नवजात शिशुसँगै आमाको पनि मृत्यु भएपछि मोरङको रङ्गेली अस्पतालमा तनाव

मोरङ– मोरङको रङ्गेली अस्पतालमा प्रसूतिका क्रममा आमा र नवजात शिशुको मृत्यु भएसँगै तनाव उत्पन्न भएको छ।

रङ्गेली नगरपालिका ७ स्थित अस्पतालमा मंगलबार चिकित्सकको लापारवाहीका कारण आमा रविना सरदार र नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका छन्।

प्रसूतिका क्रममा चिकित्सकले लापारवाही गरेकाे भन्दै उनीहरुले शवसमेत बुझ्न नमानेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। अहिले अस्पताल परिसरमा मृतकका आफन्तले विराेध प्रदर्शन गरेका छन्।

रङ्गेली दोहमनाकी २५ वर्षीया सरदारलाई सोमबार बिहान प्रसूतिका लागि अस्पतालमा भर्ना गरिएको थियो। सरदारले बिहान १० बजे छोरा जन्माएकी थिइन्।

रविनाका दाजु प्रल्हाद सरदारका अनुसार प्रसूति व्यथाले च्यापेर अस्पतालमा भर्ना गर्दासमेत चिकित्सक टोलीले वेवास्ता गर्दा दुवैलाई गुमाउनु परेको बताए। सो क्रममा परिवारले थप उपचारका लागि अन्य अस्पताल लैजान्छु भन्दासमेत चिकित्सकले नमानेको उनकाे भनाइ छ। ‘हामीले अस्पतालका चिकित्सकलाई रेफर गर्नपनि भन्यौँ। तर उहाँहरुले ढिलो गरेर रेफर गर्नु भयाे’, उनले भने।

त्यसलगत्तै रविनालाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइएको थियो। उनको उपचार कोशीमा पनि सम्भव नहुँदा प्रल्हादले रविनालाई नोबेल शिक्षण अस्पताल पुर्‍याएकाे बताए। नोबेल पुर्‍याए लगत्तै चिकित्सकले रविना र शिशुलाई मृत घोषणा गरेका थिए।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अशोक ठाकुरले सामान्य अवस्थामा प्रसूतिमार्फत बच्चा जन्मिए पनि अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको बताए। उनले बच्चा जन्माउने क्रममा पाठेघरमा समस्या आएर अत्याधिक रक्तश्राव भएको हुनसक्ने बताए।

रविनाका श्रीमान् मनु सरदार एक वर्षदेखि वैदेशिक राेजगारीका क्रममा कतार छन्। श्रीमतीको मृत्युको खबरसँगै मनु स्वदेश फर्किएको रविनाका दाजु प्रल्हादले बताए।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्