उपसभामुख छान्न संसदलाई हम्मे, यो अधिवेशनमा नहुने

प्रतिनिधिसभाको बैठक। फाइल तस्विर

काठमडौँ – सत्तारुढ नेकपा र विपक्षी राजपाबीच कुरा नमिल्दा प्रतिनिधिसभाको उपसभामुख चयन जारी अधिवेशनमा नहुने भएको छ। ‘दिन चाहने’ नेकपा र ‘लिन नचाहने’ राजपाका कारण उपसभामुख चयन तत्काल नहुने भएको हो।

नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएपछि उपसभामुख फरक दल र फरक लिंगकाे हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपा इतरको दलले उपसभामुख पाउने छन्।

त्यो पनि नेकपाले चाहेको प्रमुख प्रतिपक्षी कांग्रेस, राजपा वा समाजवादी पार्टीमध्ये एकले। संसदमा एक/एक सिट भएका जनमोर्चा र नेमकिपाले उपसभामुख नलिने घोषणा गरिसकेका छन्।

तीन दलमध्ये नेकपाको रोजाइमा राजपा परे पनि ऊसँग अरु विषयमा कुरा नमिल्दा उपसभामुख चयनको प्रक्रिया तत्काल अघि नबढ्ने भएको हो। सभामुख अग्नि सापकोटाले उपसभामुख चयनबारे दलहरुले आफूसँग अहिलेसम्म परामर्श नगरेको जानकारी दिए।

नेकपाका एक नेताका अनुसार राजपालाई सरकारमा सहभागी गराउनेबारे कुराकानी भए पनि राजपाभित्रकै अन्तरविरोधका कारण ठोस प्रगति हुन सकेको छैन।

राजपासँगको वार्ता सकारात्मक रुपमा अघि बढ्न नसकेपछि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी शिवमाया तुम्बाहाम्फेलाई दिएका छन्।

नेकपाका ती नेताले देश सञ्चारसँग भने, ‘राजपासँगको कुराकानी ठोस रुपमा अघि बढ्न सकेको छैन। कति र कुन कुन मन्त्रालय राजपाले लिने भन्ने त परैको कुरा सरकारमा आउने कि नआउने भन्नेमै अन्योल छ।’

उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत हुने भएकाले नेकपा विपक्षी कांग्रेसलाई उक्त पद नदिने निष्कर्षमा पुगेको छ।

चिकित्सा शिक्षा

भर्खरै सरकारबाट बाहिरिएको समाजवादी पार्टीलाई उपसभामुख नदिने पक्षमा नेकपा छ।

संवैधानिक परिषद्‌मा विपक्षी दलको नेताको हैसियतले शेरबहादुर देउवा एकजना मात्रै हुँदा पनि समयमा बैठक गर्न र चाहेअनुसारको निर्णय गर्न नसकिएको नेकपाको बुझाइ छ।

नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले उपसभामुख चयनबारे छलफल नै सुरु नभएको दाबी गरे। देश सञ्चारसँग उनले भने, ‘त्यसबारे पार्टीभित्र छलफल नै भएको छैन। संसदको काम गर्न सभामुख भएपछि रोकिँदैन। उपसभामुख चयनबारे विस्तारै निर्णय होला।’

राजपा अन्योलमा किन?


सरकारमा सहभागी हुने र उपसभामुख लिने विषयमा राजपाभित्र एक मत छैन। अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये उपसभामुख लिँदै सरकारमा सहभागी हुन महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी सकारात्मक भए पनि अहिले अध्यक्ष मण्डलको संयोजक रहेका महिन्द्रराय यादव, राजकिशोर यादव र अनिल झा अनिच्छुक देखिएका छन्।

स्रोतका अनुसार तीनमध्ये पनि संयोजक महिन्द्रराय यादव नेकपासँगको सहयात्रा गर्न हुन्न भन्ने पक्षमा बढी दृढ छन्। आलोपालो प्रणालीअनुसार उनले माघ ६ गतेदेखि दुई महिनाका लागि(चैत ६ गतेसम्म) पार्टीको नेतृत्व सम्हालेका छन्। यो अवधिमा नेकपासँग कुनै पनि सहमति हुन नसक्ने राजपाका एक नेताको दाबी छ।

सरकारमा सहभागी हुने र उपसभामुखको विषयबारे नेकपासँग कुराकानी नभएको संयोजक यादवले बताए। उनले भने, ‘सरकारमा सहभागी नहुने हाम्रो पार्टीको निर्णय छ। त्यसो भएकाले छलफल हुने कुरै भएन। उपसभामुख नेकपाले जसलाई दिन मन लाग्छ, उसैलाई दिओस्।’

संसदको जारी हिउँदे अधिवेशन बढीमा चैतको दोस्रो हप्तासम्म चलाउने तयारी सचिवालयले गरेको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार लगत्तै बजेट अधिवेशन सुरु गर्नु पर्ने भएकाले बढीमा हिउँदे अधिवेशन चैतको दोस्रो सातासम्म मात्र संसद चल्ने बताए।

‘जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधाधिक बाध्यता छ। त्यस हिसाबले बजेट अधिवेशन एक महिनाअघि बोलाइएन भने प्रिबजेट, नीति कार्यक्रममा छलफल गर्न मुस्किल पर्छ,’ उनले भने।

बजेट अधिवेशन सुरु भएपछि उपसभामुखको चयन प्राथामिकतामा नपर्ने र तत्काल राजपासँग सहमति नभएको अवस्थामा उपसभामुख चयनको विषय साउनसम्म रोकिने सम्भावना छ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्