प्याजको प्रतिकेजी मूल्य तीन सय रुपियाँ !

सिमकोट-सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा प्याजको मुल्य प्रतिकेजी तीन सय रुपियाँ पर्ने गरेको छ।

हिउँदे समयमा जिल्लामा प्याज उत्पादन नहुनु र नेपालगञ्‍ज र सुर्खेतबाट महंगो हवाई ढुवानी भएर आउने भएपछि हुम्लामा प्याजको मुल्य आकाशिएको हो।

सिमकोट बजारमा प्याज प्रति केजी तीन सय रुपियाँ तिरेर उपभोग गर्नु परि रहेको स्थानीय पासाङ लामाले बताइन्। प्याजको मुल्य नबढ्दासम्म साढे दुई सय रुपियाँमा पाईने प्याज अहिले बढेर तीन सय रुपियाँ प्रतिकेजी पुगेको हो।

पहिले सस्तो मुल्यमा प्याज पाईदा सबैले उपभोग गर्ने गरेको भएपनि मुल्य बढे पछि न्यून आयश्रोत भएका स्थानीयले प्याजको प्रयोग गर्न छोडेका छन्।
होटेलमा प्याज प्रयोग नगरि नहुने भएपछि जति मुल्य बढे पनि प्रयोग गर्नु परि रहेको हाईल्याण्ड होटेलकी संचालक छिरिङ याङ्जुम लामाले बताईन्।

प्रतिदिन तीन केजीसम्म उनको होटेलमा प्याजको प्रयोग हुने गरेको छ। अरु तरकारी पनि प्रतिकेजी साढे दुई सय भन्दा कम मुल्य नपर्ने भएपनि प्याज भने निक्कै महंगिएको उनले बताइन्।

नेपालगंज र सुर्खेतबाटै ढुवानी सहित प्याज प्रतिकेजी २३० रुपियाँमा पुग्‍ने भएपछि हुम्लामा तीन सय रुपियाँमा बिक्री गर्नु परेको बाहिरबाट आयात हुने तरकारीको ब्यापार गर्दै आउनु भएकी सुनिता थापाले बताइन्।

नेपालगंज र सुर्खेतमै प्याज महङ्गो भएको बेला हुम्लामा आउदा थप हवाई ढुवानी पनि महङ्गो हुने भएको कारण प्याजको मुल्य झनै महङ्गो भएको हो।

नेपालगंज र सुर्खेतबाट प्रतिकेजी सामानको ढुवानी १२० देखि १३० रुपियाँ पर्नेगर्छ। हुम्ला स्थानीय रुपमा उत्पादन हुने प्याज हिउँदे समयमा पाइदैन।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू