डा. बाबुराम भट्टराईले रातारात हटाए ‘मियाँ बिबी राजी…’ ट्वीट

काठमाडौँ – देशको कार्यपालिकाको प्रमुख रहेर शासन सत्ता सञ्चालन गरिसकेका व्यक्ति आफ्नो अभिव्यक्तिबाट रातारात पछि हटेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई आफ्नो टिप्पणीमा अडिग रहन सकेनन् । समाजवादी पार्टीका नेता भट्टराईले बलात्कार प्रयासको अभियोग लागेपछि सभामुखबाट राजीनामा दिएका आफ्ना पूर्व सहयात्री (माओवादीमा हुँदा) कृष्णबहादुर महराबारे सोमबार बेलुका सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

उनको टिप्पणी गैरजिम्मेवार भन्दै विभिन्न क्षेत्रबाट लगत्तै आलोचना सुरु भएको थियो । आलोचनाको सामना गरेका भट्टराईले महराबारेको ट्वीट डिलिट गरेका छन् ।

प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहिसकेको व्यक्तिले सोमबार महराले बलात्कार प्रयासको अभियोगबाट सफाइ पाएको सम्बन्धमा बिबिसी नेपाली सेवाको समाचार सेयर गर्दै हिन्दी वाक्यांशमा ‘निम्छरो’ व्यंग्य गरेका थिए । उनले महरालाई सफाइ दिने अदालतको फैसलालाई हिन्दी उद्धरण ‘मियाँ बिबी राजी तो क्या करेगा काजी’ सँग तुलना गरेका हुन् ।

यसरी व्यंग्य गर्न हतारिएका पूर्वप्रधानमन्त्री भट्टराई सो पोस्ट हटाउन पनि हतारिए । उनले रातारात सो ट्वीट डिलिट गरेका छन् ।

गएको अशोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि तत्कालीन सभामुख महराले राजीनामा दिएका थिए । तर उनलाई सोमबार काठमाडौँ जिल्ला अदालतले सफाइ दियो ।

त्यसपछि डा. बाबुराम भट्टराईले ट्वीटरमा लेखेका थिए, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरुप नै फैसला आएछ ! शायद सत्य त्यही हो ! मियाँ बिबी राजी तो क्या करेगा काजी जो भनिन्छ ! तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ ! जे हुनु भैगयो ! अब बृहद सामाजिक–राष्ट्रिय मुद्दामा केन्द्रित होऔँ !

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्