हो, प्लेयरलाई कस्तो हुन्छ भने बेस्ट अपर्च्युनिटी र बेस्ट प्लेटफर्म पायो भने जानैपर्छ। हामीले आफूलाई लिमिटेसनमा उभ्यायौँ भने माथि जान सकिँदैन। त्यो लिमिटेसनभन्दा माथि उठ्न सक्नुपर्छ। हामीले पनि सेक्रिफाइस गर्ने अवस्था आइसकेको थियो।

वास्तवमा म मच्छिन्द्र आउँछु भनेर सोचेकै थिइन। क्लबका अन्य भाइहरुसँग मच्छिन्द्रले कुराकानी गरेको रहेछ। भाइहरुले आएर ‘मच्छिन्द्रले यस्तो प्रस्ताव गरेको छ दाइ, हामी जानुपर्छ’ भने।  मच्छिन्द्रको अफरभन्दा पनि उहाँहरुको लिग जित्ने चाहनाबाट हामी प्रभावित भयौँ। उहाँहरुले ‘तपाईँहरुलाई जस्तोसुकै सहयोग गर्न तयार छौँ, मैदान भित्र र बाहिर तर तपाईँहरुले मच्छिन्द्रको नाम इस्टाब्लिस गर्दिनु पर्‍यो’ भन्ने हिसाबले कुरा गर्नु भएको थियो। उहाँहरुको एउटै कुरा थियो- हारजितसँग मतलब छैन तर एउटा राम्रो ब्युटिफुल फुटबल खेलिदिनुस्, मच्छिन्द्र पनि वन अफ द बेस्ट क्लब हो है भनेर देखाइदिनुस् नेपाली फुटबलमा। त्यो भनेको पोजेटिभ भाइब हो नि त। हामीले केही नसोची ‘ब्लाइन्ड्ली’ नै कन्ट्रयाक्ट गर्‍यौँ, जे पर्ला पर्ला भनेर। ‘एज अ टिम’ भएर खेलौँ यो पटक नभएपनि अर्कोपटक गर्न सक्छौँ भन्नेमा हामी खेलाडी विश्वस्त थियौँ।

मेरो व्यक्तिगत कुरा गर्दा जब राष्ट्रिय टिमबाट म बाहिर भएँ, मलाई चुनौती थियो- राष्ट्रिय टोलीबाट बाहिरिए पनि क्लबमा आफ्नो महत्व स्थापित गर्ने।  म अझ पनि एक दुई वर्ष खेल्न सक्छु भन्ने आत्मविश्वास थियो। अरु खेलाडीको धेरै वर्ष बाँकी छ।  मच्छिन्द्रमा राम्रो टोली बन्दै छ भन्ने सुनेपछि  मैले पनि त्यहाँ गएर केही गरेर गर्न देखाउन सक्छु भन्ने मनमा थियो। आफूले आफूलाई प्रुभ गर्ने अवसर थियो। यो लिगमा चाहिँ मैले केही गरेर देखाउनैपर्छ भन्ने मनमा थियो। विराजले अहिले पनि खेल्न सक्छ भन्ने देखाउनु थियो। तर यहीपटक लिग नै जित्न सक्छु भन्ने चाहिँ थिएन।

७. कप्तानका रुपमा घरेलु लिग जितेपछि राष्ट्रिय टोलीमा फर्कने इच्छा जागेको छैन? 

मलाई राष्ट्रय टोलीमा फर्कने लोभ छैन, किनभने हरेक खेलाडीको टाइम आउँछ। अग्रजहरुलाई हेर्दा पनि राकेश दाइहरुको पालादेखि नै मैले देखि आएको हुँ। आज मेरो समय आएको छ भोलि अरुको पनि आउने छ। सँधैभरि ‘आई एम द बेस्ट’ भनेर हिँड्नुजस्तो मुर्ख अरु केही होइन।सबै खेलाडीको टाइम आउँछ। हामीले आफ्नो टाइममा त गरेर दखायौ। सँधेभरि १६/१७ को जस्तो उमेर हुँदैन।

जुनियर भाइहरुले ठाउँ पाओस्।  फुटबललाई सही दिशा दिएर सम्मानपूर्वक भविस्य सुनिश्चित हुने बाटो पाएमा मेरो अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने समय आइसकेको छ। सम्मानपूर्वक विदाइ लिने इच्छा छ। मपछि आउने जेनेरेसनले पनि मलाई देखेर फुटबलमा लागेर भविस्य सुनिश्चित गर्न सकिन्छ भन्ने बुझोस्। हामीले गर्ने नामका लागि मात्र त हो नि। आफ्नो देश, परिवार अनि समाजका लागि। यो अवसर कहाँ सबैले पाउँछन् र?

८. अब कति समय खेल्न सकिएला ? थप ट्रफि जित्ने रहर छ की छैन ?

घरेलु फुटबलमा अझै २/४ वर्ष खेल्न सक्छु जस्तो लाग्छ। फुटबल चटक्कै  छाड्न कहाँ सकिन्छ र? ट्रफीको लोभ कसलाई नहोला। हरेकलाई लोभ हुन्छ। तर सबैको भाग्यमा हुँदैन।

दर्शकको मन जित्न सक्नु नै ठुलो कुरा हो। स्टेप बाइ स्टेप भएर ट्रफी जित्नु ठुलो कुरा हो। कतिपय अवस्थामा राम्रो खेल्दा खेल्दै हारिरहेको हुन्छ। एकैपटक ट्रफी जितेर तल झर्नुभन्दा स्टेप बाइ स्टेप राम्रो हुन्छ।

९. त्यसो भए मच्छिन्द्रलाई अब शिखरमा रहिरहन चुनौतीपूर्ण छ हैन ? 

मच्छिन्द्रलाई च्यालेन्ज छ। सफलता चुम्नु ठूलो कुरा होइन त्यो ठाउँमा रहिरहन सक्नु ठूलो कुरा हो। त्यो साखलाई जोगाइराख्नु ठूलो हाे। मच्छिन्द्रले राम्रो फुटबल खेल्न सक्छ भन्ने थाहा भयो। यसलाई म्यानेज गर्ने काम क्लबको हो। ट्रफी जित्न सकिएला नसकिएला आफ्नो ठाउँ छ तर राम्रो फुटबल खेलिरहन सक्नुपर्छ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्