कारागारको क्षमताभन्दा लागु औषधकै बन्दी बढी

नेपालगञ्ज – नेपालगञ्ज कारागारको क्षमता भन्दा बढी लागु औषधका मात्रै बन्दी पुगेका छन् । कारागारको क्षमता २ सय ५० रहेकोमा तीन सय ५ जना लागु औषधका बन्दी पुगेका छन् ।

कारागारमा अहिले ८ सय २६ जना बन्दी छन् । यसमा ५३ जना महिला छन् । क्षमता भन्दा तेब्बर बढी बन्दी पुग्दा कारागारभित्र खुट्टा टेक्ने ठाउँ नभएको जेल प्रशासनले जनाएको छ ।

कारागारको ग्यालरीमा समेत बन्दीहरु सुत्छन् । रातीमा ग्यालरीमा हिँड्ने बाटो समेत हुँदैन । दिउँसो ओछ्यान उठाउने भएकाले हिँड्न मिल्छ । जेलर देवेन्द्र श्रेष्ठले बन्दीको संख्या बढ्दै जादा कारागार अति नै सांघुरो भएको बताए ।

नेपालगञ्ज कारागार १ सय ५० जना क्षमताको हो । तर, भित्र केही संरचनाहरु बनाएर अढाई सय क्षमताको पु¥याइएको थियो । नेपालगञ्जमा दैनिकजसो आउने लागु औषधका बन्दीले गर्दा कारागार खचाखच भइरहेको छ । जेलर श्रेष्ठका अनुसार, कारागारमा लागु औषधका तीन सय पाँच जना, कर्तव्य ज्यानका एक सय ६२, जबरजस्ती करणीका १ सय ४० र डाँकाचोरीका ६२ बन्दी छन् ।

नेपालगञ्ज कारागार रिफरल सेन्टरको रुपमा विकास हुँदा बन्दीको चाप अझ बढ्ने गरेको छ । अन्यत्र जिल्ला कारागारबाट बिरामी बन्दीलाई नेपालगञ्जमा पठाउने गरिन्छ । नेपालगञ्जमा ठूल्ठूला अस्पताल रहेकाले उपचारको सुविधा रहेको छ ।

कारागारमा बन्दीको चाप नेपालगञ्जमात्रै होइन, देशभरी नै रहेको छ । सरकारले जिल्लाको दुई ठाउँमा क्षेत्रीय र खुल्ला कारागार बनाउन थालेपनि दु्रतगतिमा काम हुन सकेको छैन । यी दुई कारागार बन्दा नेपालगञ्ज कारागारमा अलि सहज हुने जेलर श्रेष्ठले बताए ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्