निवारण हुन सकेन दादुरा र रुवेला, खोपको विशेष अभियान सञ्चालन हुँदै

झापा– विगत दशकौंदेखि बालबालिकालाई दादुराको खोप लगाउन थालिए पनि उक्त रोग नेपालबाट निवारण हुन सकेको छैन।

दादुराको खोपसँगै रुवेलाविरुद्ध पनि बालबालिकालाई खोप लगाउने गरिन्छ। रुवेलाका विरामी बालबालिका पनि नेपाल अझै भेटिने गरेकाे स्वास्थ्य कार्यालयहरुका तथ्यांकले पुष्टि गर्छ।

पाँच वर्षमुनिका बालबालिकामा हुने दादुरा तथा रुवेलाको संक्रमण हुने क्रम अझै नरोकिएको स्वास्थ्य कार्यालयहरुले जनाएका छन्।

सन् २०१९ को तथ्यांक अनुसार प्रदेश नं १ मा ३२ बालबालिकामा दादुरा देखिएको थियो भने रुवेला ७ जना बालबालिकामा देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

सोही वर्षमा देशभर ३ सय ६६ बालबालिकामा दादुरा र २९ बालबालिकामा रुवेला देखिएको थियो।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौंलागाईंका अनुसार दादुरा र रुवेलाका रोगी बालबालिका भेटिने क्रम बढ्दो छ।

सन् २०१९ सम्म नेपालबाट दादुरा र रुवेला रोग निवारण गर्न नसकिएपछि सन् २०२३ सम्ममा निवारण गर्ने लक्ष्यका साथ बाल बालिकामा खोपको मात्रा पूरा गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरी पौडेलले जानकारी दिए।

झापामा फागुन १० गते र २१ गतेदेखि दुई चरणमा दादुरा र रुवेला रोग विरुद्धका खोप लगाउने अभियान सञ्चालन हुने पौडेलले बताए। उनका अनुसार यो दादुरा रुवेला निवारणका लागि विशेष अभियान हो।

उक्त अभियानमा ९ महिनादेखि पाँच वर्षसम्मका सम्पूर्ण बालबालिकालाई दादुरा तथा रुवेलाविरुद्धका खोप दिइनेछ। साथमा पाँच वर्षमुनीका सम्पूर्ण बालबालिकालाई पोलियो थापा पनि खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

अन्य जिल्लामा फागुन १ गतेबाटै खोप अभियान सञ्चालन भएपनि झापामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम १० गतेसम्म सञ्चालन हुने भएकाले १० गतेबाट मात्रै खोप अभियान सञ्चालन गर्न लागिएको हो।

झापामा ९२ हजार ८ सय ९१ जना बालबालिकालाई पोलियो थोपा खुवाइनेछ भने ९ महिनादेखि ५९ महिनासम्मका ७८ हजार २ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप दिइनेछ।

७८ प्रतिशत बालबालिकामा मात्र पूर्ण खोप


खोप पाउने सबै बालबालिकाको अधिकार भएपनि देशभर ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप प्राप्त गर्ने गरेका छन्।

बच्चा जन्मेदेखि खोप लगाउन सुरु गरिए पनि एक/दुईवटा खोप लगाएपछि २२ प्रतिशत बालबालिकालाई बीचैमा खोप लगाउनबाट बञ्चित गराइने गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

जन चेतनाको कमी, बसाइँ सराइ, खोपको समयमा आपूर्ति नहुनु जस्ता समस्याले खोपमा अझै पनि नियमितता हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्