दाङ – लमही नगरपालिका वडा नं. ८ निमुखुट्टी निवासी राधिका बुढा फरुवा र कोदाली बोकेर बाटो खन्न अघि बढिन् । उनलाई गाउँले दिदीबहीनी, दाजुभाइले साथ दिए । गाउँबाट साढे चार किलोमिटर टाढा गुफा भित्रको मन्दिरमा जाने बाटो खन्न श्रमदान गरेकी हुन् उनले ।

‘शिवरात्रीमा मेला लाग्दै छ । मेला भर्न जान सक्ने बाटो बनाउन थालेका हौँ’, उनले भनिन्, ‘यहाँ धेरै पुरानो गुफा छ । बाटो नहुँदा मानिस आउन सक्दैनन् । बाटो राम्रो भए सबैलाई सजिलो होला भनेर बाटो बनाउन थालेका हौँ ।’

बिहान ९ बजेदेखि फरुवा, कोदाली बोकेर गाउँलेहरु बाटा बनाउन जुट्ने गरेको शिवशक्ति सामुदायिक बाख्रा विकास वन उपभोक्ता समूहका वन हेरालु दिलबहादुर पुरीले बताए। ‘श्रमदान गरेर बाटो सफा गर्न थालिएको हो । गाउँलेको यसमा लगानी छ ।’उनले भने ‘बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म श्रमदान गर्ने गरिएको छ ।’

चैत–वैशाखको खडेर होस् या साउन–भदौको वर्षा, एकै नासले जलधारा लाग्छ । त्यो जलधारामा कुनै फेरबदल हुँदैन । घडीको एक सेकेण्डको अन्तरमा शिवलिंगमा जलधारा लाग्छ । सुन्दा अचम्म लाग्न सक्छ । तर, यही बास्तविकता हो जलेश्वर महादेव टेङ्गनैया बाबा गुफा मन्दिरको । लमही नगरपालिका वडा नं. ८ निमुखुट्टीबाट करिब चार किलोमिटर उत्तर चुरे पहाडको फेदीमा गुफा भित्र मन्दिर छ ।

जलेश्वर महादेव–टेङ्गनैया बाबा’ मन्दिर संरक्षण समितिका सचिव यादवनाथ योगीका अनुसार पाँच पाण्डवहरु उत्तरापन्थको बाटोबाट जाने क्रममा यो ठाउँमा विश्राम गरेको किम्बदन्ती छ । यो ठाउँमा अष्ठचीरञ्जीवि मध्यका एक अशोस्थामा ऋषीले ध्यान तपस्या गरेको इतिहास छ । ‘हामीले अग्रजहरुले भनेको आधारमा यहाँको इतिहास थाहा पाएका हौँ । पाण्डवहरु यो ठाउँमा मिश्राम गरेको किम्बदन्ती छ ।’ उनले भने, ‘यो ठाउँमा विश्राम गरेर धारपानी पाण्डवेश्वर महादेवको मन्दिर हुँदै स्वर्ग (स्वर्गद्धारी) गएको बुझिन्छ ।’

यो ठाउँ गाई चराउने ग्वालाले देखेका थिए । उनीहरु यो ठाउँमा जान डराउँथे । सिकारी आइतराम बराल पानी परेको बेलामा ओत लाग्ने गुफामा पुगेको र त्यहाँ अनौठो शिवलिंगमा पानीको जलधारा लागेको देखेको यादवले सुनाए । त्यसपछि यो गुफामा मानिसहरु आउने र पूजा आराधना गर्न थालेका हुन् । राजमार्गबाट उत्तर । जंगलको बिचमा यो गुफा छ । शिवरात्रीको दिन शिव भक्तको घुइँचो लाग्ने गर्छ ।

राज्यको ध्यान नपुग्दा ओझेलमा गुफा

टेङ्गनैया बाबा मन्दिरको संरक्षण गर्न राज्यले प्रभावकारी ध्यान दिन सकेको छैन् । भ्रमण बर्ष २०२० चलिरहे पनि यहाँको संरक्षण र सम्वर्द्धनमा सरकारले ध्यान दिनुपर्ने टेङ्नैया बाबा धार्मिक विकास समितिका अध्यक्ष डिल्लिबहादुर खड्काले बताए।

‘राजमार्ग हुँदै टेङ्नैया बाबा, धारपानी हुदै स्वर्गद्वारी जोड्ने करिडोरको रुपमा विकास गर्न सकिन्छ । तर, सरकारको ध्यान पुगेको छैन।’ टेङ्गनैया बाबा धार्मिक विकास समितिका अध्यक्ष डिल्लिबहादुर खड्काले भने, ‘यो धामको विकासमा हामी समुदायका मानिस सकृय भएका छौं । हामीलाई सरकारको साथ र सहयोगको खाँचो छ ।’

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्