प्रजातन्त्र कर्ममा देखिनुपर्छ, कोरा सपना बाँडेर समय खेर नफालौँ: पूर्वराजा शाह

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने बताएका छन्।  ७० औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जारी गरिएकाे विज्ञप्तिमा पूर्वराजा शाहले यस्तो बताएका हुन्।

‘प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा हाेइन सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन– त्यो जीव पद्धति र व्यवहारमा देखिनु पर्दछ। राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो’, पूर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘केही टाठाबाटाका निमित्तमा होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्दछ।’ उनले आफू देशविदेशका भ्रमणमा जाने क्रममा प्रजातन्त्र प्रतिफलकारी हुन नसकेको पाएको पनि उल्लेख गरेका छन्। ‘नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा  र उत्साहमा सार्थक हुन सकिरहेको छैन,’ उनले भनेका छन्।

पूर्वराजा शाहले आफ्नो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्नु पर्ने बताएका छन्।

‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौँ र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौँ’, शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले उक्त अवसरमा आफ्ना जिजुबुवा प्रजातन्त्रदाता राष्ट्रपिता श्री ५ त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण पनि गरेका छन्।

 

 

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्